मनोरञ्जन

‘बा : एक योद्धा’ पितृत्वको त्याग, सङ्घर्ष र प्रेमको भावनात्मक कथामा आधारित चलचित्र

‘बा : एक योद्धा’ पितृत्वको त्याग, सङ्घर्ष र प्रेमको भावनात्मक कथामा आधारित चलचित्र


कोलोराडो, अमेरिका । नेपाली चलचित्र क्षेत्रमा पारिवारिक कथावस्तुमा आधारित चलचित्रहरूले समय–समयमा तहल्का मचाउने गरेका छन् ।

यही शृङ्खलामा आर्टिस्टिक इन्टरटेन्मेन्टको प्रस्तुतिमा निर्माण भएको ‘बा ः एक योद्धा’ ले आफ्नो आधिकारिक टिजरमार्फत दर्शकमाझ गहिरो भावनात्मक प्रभाव छोड्ने सङ्केत दिएको छ ।

Advertisement

आगामी भदौ १९ (सेप्टेम्बर ४) देखि विश्वभर प्रदर्शनमा आउने तयारीमा रहेको यो चलचित्रले बुबाको संघर्ष, त्याग, साहस र निस्वार्थ प्रेमलाई केन्द्रमा राखेको देखिन्छ ।

लामो समयदेखि अमेरीकाको कोलोराडोलाई आफ्नो कर्मक्षेत्र बनाएका गायक, संगीतकार तथा सफल ब्यवसायी बसन्त लम्सालद्वारा निर्मित यस चलचित्रका लेखक तथा निर्देशक हरि लम्साल हुन् भने कार्यकारी निर्मातामा अनिल बुढाथोकी, लाइन प्रोड्युसरमा अर्जुन पौडेल र सह(निर्मातामा कृष्ण काफ्ले रहेका छन् । यसले चलचित्र निर्माणमा अनुभवी र समर्पित टोलीको सहभागिता रहेको अनुभूति गराउँछ।

टिजरमा कथा धेरै नखुलाइए पनि यसको शीर्षक ‘बा ः एक योद्धा’ ले नै दर्शकलाई भावनात्मक यात्रामा लैजाने सङ्केत गर्छ । परिवारका लागि जीवनभर लडिरहने एक बुवाको सङ्घर्षलाई चलचित्रले सशक्तरूपमा प्रस्तुत गर्ने अपेक्षा गर्न सकिन्छ । संवाद, पृष्ठभूमि, सङ्गीत र दृश्य संयोजनले चलचित्रमा संवेदनशीलता र पारिवारिक सम्बन्धको गहिराइलाई उजागर गर्ने सम्भावना रहेको देखिन्छ ।

कलाकारहरूको सूची पनि निकै आकर्षक छ । झरना थापा, दिव्यदेव पन्त, सुहाना थापा, सागर खनाल, सुप्रज्ञा शर्मा, शिशिर शिवाकोटी, अनिल बुढाथोकी, माउत्से गुरूङ, सबी थापा, चन्द्र नेपाल, कृष्णप्रसाद ढुङ्गाना, अञ्जन ढकाल र करण शाह लगायतका कलाकारहरुको अभिनय यस चलचित्रमा रहेको छ। साथै, चर्चित अभिनेत्री केकी अधिकारीको विशेष उपस्थितिले पनि चलचित्रप्रति थप उत्सुकता बढेको छ ।

चलचित्रको प्राविधिक पक्ष पनि बलियो देखिन्छ। शिवराम श्रेष्ठको छायाङ्कन, मित्र डी. गुरूङको सम्पादन, हरि लम्सालको सङ्गीत तथा डा. कृष्णहरि बराल, डा. राजुबाबु श्रेष्ठ र सञ्जीव थापाका गीतहरूले चलचित्रलाई भावनात्मक उचाइ दिने अपेक्षा गर्न सकिन्छ ।

समग्रमा, ‘बाः एक योद्धा’ केवल मनोरञ्जनका लागि मात्र बनेको चलचित्र नभई हरेक परिवारमा विशेषगरी बुबाको त्याग र जिम्मेवारीलाई सम्मान गर्ने भावनात्मक कृति बन्न सक्ने सम्भावना देखिन्छ। टिजरले दर्शकमा जिज्ञासा जगाउन सफल भएको छ भने चलचित्रले पनि त्यही भावनात्मक गहिराइलाई पर्दामा जीवन्त बनाउन सकेमा यस वर्षको स्मरणीय पारिवारिक नेपाली चलचित्रमध्ये एक बन्ने आधार प्रशस्त देखिन्छ ।

प्रवासमा रहेर दिनरात सङघर्ष गरी बचाएको थोर–बहुत रकम लगानी गरी निर्माण गरिएको ‘बाः एक योद्धा’ सफल होस्, सम्पूर्ण कोलोराडोबासीका तर्फबाट अग्रिम शुभकामना !