टेक्सस

हर्स्टमा श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न

हर्स्टमा श्रीकृष्ण जन्माष्टमी महोत्सव सम्पन्न


हर्स्ट, टेक्सस। ड्यालस-फोर्टवर्थमा अवस्थित श्रीकृष्ण प्रणामी मन्दिरमा श्रीकृष्ण प्राकट्य (जन्माष्टमी) महोत्सव भक्तिभाव, उत्साह र भव्य सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न भएको छ।

Advertisement

ड्यालस-फोर्टवर्थ क्षेत्रका १६ सयभन्दा बढी श्रद्धालुहरूको सहभागिता रहेको उक्त समारोहले नेपाली संस्कार, धर्म र सामुदायिक एकताको सशक्त सन्देश प्रवाह गरेको आयोजकले बताएका छन्। महोत्सवको सुरुवातमा हालै नेपालमा भएको विनाशकारी प्राकृतिक विपत्तिमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गरिएको थियो।

डीएफडब्ल्यू श्रीकृष्ण प्रणामी समाज, टेक्ससका अध्यक्ष दीपक ढकालको अध्यक्षतामा आयोजित उक्त विशेष समारोहमा नेपाली समाज टेक्ससका अध्यक्ष विजय भुसाल, निवर्तमान अध्यक्ष राजेन्द्र वाग्ले, एनसीएससीका उपाध्यक्ष छविमणि चापागाईँ, मन्दिरका महन्त सन्त पौडेल, शास्त्री चन्द्र प्रसाईँ, मन्दिर ट्रष्टका अध्यक्ष राजु हुमागाईँ र महिला समिति अध्यक्ष लक्ष्मी पौडेललगायत विभिन्न संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

महोत्सवमा प्रस्तुत गरिएका दिव्य झाँकी, भक्तिमय भजन-कीर्तन, डाँडिया नृत्य तथा बालबालिकाहरूका विविध सांस्कृतिक प्रस्तुतिहरू कार्यक्रमका मुख्य आकर्षण बनेका थिए।

कार्यक्रममा स्वागत मन्तव्य संस्थाकी उपाध्यक्ष उषा हुमागाईँले राख्नुभएको थियो भने सञ्चालन कन्हैया तिमिल्सिनाले गर्नुभएको थियो। उहाँको ऊर्जाशील र प्रभावकारी सञ्चालनले समारोहलाई अन्त्यसम्म जीवन्त बनाएको थियो।

भगवान् श्रीकृष्णको दिव्य जन्मोत्सव मनाउनुका साथै प्रवासमा आफ्नो धर्म, संस्कृति र नयाँ पुस्तामाझ मौलिक परम्पराको संरक्षण एवम् प्रवर्द्धन गर्न यो महोत्सव अत्यन्त फलदायी सिद्ध भएको आयोजकले जनाएका छन्।