काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले संविधानको समीक्षा गर्दा समाजको पिँधमा रहेका मानिसहरूलाई केन्द्रमा राखिनुपर्ने बताएका छन् ।
संविधान दिवसको अवसरमा सभापति लामिछानेले जारी गरेको शुभकामना सन्देशमा उनले आर्थिक समृद्धि, सामाजिक न्याय र सुशासनको बलियो आधार निर्माण गर्ने कार्य अझै पूरा हुन नसकेको बताएका छन् ।
्‘संविधानले परिकल्पना गरेका मौलिक हकहरू सीमान्तकृत नागरिकको दैनिक यथार्थ बनेमा मात्र लोकतन्त्रको स्थायित्व र संविधानको सार्थकता सिद्ध हुने छ,’ उनले भने, ‘संविधानलाई जीवन्त दस्तावेज हो, राजनीतिक अभ्यासबाट प्राप्त अनुभवका आधारमा यसका अन्तर्वस्तु परिस्कृत र संशोधन हुन सक्छन् ।’
उनले संविधानमा नै लेखिएको व्यवस्थाले समीक्षा मागेको र अबको समीक्षा पिँधमा रहेका मान्छेलाई केन्द्रमा राखेर गरिनु पर्ने बताएका छन् ।
‘बेथिति र कमजोरीलाई सच्याएर लोकतन्त्र र समावेशितालाई थप बलियो बनाउन विवेकपूर्ण बहस गर्ने उपयुक्त दिन नै संविधान दिवस हो,’ उनले भनेका छन्, ‘सबै राजनीतिक शक्ति, राज्यका अङ्गहरू र आमनागरिकलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर बलियो नेपाल निर्माणको साझा एजेण्डामा एकताबद्ध हुन जरूरी छ ।’












प्रतिक्रिया