टेक्सस

अमेरिकी नेताहरूसँग नेपाली समुदायको अन्तरक्रिया

अमेरिकी नेताहरूसँग नेपाली समुदायको अन्तरक्रिया


ड्यालस (टेक्सस) — करिब एक महिनापछि हुन लागेको अमेरिकाको निर्वाचनको सिलसिलामा नेपाली समुदायका अगुवाहरूले अमेरिकी मूलधारको राजनीतिमा संलग्न उम्मेदवारहरूसँग समुदायका चासो र सरोकारका विषयहरू राखेका छन्।

आइतबार अपराह्न युलेसको ओकरिज पार्क (Oakridge Park) मा आयोजित छलफल तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा समाजका अगुवाहरू प्रभात दीक्षित, टीका पौडेल, सुदीप अधिकारी लगायतले नेपाली समुदायका समसामयिक सरोकार र चासोका विषयहरू उम्मेदवारहरूमाझ प्रस्तुत गरेका थिए।

Advertisement

सो अवसरमा अमेरिकी तल्लो सदन प्रतिनिधि सभा (House of Representatives) का उम्मेदवार केभिन बर्ग (Kevin Burge) ले नेपालमा हालै गएको बाढी-पहिरोमा परी भएको ठूलो जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे।

बर्गेले रिपब्लिकन पार्टीले निम्न-मध्यम र निम्न वर्गको चासो तथा चिन्तालाई सम्बोधन नगरेको देखिएकाले यस वर्गका मुद्दाहरू उठाउन आफू उम्मेदवार बनेको उल्लेख गरे। आफू सैन्य पृष्ठभूमि (Military background) को रहेको जानकारी गराउँदै उनले पछिल्लो समय अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता हुने क्रममा तत्कालीन राष्ट्रपति जो बाइडेनलाई सिचुएसन रुम/वाररुम (War Room) बाट ब्रिफिङ गर्ने गरेको प्रसङ्ग समेत प्रस्तुत गरेका थिए।

उनले वर्तमान कंग्रेसवुमन बेथ भ्यान ड्युइन (Beth Van Duyne) ले जनताको भन्दा पनि पूर्वराष्ट्रपतिको पक्षमा काम गर्दै आएको आरोप समेत लगाए।

त्यस्तै, कार्यक्रममा टेरेन्ट काउन्टी क्लर्क (Tarrant County Clerk) की उम्मेदवार लिडिया बीन (Lydia Bean) ले ट्रम्प प्रशासन प्राकृतिकीकृत नागरिक (Naturalized Citizens) हरूलाई समेत अनेक बहानामा डिपोर्ट गर्ने तयारीमा देखिएको टिप्पणी गरिन्। आफ्ना श्रीमान् एसियाली मूल (हङकङ) को भएकाले आफू आप्रवासीहरूको पक्षमा सधैँ अग्रपंक्तिमा रहने प्रतिबद्धता व्यक्त गरिन्।

आफू सूचना प्रविधि तथा डेटाको विद्यार्थी भएकाले टेरेन्ट काउन्टीमा रहेको लथालिङ्गे अवस्था र लाखौँ डलर खर्च गरेर पनि सञ्चालनमा नआएका सफ्टवेयरहरूलाई व्यवस्थित गरी सेवाग्राही/जनतामैत्री बनाउनका लागि उम्मेदवारी दिएको उनले बताइन्।

कार्यक्रमका अन्य उम्मेदवारहरूले पनि आगामी नोभेम्बर ३ तारिखको निर्वाचनमा सबै जनालाई मतदान गरी अमेरिकाको इतिहास र पहिचान जोगाउन आह्वान गरेका थिए।

नेपाली समुदायका चासो र सरोकारका विषयलाई अमेरिकी मूलधारका नेताहरूले निकै गम्भीरता र चासोका साथ सुनेका थिए। पछिल्लो समय नेपाली समुदायले दैनिक रूपमै अमेरिकी मूलधारका नेताहरूसँग छलफल तथा अन्तरक्रियालाई तीव्र बनाएको छ।