विचार / ब्लग

धन्न फेसबुक थियो, अब राज्य नै हातमा छ

धन्न फेसबुक थियो, अब राज्य नै हातमा छ


शेयर गर्नुहोस:

810
Shares

  • change font
  • change font

धन्न मार्क जुकरबर्गले फेसबुक बनाइदिए । नत्र मध्यरातमा स्टाटस लेखेर देश चलाउने सपना देख्न पाइन्थ्यो ? कसैलाई भ्रष्ट भन्न, कसैलाई चोर करार गर्न र आफ्ना असन्तुष्टि हजारौँ मानिससम्म पुर्‍याउन सजिलो कसरी हुन्थ्यो र ? प्रविधिले दूरी घटाउँछ–कहिले बाटोको, कहिले सूचनाको, कहिले अभिव्यक्तिको ।

हजुरबाको पालामा पुगौँ न । उहाँहरू भन्नुहुन्थ्यो– पोखराबाट काठमाडौँ पुग्न हप्तौँ लाग्थ्यो । बाटो बन्यो, यातायात आयो, दूरी घट्यो । हिमाली गाउँमात्रै होइन, तराई–पहाडमा नुन पाउन पनि सहज थिएन । नुनका लागि महिनौँ यात्रा गर्नुपर्थ्यो । आज नुन पसलमै पाइन्छ । त्यसैले “धन्न पसल थियो र पो नुन खान पाइयो” भन्नु जति हास्यास्पद हुन्छ, लोकतन्त्रले दिएको अधिकारलाई कसैको व्यक्तिगत उपलब्धि ठान्नु पनि उत्तिकै हास्यास्पद हुन्छ। नुन पसलमा पाइयो भन्दैमा नुनको इतिहास पसलबाट सुरू भएको होइन ।

Advertisement

काठमाडौँको टुँडिखेल र खुलामञ्च पनि कसैको निजी कृपाबाट बनेका राजनीतिक थलो होइनन् । पञ्चायतदेखि जनआन्दोलनसम्म यिनले जनताको आवाज बोके । नेपालका स्पीकर कर्नर नै हुन् । आज पाइएको बोल्न पाउने अधिकार लोकतन्त्र फेसबुकको स्टाटसबाट आएको होइन । यो जेल, भूमिगत जीवन, दमन, आन्दोलन र बलिदानको लामो इतिहासबाट आएको हो । गणतन्त्र एउटा कुर्सीबाट अर्को कुर्सीमा बसाइँ सर्नुमात्र थिएन । सत्ता जन्मसिद्ध अधिकार होइन, जनताको मतबाट प्राप्त हुन्छ भन्ने मान्यता स्थापित हुनु थियो ।

त्यही ढोकाबाट नयाँ अनुहारहरू आए । बालेन्द्र शाह काठमाडौँको मेयर बने । हर्क साम्पाङ धरानको नेतृत्वमा पुगे । स्थापित राजनीतिक शक्तिलाई चुनौती दिने ठाउँ बन्यो । आज असम्भवजस्तो मानिने एउटा मेयर पनि कार्यकाल नसकिँदै लोकतान्त्रिक प्रक्रियाबाट प्रधानमन्त्री भएको छ । यो सानो उपलब्धि होइन । यस्तो उपलब्धि गराउनको लडाइँमा लड्ने सबै योद्धाहरू अपमानका पात्र होइनन्, बरु धन्यवादका पात्र हुन् ।

हुन त सामाजिक सञ्जालले राजनीतिमा प्रवेशको ढोका फराकिलो बनाएको छ । तर, एउटा स्टाटस भाइरल हुँदैमा वा फलोअर धेरै हुँदैमा लोकप्रियता त होला, असल शासक नहुन पनि सकिन्छ ।

धन्न हिजो फेसबुक थियो र भनियो– “सिंहदरबार जलाउँछु”, “टुकुचामा गाडिदिन्छु”, “नाकको डाँडी भाँचिदिन्छु ।” धन्न अरूलाई गाली गर्न सजिलो थियो, अरूको भ्रष्टाचार गन्न सजिलो थियो । आज त्यही प्रश्न आफूतिर फर्किने छ । धन्न हिजो “चोर” भनिएको पार्टी थियो । आज त्यही पार्टीकै नेता भएपछि के ती आरोपहरू वासिङ मेसिनमा हालेर धोइए ? पार्टी फेरिँदा इतिहास फेरिन्छ ? सत्ता फेरिँदा आरोपको रङ फेरिन्छ ?

