राजनीति-समाज

परराष्ट्रमन्त्री खनाल भन्छन्– ‘दोहोरो नागरिकता अहिले सम्भव छैन’

परराष्ट्रमन्त्री खनाल भन्छन्– ‘दोहोरो नागरिकता अहिले सम्भव छैन’


न्युयोर्क, अमेरिका । परराष्ट्रमन्त्री शिशिर खनालले विदेशमा बस्ने नेपालीको लागि दोहोरो नागरिकता अहिले सम्भव नरहेको बताएका छन् ।

न्युयोर्कमा नेपाली समुदायसँगको अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले सो कुरा उल्लेख गरेका हुन् । शुक्रबार नेपाली महावाणिज्य दूतावासले आयोजना गरेको मन्त्रीको स्वागत तथा अन्तर्क्रिया कार्यक्रममा बोल्दै मन्त्री खनालले नेपालको संविधानले दोहोरो नागरिकताको परिकल्पना नगरेको बताएका हुन् ।

Advertisement

नेपालको संविधान २०७२ को संसोधन पनि संसदीय अङ्कगणितका कारण तत्कालै सम्भव नरहेकोले नागरिकतासम्बन्धी व्यवस्था संशोधनबिना दोहोरो नागरिकताको व्यवस्था गर्न नसकिने जिकिर गरे ।

नेपालको संविधानले गैरआवासीय नेपाली नागरिकताको परिकल्पना गरेको तर अहिले त्यसको कार्यान्वयनमा कठिनाइँ रहेकोले त्यसको समाधानमा सरकारले काम सुरु गरिसकेको बताए ।

दूतावासमा विज्ञ तथा पेसाकर्मीसँग छलफल

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा भाग लिन न्युयोर्क आएका मन्त्री खनालले महावाणिज्य दूतावासले शुक्रबार आयोजना गरेको कार्यक्रममा अमेरिकामा रहेका विभिन्न विज्ञ तथा पेसाकर्मीहरुसँग अन्तर्क्रिया गरेका थिए ।

महावाणिज्य दूत दधिराम भण्डारीले समन्वय गरेको सो कार्यक्रममा अमेरिकाका विभिन्न स्थानमा पेसागतरुपमा प्रतिष्ठा कमाएका इन्जिनियर, कानुन व्यवसायी, सूचना प्रविधिका विज्ञ तथा व्यवसायीहरुले नेपालमा आफूहरुको विज्ञता उपयोग गर्न सकिने भएकोले यसका लागि कानुनी जटिलता अन्त्य गर्नुपर्ने माग गरेका थिए ।

सोही अवसरमा मन्त्री खनालले विदेशमा बस्ने नेपालीको योगदानको प्रशंसा गर्दै अहिलेको सरकारले सबैका सरोकारलाई गम्भीरतापूर्वक लिई प्रक्रियागतरुपमा सम्बोधन र समाधान गर्दै जाने आश्वासन दिए । डायस्पोरालाई नेपालको आर्थिक विकासमा जोडने र त्यसको लागि विदेशमा बस्ने नेपालीका सरोकार र चासोलाई कानुनी र व्यावहारिकरुपमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

सहयोग ग्रहणदेखि एनआरएनए अन्तर्क्रियामा व्यस्त

राष्ट्रसंघको महासभामा हुने विभिन्न कार्यक्रमदेखि नेपाली समुदायका कार्यक्रमलाई पनि मन्त्री खनालले उत्तिकै महत्त्व दिएको देखिन्छ । शुक्रबार अमेरिकामा रहेका नेपाली विज्ञहरुसँग अन्तर्क्रिया गरेका मन्त्री खनालले शनिबार भोटेकोशी बाढीबाट प्रभावितहरुको सहयोगार्थ जुटेको सहयोग ग्रहण गरे ।

महावाणिज्य दूतावासको कार्यालयमा न्युह्यप्सायर नेपाली सोसाइटीले बुझाएको एक करोड चौरासी हजार रुपैयाँको सांकेतिक चेक बुझेका छन् । त्यसैगरी अमेरिका नेपाल सहयोगी समाज भर्जिनियाले जुटाएको ९२ हजार नौ सय ६४ अमेरिकी डलरको सहयोग रकमको चेक ग्रहण गरे ।

यस्तै, मन्त्री खनाललाई तमु सोसाइटी इंक युएसएले नेपालका बाढीपीडितका लागि जुटाएको २० लाख ११ हजार ३ सय १४ रुपैयाँको चेक मन्त्रीलाई बुझाएको थियो । प्रवासमा बसेर नेपालको दुःखमा साथ दिएकोमा सबै दाताहरुप्रति मन्त्री खनालले आभार व्यक्त गरे ।

एनआरएनएको कार्यक्रममा पनि नागरिकता र दूतावासको सवाल

शनिबार दिउँसो गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद अमेरिकाले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा पनि मन्त्री खनालले नेपाली समुदायका अगुवाहरुबाट ज्ञापनपत्र बुझे भने उनीहरुका गुनासाहरु सुने । मन्त्री खनालसमक्ष अधिकांश वक्ताहरुले वंशजको नागरिकताको निरन्तरता तथा नेपालमा लगानीको वातावरण बनाउन आग्रह गरे ।

नेपाली जनसम्पर्क समिति अमेरिकालगायतका संस्थाले सनफ्रान्सिस्कोमा महावाणिज्य दूतावास बन्द गर्ने सरकारको निर्णयको आलोचना गर्दै ज्ञापनपत्र बुझाए । त्यसको जवाफमा त्यहाँका नेपालीको प्रशासनिक कार्यलाई सहज बनाउन अन्य तरिका अपनाउने तर तत्कालै बन्द भएको महावाणिज्य दूतावास स्थापना नहुने प्रष्ट पारे ।

सरकार खर्च कटौतीतर्फ पनि लागेकोले सो निर्णय गरिएको जिकिर गरे । सो कार्यक्रममा पनि मन्त्री खनालले दोहोरो नागरिकताको प्रक्रिया अहिले अघि नबढ्ने बरु गैरआवासीय नागरिकताको कार्यान्वयनमा सरकार लागि परेको आश्वासन दिए ।

एनआरएनए अमेरिकाका अध्यक्ष सत्येन्द्र शाहको सभापतित्वमा भएको सो कार्यक्रममा वरिष्ठ कानुनविद् खगेन्द्र जिसी, एनआरएनए न्युयोर्क च्याप्टरका अध्यक्ष बासु लामिछाने, रिजउड नेपाली समाजका अध्यक्ष राजेश भट्ट, सामाजिक अभियन्ता शंकर विशुन्खेलगायत जनसम्पर्क समिति, प्रवासी मञ्चलगायतका संस्थाका प्रतिनिधिहरुले पनि आफ्ना धारणा राखेका थिए ।

एनआरएनए अमेरिकाका सचिव लक्ष्मी थापाले सञ्चालन गरेको कार्यक्रममा न्युयोर्कलगायत आसपासका स्थानबाट नेपालीहरुको जमघट रहेको थियो ।