बिश्व घटना

होर्मुज जलमार्ग खोल्नुअघि इरानले अमेरिकासँग राख्यो सर्त

होर्मुज जलमार्ग खोल्नुअघि इरानले अमेरिकासँग राख्यो सर्त


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font

एजेन्सी । इरानले आफ्ना सर्तहरू अमेरिकाले पूरा नगरेसम्म होर्मुज जलमार्ग नखोल्ने चेतावनी दिएको छ । इरानी परराष्ट्र मन्त्रालयका प्रवक्ता इस्माएल बागेईले भने, “आफ्ना गैरकानुनी र विनाशकारी कदमहरू रोक्ने तथा त्यसबाट भएको क्षतिको क्षतिपूर्ति गर्ने जिम्मेवारी अमेरिकी पक्षको होे ।”

इरानले केही दिन अघि जारी गरेको विज्ञप्तिमा इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सदस्य तथा रिभोलुसनरी गार्डसका एक कमान्डरले अमेरिकाले इरानलाई पुनः कहिल्यै धम्की दिन नहुने, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति तिर्नुपर्ने बताएका थिए । 

Advertisement

इरान र यस क्षेत्रमा रहेका लेबनानी लडाकु समूह हिजबुल्लाह, यमनका हुथी विद्रोही र गाजा स्ट्रिपको हमास र उसका सहयोगीहरू  विरुद्धको युद्ध स्थायी रूपमा अन्त्य गनुपर्ने, इरानी बन्दरगाह र होर्मुज जलमार्गमा रहेका जहाजमाथिको नाकाबन्दी हटाउनु पर्ने तथा यस क्षेत्रबाट आफ्ना सैनिक फिर्ता लैजानु पर्ने र इरानमाथिका प्रतिबन्ध हटाउनु पर्ने र रोक्का गरिएका इरानी सम्पत्ति फुकुवा गर्नुपर्नेजस्ता मागहरू राखेको ती कमान्डरले बताएका छन्  ।

होर्मुज जलमार्ग बन्द भएका कारण विश्व बजारमा इन्धनको मूल्यमा तीव्र वृद्धि भएको छ । इरानले सम्भावित अस्थायी समुद्री मार्गसहित यस जलमार्गबाट हुने आवतजावतका विषयमा ओमानसँग वार्ता गरिरहेको छ । तर, जलमार्ग वास्तवमै पुनः खोल्ने विषय अमेरिकासँगको वार्तामा निर्भर रहने इरानले जनाएको छ ।

यद्यपि, आइतबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग अमेरिका कुनै ठूलो वार्तामा संलग्न नरहेको बताएका छन् । अमेरिकी सञ्चारमाध्यम एक्सिओसका अनुसार ट्रम्पले भने, “हामी यसलाई सामान्य रूपमा लिइरहेका छौँ । हामी उनीहरूसँग अर्ध–वार्ता मात्र गरिरहेका छौँ । इरानमा भइरहेको उच्च मुद्रास्फीति र उनीहरूसँग पैसा नभएको तथ्यलाई हामी नियालिरहेका छौँ ।”

तर, ट्रम्पले एउटा सन्तोषजनक निष्कर्षमा पुगिनेमा आफू आशावादी रहेको पनि बताएका छन् ।