फेसबुकका स्टाटस डिलिट गर्न सकिन्छ, सार्वजनिक स्मृति डिलिट गर्न सकिँदैन । हिजो अरूलाई लगाएको मापदण्ड आज आफूलाई लगाउन तयार छौँ कि छैनौँ– प्रश्न यत्ति हो ।

सडकमा बगेको रगत कसैको निजी राजनीतिक सम्पत्ति होइन । आन्दोलनमा ज्यान गुमाउने युवाको बलिदान कुनै व्यक्ति, पार्टी वा समूहको व्यक्तिगत उपलब्धि होइन । रगतको मूल्य कुर्सी होइन– उत्तरदायी शासन हो ।

अब “धन्न फेसबुक थियो” भनेरमात्र पुग्दैन । अब त राज्य नै हातमा छ । विपक्षमा हुँदा क्रान्तिकारी बन्न सजिलो हुन्छ । सत्तामा पुगेपछि आफ्नै नाराको हिसाब दिन गाह्रो हुन्छ । त्यसैले अब प्रश्न कसले कति स्टाटस लेख्यो वा कति भीड जम्मा गर्‍यो भन्ने होइन । प्रश्न एउटै हो– राज्य हातमा आएपछि उसले के गर्‍यो ?

हिजो मन्त्रीको संख्या धेरै भयो भनेर गरेको तिखो प्रश्नलाई आज सचिवालयको भीड जम्मा गरेर उत्तर नदिऊँ ? हिजो अरूलाई ‘नेपो किड्स’ भन्दै घर जलाउने, आज ‘नेपो किड्स’लाई नै मन्त्री दिने ? यी विरोधाभासका कुराहरू हुन् ।

धन्न जेन्जीहरूले आन्दोलन गरे । धन्न यता जा भने यतै, उता जा भने उतै गरे । धन्न “यो माग हो, यससँग वार्ता गर” भने त्यही गरे । धन्न चोर भनेको पार्टीले पनि नेता बनाइदियो । धन्न जनताले भोट हालिदिएर प्रधानमन्त्री बनाइदिए ।

यदि आन्दोलनको अन्तिम उपलब्धि यतिमात्रै भयो कि जलेको सिंहदरबारको भित्तामा फोटो फेरियो, नाम फेरियो, कुर्सी फेरियो–तर, जनताको अवस्था उस्तै रह्यो भने परिवर्तन कहाँ भयो ?

सिंहदरबार जल्नु आफैँमा परिवर्तन होइन । अनुहार फेरिनु पनि परिवर्तनको अन्तिम प्रमाण होइन । परिवर्तन त्यतिबेला हुन्छ, जब राज्यको चरित्र बदलिन्छ र बलिदानको मूल्य जनताको जीवनमा देखिन्छ ।

नत्र इतिहासले व्यङ्ग्य गर्दै भन्नेछ– “धन्न फेसबुक थियो, धन्न जेन्जीहरू थिए । उनीहरूले रगत पनि बगाए, प्रधानमन्त्री पनि बनाए । अन्त्यमा न देशले केही पायो, न उनीहरूले । जलेको सिंहदरबारमा केवल फोटो फेरियो ।”

अनि आज गाली गर्दा एकपटक ऐनामा पनि हेरौँ । आफू अब शासक हौँ । शासकले प्रतिपक्षसँग तल्लो स्तरमा झरेर गालीगलौजमा उत्रिने होइन, आफ्नो काम र व्यवहारबाट जवाफ दिने हो ।