अमेरिका, बोस्टन। बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)को कार्यसमितिका अध्यक्ष ध्रव घिमिरेले महायज्ञमा भक्तजनहरुको सहाभागिता दिन प्रतिदिन बढ्दैगइरहेको दाबी गरे। उनले महायज्ञको आज छौठौं दिनसम्म आइपुग्दा भक्तजनहरुको सहभागिता निकै उत्साहजनक रहेको र त्यसले आयोजकलाई निकै उत्साहित बनाएको बताए। उनले भने,” महायज्ञमा भक्तजनहरुको सहभागिता निकै उत्साहजनक छ। सहभागिताको संख्या दिन प्रतिदिन बढ्दो छ। यससंगै दान रकम पनि बढ्दै गइरहेको छ। यसले हामी निकै उत्साहित भएका छौं।”

अध्यक्ष घिमिरेले अबको दुइ दिन अगष्ट २२ र २३, २०२६ (शनिबार र आइतबार) भक्तजनहरुको सहभागिता निकै बढ्ने दाबी गरे। उनले बाँकी यि दुइ दिन महायज्ञमा सहभागी भइ अमूल्य ज्ञान लिन र सक्दो दान दिन कोही नछुटौं भन्दै सहभागिताका लागि सबैलाई चुले निम्तो गरे।

अध्यक्ष घिमिरेले जानकारी दिए अनुसार आज छैठौं दिन दाताहरुले दिने भनी बाचा गरेको रकम र प्राप्त नगद रकम गरी जम्मा १ लाख सत्तरी हजार डलर संकलन भएको छ भने, आजसम्म(छैठौं दिनसम्म)को जम्मा ५ लाख २३ हजार(नगद र दान गर्ने भनी बाचा गरिएको रकम) डलर आर्थिक सहयोग जुटेको छ। उनले बाँकी दुइ दिन ज्ञान र दान दुबै दृष्टिकोणले निकै महत्त्वपूर्ण रहेको उल्लेख गर्दै दाताहरुबाट थप उत्साहजनक दान प्राप्त हुने विश्वास व्यक्त गरे।
प्याब्सनले यस महायज्ञबाट १५ लाख डलर सहयोग सङ्कलन हुने अनुमान गरेको छ। अध्यक्ष घिमिरेले सप्ताह ज्ञान महायज्ञको महत्त्वपूर्ण उद्देश्यहरु मध्ये संस्थाको सहयोगार्थ आर्थिक सहयोग जुटाउने र उक्त रकमको सदुपयोग गरी संस्थालाई कर्जा मुक्त गराउने पनि रहेकाले, ऐच्छिक आर्थिक दान गरी संस्थाको अभियानमा जुट्न न्यू इङ्गल्याण्डबासी नेपाली समुदायलाई अनुरोध गरेका छन्।


महायज्ञमा श्रीमतभागवत कथा वाचक पण्डित दीनबन्धु पोखरेलले प्रवचनसहित कथा वाचन गरिरहेका छन्। वाचन, प्रवचन, गायन, कला आदि विविध विधामा पोख्त रहेका पण्डितको प्रस्तुतिमा सहभागीहरु मन्त्रमुग्ध भएर श्रीमतभागवत कथा सुनिरहेका छन्। कथा वाचन तथा प्रवचनका क्रममा उनले श्रीमतभागवत ज्ञान प्रवाह गर्न, नेपाली मनलाई जोड्न, नेपाल र नेपालीको कला, धर्म, संस्कार र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्न र पुस्तान्तरण गर्नमा उनले विशेष जोड दिइरहेका छन्। कथा वाचनका क्रममा पणपण्डित पोखरेलले धर्मलाई जीवन, जगत र विज्ञानसंग जोड्दै जीवन उपयोगी अमूल्य ज्ञान दिइरहेका छन्। कथा वाचनको दौरानमा कथाको प्रसङ्ग अनुसार भजन कीर्तन, झाँकी, नाटक तथा नृत्यहरु प्रस्तुत गरिएको थियो।

कथा वाचनकै क्रममा दाताहरुले दान स्वरुप प्रदान गर्ने आर्थिक सहयोग रकमको घोषणा गरेका थिए। आर्थिक सहयोग रकम घोषणा गर्ने दाताहरुलाई प्याब्सनले खादा लगाइदिएर सम्मान प्रकट गरेको थियो।
धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, सम्वर्धन तथा सम्वर्धन गर्ने, पुस्तान्तरण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने महायज्ञको प्रमुख उद्देश्यहरु रहेका छन्।।

महायज्ञको कार्यतालिका अनुसार भोली अगष्ट २२,२०२६ शनिबार मन्दिरमा बुद्धको विषेश पूजा, ध्यान तथा प्रवचन गर्ने कार्यक्रम रहेको छ। आयोजकले जनाए अनुसार विहान १०:३०देखि मध्याह्न १२:३० सम्म हुने उक्त कार्यक्रममा बौद्ध गुरु समन्त श्रीरत्न बज्राचार्य र गुरु सोनाम लामाबाट बुद्धको पूजा, ध्यान तथा प्रवचन हुने छ।
(तस्बिरहरु सौजन्य : सक्रिय बस्नेत)













प्रतिक्रिया