अमेरिकामा रहेका नेपाली व्यवसायीहरूको समूहले अमेरिकी चेन होटल ‘ला क्विन्टा इन एन्ड हथोर्न एक्सटेन्डेड स्टे’ सञ्चालनमा ल्याएको छ। १०३ कोठाको यस होटलमा २ करोड ३० लाख अमेरिकी डलर लगानी रहेको बताइएको छ।
अमेरिका। नेपालीहरूको जनसंख्या बढिरहेको नर्थ क्यारोलाइनाको मेबन शहरमा सेप्टेम्बर २४ मा आयोजित औपचारिक समारोहबीच होटल उद्घाटन गरिएको हो। स्थानीय व्यवसायी, समुदायका अगुवा तथा काउन्टी र नगरका अधिकारीसहित झन्डै छ दर्जन मानिसको उपस्थितिमा साझेदारहरूको प्रतिनिधित्व गर्दै सुमित सञ्जेल, सुधीर मरहट्टा र राधेश पण्डितले संयुक्त रूपमा रिबन काटेका थिए।
एउटै भवनमा दुई ब्रान्डअन्तर्गत सञ्चालन हुने १०३ कोठाको होटलमा २ करोड ३० लाख अमेरिकी डलर लगानी रहेको बताइएको छ। यो रकम करिब नेपाली रु. ३ अर्ब ५२ करोड पर्छ। होटल मेबनस्थित 290 Lowes Blvd मा रहेको छ।

अलामान्स चेम्बरले आयोजना गरेको कार्यक्रममा साझेदार राधेश पण्डितले जग्गा खरिददेखि योजना, अनुमति, निर्माण र उद्घाटनसम्म आइपुग्न आठ वर्ष लागेको बताए। उनका अनुसार लगानीकर्ता समूहको स्वामित्व र सञ्चालनमा रहेको यो आठौँ होटल हो। विश्वव्यापी अर्थतन्त्रमा देखिएको सुस्तताका बाबजुद नयाँ होटलको भविष्यप्रति आफू आशावादी रहेको उनले बताए।
लगानीकर्ता सुमित सञ्जेलले लामो यात्रापछि होटलको औपचारिक उद्घाटन गर्न पाउँदा खुसी लागेको बताए। होटल व्यवस्थापन समूहले राम्रो काम गरिरहेको र पाहुनाबाट उत्साहजनक समीक्षा प्राप्त भइरहेको उनको भनाइ थियो।
कार्यक्रममा अलामान्स चेम्बरकी अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत रेगन सी. गुराल, अलामान्स काउन्टी बोर्ड अफ कमिसनर्सकी अध्यक्ष केली एलेन र मेबनका मेयर एड हुक्सलगायतले मन्तव्य राखेका थिए। उनीहरूले नयाँ होटलको प्रशंसा गर्दै मेबनमा भएको लगानीको स्वागत गरे।
पछिल्लो समय अमेरिकाका विभिन्न राज्यमा रहेका नेपाली व्यवसायीले नर्थ क्यारोलाइनाका विभिन्न क्षेत्रमा लगानी गरिरहेका छन्। सुधीर मरहट्टा र राधेश पण्डित पण्डित आयोवा राज्यमा बस्छन् भने सुमित सञ्जेल भर्जिनियामा बस्छन्।
व्यवसायसँगै नर्थ क्यारोलाइना बसाइँ सर्ने नेपालीहरूको संख्या पनि बढिरहेको छ। राले, ग्रिन्सबोरो, हाई प्वाइन्ट र सार्लोट क्षेत्रमा आउनेहरूको संख्या बढ्दो छ। यहाँको मौसम, विद्यालय र रोजगारीका अवसरले धेरैलाई आकर्षित गरेको छ।
नर्थ क्यारोलाइनामा बस्ने वातावरणबारे वैज्ञानिक तथा साहित्यकार डा. चन्द्र गिरी भन्छन्, “अमेरिकाको पूर्वी क्षेत्रका राज्यहरूमध्ये नर्थ क्यारोलाइनाको मौसम राम्रो छ। यसले लगानीकर्तालाई पनि आकर्षित गरेको छ।”












प्रतिक्रिया