काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने जिकिर गरेका छन् ।
संविधान दिवसका अवसरमा शितल निवासमा आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा राष्ट्रपति पौडेलले राजनीतिक परिवर्तनलाई वास्तविकरूपमा नै नागरिकको जीवनमा जोड्नु र व्यवहारमै लागू गर्नुपर्ने भन्दै नागरिकलाई निराशामा राखेर कुनै राज्य सफल हुन नसक्ने बताएका हुन् ।
उनले संविधानले एकात्मक र केन्द्रीकृत शासन प्रणालीको बदलामा संघीयता उपहार दिएको र यसलाई देश विकासको महत्त्वपूर्ण आधार बनाउनुपर्नेमा जोड दिए । उनले संविधान कागजमा लेखिएका शब्द वा वाक्यहरूको संग्रह मात्र नभई नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा भएको उल्लेख गरे ।
सरकार जनताको मालिक नभई ‘सेवक’ बन्नुपर्ने र न्याय राज्यको मूल ध्येय हुनुपर्ने भन्दै उनले कुनै पनि नागरिकले आफ्नै देशमा आफूलाई एक्लो महसुस गर्न नपर्ने वातावरण बनाउनुपर्ने बताए ।
संरचनागत लाभांशको परम्परागत चरित्र तोडेर सबैलाई समान हक, सामाजिक न्याय र समृद्धि सुनिश्चित गर्न तीनै तहका सरकारलाई उनले आग्रह गरे। राष्ट्रपति पौडेलले राजनीतिक दल तथा नेतृत्वले असहमतिलाई सम्मान गर्ने र आलोचनाबाट सिक्ने संस्कार बसाल्नुपर्ने बताए ।
संविधानलाई केवल भाषणमा सीमित नराखी नागरिकको जीवनमा उतार्न र राज्यसत्तालाई अझ लोकतान्त्रिक, न्यायपूर्ण तथा परिणाममुखी बनाउन उनले आह्वान गरे। उनले प्राकृतिक विपत्तिपछि पुनर्निर्माण गर्दा भत्किएका भौतिक संरचना मात्र नभई विस्थापित परिवारका सपनाहरू फर्काउनुपनेमा जोड दिए ।












प्रतिक्रिया