काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानबहादुर शाहीले जेन–जेड आन्दोलनका अपराधीहरूलाई कारबाही किन नगरेको भन्दै सरकारलाई प्रश्न गरेका छन् ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा बोल्दै उनले जेन–जेड आन्दोलनका अपराधीहरूलाई कारबाही गर्न राष्ट्रिय मानवअधिकार आयोगले सिफारिस गरेको ६ महिना बितिसक्दा पनि किन पक्राउ नगरिएको भन्दै सरकारलाई प्रश्न गरेका हुन् ।
उनले अपराधी समाउन नसके कुर्सी छोड्नसमेत आग्रह गरे । उनले भोटेकोशी बाढीका कारण सुरूङ दुर्घटनामा फसेका नागरिकहरूको उद्धारमा राज्यले चरम ढिलासुस्ती गरेको भन्दै आपत्तिसमेत जनाए । उनले राज्यको स्रोत र साधनको पहुँच हुँदाहुँदै पनि उद्धारमा भएको सात दिनको ढिलाइले बाँच्न सक्ने नागरिकको ज्यान गएको भन्दै यसलाई राज्यद्वारा गरिएको ‘हत्या’को संज्ञा दिए ।
उनले भने, ‘म सरकारलाई एउटा प्रश्न गर्न चाहन्छु, तपाईंकै सत्तापक्ष पार्टीकी सांसद् हुनुहुन्छ, जेन–जेड आन्दोलनको आमा अहिले रुनुभयो संसदमा ।’
उनले थपे, ‘तपाईंले सरकार चलाएको ६ महिना भयो । राष्ट्रिय मानवअधिकार आयोगले को–को दोषी हुन् भनेर प्रमाणपत्र बुझाएको तपाईंलाई आज ६ महिना भयो । अपराधीलाई आजसम्म किन पक्रिनुभएको छैन ? यदि पक्रिन सक्नुहुन्न भने यो सत्ताको कुर्सीमा किन बसिराख्नुभएको छ ? यो प्रश्न ती आमाको आँखाको आँसु पुछ्नुस् । जेन–जेड आन्दोलनमा जो–जो अपराधी छन्, चाहे सत्तापक्षका हुन्, चाहे प्रतिपक्षका हुन्, यिनलाई समाउँदै जेल हाल्नुस् ।’
सांसद् शाहीले राज्यसँग खरबौँको बजेट र सुरक्षा जनशक्ति भए पनि नागरिकको जीवन बचाउन नसक्नु लज्जास्पद भएको टिप्पणीसमेत गरे ।












प्रतिक्रिया