काठमाडौं । शहीद दिवसको बिहानै कांग्रेस नेताहरु सडक छेउमा लहरै बसेर जुत्ता पालिस गरिरहेका देखिए । यो फरक दृष्यले सबैलाई आश्चर्यचकित पारिदियो । पछि बुझ्दै जाँदा थाहा भयो उनीहरु राजनीति शुद्धीकरण अभियानका लागि भन्दै सडकमै जुत्ता पालिस गरिरहेका रहेछन् ।
कृष्णप्रसाद भट्टराई प्रतिष्ठानद्वारा आयोजित कार्यक्रममा कांग्रेस नेता९कार्यकर्ताहरुले बानेश्वरको सडकमा बसेर बुट पालिस गरेका हुन् । उनीहरुले सडकमा हिँडिरहेका पैदलयात्रीको जुत्ता सफा गरेका थिए ।
फोहोर जुत्ता पालिस गरेर सफा गरेझैं पार्टीहरुले पनि आफूलाई शुद्धीकरण गर्नुपर्छ भनेर प्रतीकात्मक रुपमा बुट पालिस गरिएको कांग्रेस नेता चन्द्र भण्डारीले बताए ।
भण्डारीसँगै कांग्रेस नेता धनराज गुरुङ, पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेल र कांग्रेस कार्यकर्ता विनोद भट्टराईलगायतका नेताहरु भीडभाडका बीच बटुवाहरुका जुत्तामा पालिस र ब्रस लगाइरहेका थिए । तर उनीहरुले बटुवाबाट जुत्तामा पालिस गरेबापत पैसा भने लिइरहेका थिएनन् ।
नेताहरु जुत्ता पालिस गर्नमा व्यस्त देखिँदा कौतुहलतापूर्वक हेर्नेहरुको भीड लागेको थियो ।






प्रतिक्रिया