काठमाडौँ । कांग्रेस सभापति गगनकुमार थापाले पार्टीको आसन्न १५औं महाधिवेशन उदघाटन समारोहको प्रमुखअतिथिका रुपमा निवर्तमान सभापति शेरबहादुर देउवालाई सहभागी गराउने प्रयास भइरहेको बताएका छन् ।
शनिबार काठमाडौँमा आयोजित वडा अधिवेशनमा पुगेका थापाले आगामी १६ सोज १६ देखि सुरु हुने केन्द्रीय महाधिवेशनको उद्घाटन समारोहमा देउवाको सहभागिताका लागि आफूले पहल गरिरहेको बताए ।
कांग्रेसभित्र विभिन्न पुस्ताका नेताहरूलाई सँगसँगै लिएर अघि बढाउनुपर्नेबारे आफू स्पष्ट रहेको भनाइ उनको थियो । उनले देउवा आफूभन्दा उमेरले निकै अग्रज भए पनि पार्टीमा सबै पुस्ताको भूमिका आवश्यक रहेको बताए ।
‘म निवर्तमन सभापति आदरणीय नेता शेरबहादुर देउवालाई असोजको १६ गतेदेखि सुरू हुने पार्टीको अधिवेशनमा प्रमुखअतिथि बनाएर सहभागी गराउने कोसिस गरिरहेको छु,’ उनले भने, ‘त्यो उहाँले गर्नुहुन्छ भन्ने अहिले पनि विश्वास राख्छु ।’
कांग्रेसमा पाँच पुस्ताका नेता रहेको उल्लेख गर्दै थापाले पुराना र नयाँ पुस्ताबीच सहकार्य हुनुपर्ने बताए । ‘मेरो फादरभन्दा पनि उमेरमा जेठो हुनुहुन्छ शेरबहादुर देउवा । हामी पाँच जेनेरेसनको मान्छे छौँ,’ उनले भने, ‘त्यो पाँचै जेनेरेसनको मान्छेले कांग्रेसमा काम गर्न पाउनुपर्छ ।’
थापाले पार्टीभित्र हुने असहमति र फरक मतलाई स्वाभाविकरूपमा लिनुपर्ने पनि बताए । उनका अनुसार एउटै पार्टीमा रहेर विचारमाथि खुला छलफल हुनु सामान्य प्रक्रिया हो । ‘पार्टी भनेको घर परिवारजस्तो हो । एकै ठाउँ बस्दै गर्दाखेरि खुला छलफल हुन्छ । कहिलेकाहीँ मत फरक–फरक हुन्छ,’ उनले भने, ‘त्यो अस्वाभाविक होइन, स्वाभाविक हो ।’
विगतका गतिविधि र अभिव्यक्तिलाई लिएर विवादमा अल्झिनुभन्दा अहिलेको अवस्थामा पार्टीलाई एकताबद्ध बनाएर अघि बढ्नुपर्ने थापाको भनाइ थियो ।
‘सबैलाई मेरो आग्रह छ, हिजो के भएको थियो, हामी हिजो कुन बेला कहाँ थियौं, कसले के बोल्यौँ भन्ने कुरा सबै बिर्सिनुपर्छ,’ उनले भने, कसैले गलत मनसाय राखेर त्यो कुरा गरेका थिएनौँ । हामीले आफ्नो ठाउँबाट यो ठीक होला भनेर गर्यौँ । एक ठाउँमा आएका छौँ ।’












प्रतिक्रिया