बोस्टन

बोस्टन सप्ताह महायज्ञ शुभारम्भ, कलश यात्रामा उत्साहजनक सहभागिता (फोटो फिचरसहित)

बोस्टन सप्ताह महायज्ञ शुभारम्भ, कलश यात्रामा उत्साहजनक सहभागिता (फोटो फिचरसहित)


अमेरिका, बोस्टन। पशुपतिनाथ बुद्ध फाउण्डेशन अफ न्यू इङ्गल्याण्ड(प्याब्फोन)द्वारा आयोजित श्रीमतभागवत सप्ताह ज्ञान महायज्ञ “बोस्टन सप्ताह ज्ञान महायज्ञ-२०२६” शुभारम्भ भएको छ। अगष्ट १६, २०२६ आइतबारदेखि महायज्ञ शुभारम्भ भएको हो। महायज्ञको कार्यतालिका अनुसार आइतबार महायज्ञ हुने स्थान पशुपति नाथ तथा बुद्ध मन्दिरमा पण्डितहरुद्वारा नियमित पूजापाठसंगै ८ बजेदेखि धार्मिक विधि अनुसार पूर्वाङ्ग गरिएको थियो।

अपराह्न २ बजे ब्रेनट्रीको टाउनहलदेखि मन्दिर परिसरसम्म रहेको ०.६ माइल अर्थात् करिब १ किलोमिटर दूरी कलश यात्रा गरिएको थियो। ३०८ कलशहरुसहित सम्पन्न गरिएको कलश यात्रामा करिब पन्ध्र सय भक्तजनहरुको उत्साहजनक सहभागिता रहेको थियो। उक्त कलश यात्रामा न्यू इङ्गल्याण्ड क्षेत्रमा क्रियाशील प्रवासी नेपालीहरूको संघ संस्थाहरुले संस्थागत व्यानरसहित सहभागिता जनाएका थिए।

Advertisement

कलश यात्रा शुभारम्भ गर्नु पूर्व पण्डितहरुले धार्मिक विधि अनुसार पूजापाठ गर्नुका साथै स्वस्ती वाचन गरेका थिए। महायज्ञका प्रमुख कथा वाचक पण्डित दीनबन्धु पोखरेल तथा उनकी धर्म पत्नी यसोधा नेपाल पोखरेल, बौद्ध धर्म गुरु भाण्टेलगायतको विशेष आतिथ्यतामा कलश यात्रा सम्पन्न भएको थियो।

पञ्चकन्याको अगुवाइमा भएको कलश यात्राका क्रममा नेपाली पन तथा पहिचानमा सजिएका नारी भक्तजनहरुले धार्मिक विधि अनुसार पूजिएका कलशहरु शिरमा बोकेर यात्रा गरेका थिए। त्यसैगरी, कलश यात्रामा महायज्ञसंग सम्बन्धित धार्मिक ग्रन्थ तथा पुस्तकहरुसमेत समावेश गरिएको थियो।

नेपाली पन, पहिचान, धर्म, संस्कृति, संस्कार आदि झल्काउने गरी सहभागी भएका भक्तजनहरुले कलश यात्राका क्रममा भजन कीर्तन गर्दै आफ्ना इष्ट देवताहरुको जय जयकार गरेका थिए। पञ्चे बाजा र नेवारी बाजाको सुमधुर आवाजले गुन्जयमान भएको कलश यात्रा क्षेत्र नेपालमय भएको थियो। भजन, पञ्चेबाज र नेवारी बाजामा भक्तजनहरुले नाच्दै गाउदै हर्षोल्लास प्रकट गरेका थिए।

मन्दिरलाई परिक्रमा गरेर मन्दिर भित्र प्रवेश गरेपछि कलश यात्रा सम्पन्न भएको थियो।

कलश यात्रा सम्पन्न भएपछि महायज्ञ स्थलमा
महायज्ञको औपचारिक उद्घाटन गर्न औपचारिक कार्यक्रको आयोजना गरिएको थियो।

कलश यात्रा सम्पन्न भएसंगै महायज्ञ अन्तर्गत गठित कलश यात्रा उपसमितिकी संयोजक रुकमिणी कार्कीले कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको प्रतिक्रिया दिएकी छिन्। उनले कार्यक्रम सफल भएकोमा निकै खुशी व्यक्त गर्दै साथ सहयोग गर्ने सबैलाई धन्यवाद व्यक्त गरिन्।

कार्क्रमका केही तस्बिरहरु :