काठमाडौँ । चीनको तिब्बततर्फबाट भोटेकोशीमा आएको बाढीले रसुवा, नुवाकोट, धादिङलगायत जिल्लामा पुर्याएको क्षतिप्रति दुःख व्यक्त गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ ।
पार्टी सचिवालयको बैठकले विपद्को यस घडीमा सरकारको राहत कोषमा जम्मा हुने गरी उक्त रकम सहयोग गर्ने निर्णय गरेको हो ।
बाढी र पहिरोका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै रास्वपाले आफ्ना सम्पूर्ण पूर्वनिर्धारित राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गरेको छ ।
पार्टीले पूर्वर्याट संयोजक आशिष थापाको नेतृत्वमा देशभरका कार्यकर्ताहरूलाई उद्धार र राहत कार्यमा सक्रिय हुन निर्देशन दिएको छ ।
महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा बेपत्ताहरूको खोजीलाई तीव्रता दिन, घाइतेहरूको निःशुल्क उपचार गर्न र प्रभावित परिवारलाई दीर्घकालीन पुनःस्थापनाको ठोस योजना ल्याउन सरकारसँग माग गरिएको छ ।
साथै, विपद्को समयमा आधिकारिक सूचनामा मात्र विश्वास गर्न र अफवाहको पछि नलाग्न पार्टीले नागरिकहरूलाई अनुरोध गरेको छ ।












प्रतिक्रिया