अमेरिका, बोस्टन। बोस्टन स्थित पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)द्वारा आयोजित श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” जारी रहेको छ।

गत अगष्ट १६,२०२६ आइतबारबाट सुरु भएको महायज्ञको आज तेस्रो दिन हो। महायज्ञमा श्रीमतभागवत कथा वाचक पण्डित दीनबन्धु पोखरेलले प्रवचनसहित कथा वाचन गरिरहेका छन्। महायज्ञको तेश्रो दिन आज श्भश्रीमतभागवत कथा वाचनसंगै पण्डित पोखरेलले जीवन, जगत र परमात्माको वास्तविक अर्थ, आपसी सम्बन्ध र यिनको योगफलका बारेमा विशेष चर्चा गरेका थिए।

कथा वाचनका क्रममा उनले कथाको प्रसङ्गसंग सनातन धर्म, त्यसको मर्म, आध्यात्मिक चिन्तन, धर्म, कर्म, संस्कार, संस्कृति, परम्परा आदिलाई जोड्दै महत्वपूर्ण ज्ञान प्रवाह गर्ने प्रयास गरेका थिए। विज्ञानमा पनि राम्रो दख्खल भएका पण्डित पोखरेलले धर्मलाई विज्ञानसंग जोड्दै धर्मको महत्व दर्शाउने प्रयास गरेका थिए। उनले तन, मन, धन र मुक्तिका बारेमा विशेष चर्चा गरेका थिए।

कथा वाचन गर्ने तथा प्रवचन दिने दौरानमा भागवत कथाको प्रसङ्ग अनुसार भजन टोलीको साथमा भजन कीर्तन गर्दै भगवानको महिमा सुनाएका थिए।उनले महायज्ञमा सहभागी भक्तजनहरुले पण्डित पोखरेलको कथा वाचन तथा प्रवचन मन्त्रमुग्ध भएर सुन्नुका साथै भजन कीर्तन तथा नृत्य गरेर साथ दिएका थिए। पण्डि पोखरेले सहभागीहरुसंग दोहोरो संवाद गर्दै जीवनका आयामहरुलाई धर्मसंग जोडर अमूल्य ज्ञान दिने प्रयास गरेका थिए।


कथा वाचनकै क्रममा दाताहरुले संस्थालाई दान स्वरुप प्रदान गर्ने आर्थिक सहयोग रकमको घोषणा गरेका थिए। आर्थिक सहयोग रकम घोषणा गर्ने ति दाताहरुलाई खादा लगाइदिएर सम्मान गरिएको थियो।


प्याब्फोन कार्यसमितिका अध्यक्ष ध्रुव घिमिरेले जानकारी दिए अनुसार महायज्ञको आज तेश्रो दिनसम्म दाताहरुबाट कबोल रकमसहित करिब दुइलाख डलर सङ्कन भएको छ। उनले दाताहरुबाट उत्साहजनक दान भइरहेको र दिनप्रतिदिन सङ्कलन हुने दान रकम बढ्दै गइरहेको बताए। अध्यक्ष घिमिरेले महायज्ञको अन्तिम दिनसम्ममा लक्ष्य राखिएको रकम सङ्कलन हुने विश्वास व्यक्त गरे। उनले महायज्ञ सहभागी भइ अमूल्य ज्ञान लिन र सक्दो ऐच्छिक दान गर्न न्यू इङ्गल्याण्डबासी प्रवासी नेपालीहरुलाई अनुरोध गरेका छन्।


धार्मिक ज्ञान प्रवाह गर्ने, सामुदायिक एकतालाई थप बलियो बनाउने, नेपाली धर्म, संस्कार, संस्कृति आदिको संरक्षण, सम्वर्धन तथा सम्वर्धन गर्ने, पुस्तान्तरण गर्ने र संस्थाका लागि आवश्यक आर्थिक सहयोग संकलन गर्ने मुख्य उद्देश्य राखेर आयोजना गरिएको महायज्ञबाट पन्ध्र लाख डलर सङ्कल हुने प्याब्फोनले अनुमान गरेको छ।
कार्यतालिका अनुसार महायज्ञ आगामी अगष्ट २३, २०२६ आइतबार समापन गरिने छ।














प्रतिक्रिया