मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक स्वीकृत

अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक स्वीकृत


काठमाडौँ । व्यवस्थापिका– संसद्को मंगलबारको बैठकले अपाङ्गता भएका व्यक्तिको अधिकारसम्बन्धी विधेयक,२०७२ लाई सर्वसम्मतिले स्वीकृत गरेको छ ।  
 
प्रधानमन्त्री एवम् महिला, बालबालिका तथा समाजकल्याणमन्त्री पुष्पकमल दाहालका तर्फबाट कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री अजयशङ्कर नायकले सो विधेयक सदन समक्ष प्रस्तुत गरेका थिए ।   
 
अपाङ्गता सम्बन्धी विधेयकको सैद्धान्तिक पक्षमाथि भाग लिँदै नेकपा (एमाले)का डा वङ्शीधर मिश्रले अपाङ्गताको परिभाषालाई अझ व्यापक बनाई विधेयकलाई परिमार्जन गरी पेस गर्न सुझाव दिए । 
 
मधेसी जनअधिकार फोरम नेपाल ९लोकतान्त्रिक०का डा सुबोध पोखरेल अपाङ्गता भएका व्यक्तिको वर्गीकरण र उनीहरुको आर्थिक तथा सामाजिक सशक्तीकरण गर्दा विधेयकमा ध्यान नदिइएको बताए । 
 
नेकपा (एमाले)का रेवतीरमण भण्डारीले संविधान कार्यान्वयन गर्ने क्रममा विधेयक आउनु सकारात्मक भएको टिप्पणी गर्दै संघीयतामा प्रवेश गर्नलाग्दा विधेयकमा केही प्रावधान संघीयता विपरीत रहेको बताए । सोही दलका गुरुप्रसाद बुर्लाकोटीले सामाजिक सुरक्षा भत्ता वितरण गर्दा अपाङ्गताको परिभाषा अस्पष्ट रहेको हुँदा विधेयकमा यसलाई सम्बोधन गर्न माग गरे ।  
 
नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले अपाङ्गता हुन नै नदिन सरकारले विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने र अपाङ्गतासम्बन्धी काम स्थानीय निकायलाई दिनुपर्छ भने । 
 
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कुन्तीकुमारी शाहीले अपाङ्गता भएका व्यक्तिलाई समाजमा सम्मानजनक रुपमा जिउने वातावरण बनाउन विधेयकमा आउनुपर्ने बताउँदै यसका लागि उनीहरुलाई शिक्षा, स्वास्थ्य र रोजगारी निःशुल्क रुपमा व्यवस्था गरिनुपर्छ भने । नेकपा (माओवादी केन्द्र)का रामनारायण बिंडारीले विधेयक परिमार्जन नगरी पास गर्न नहुने धारणा राखे । 
 
अपाङ्गता भएका व्यक्तिको अधिकार बलियो बनाउन विधेयक छलफलमा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री नायकले अपाङ्गता भएकामाथिको भेदभाव अन्त्य गर्न र उनीहरुलाई सशक्तीकरण गर्न विधेयक आएको बताए । 
 
अपाङ्गता भएका व्यक्तिको अधिकारलाई बलियो बनाउन अपाङ्गतासम्बन्धी अन्तर्राष्ट्रिय सन्धि र महासन्धिलाई समायोजन गरी विधेयक आएको जानकारी उनले दिए । रासस