नेपाल आदिवासी जनजाति महासंघ अमेरिका, फिप्नाले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ । राष्टिय स्वतन्त्र पार्टी, रास्वपाका नेता तथा प्रतिनिधि सभाका सांसद मनिष झा मार्फत नेपाल सरकारलाई तीन बुंदे ध्यानाकर्षण पत्र बुझाएको हो । फिप्नाले बुझाएको ध्यानाकर्षणमा, राज्यका हरेक तह र तप्कामा सबै समुदायको सम्मानजनक प्रतिनिधित्व सुनिश्चित गरिनु पर्ने उल्लेख छ ।
फिप्नाले नेपालका हरेक आन्दोलन तथा परिवर्तनमा आदिवासी जनजाती, मधेषी, मुस्लिम, थारु लगायत सबैको योगदान रहेको र अहिलेको संघीय नेपालको संरचना निर्माणमा योगदान गरेका सबैको उचित सम्मान गरिनुपर्ने धारणा राखेको छ ।
यसैगरी फिप्नाले अर्को बुंदामा आदिवासी जनजाति संस्थाहरूको संरक्षणको मुद्धा उठाएको छ । ध्यानाकर्षणपत्रमा नेपाल आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानजस्ता संस्थाहरू नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक पहिचान संरक्षण गर्ने राष्ट्रिय संरचना भएकाले ती संस्थालाई प्रभावकारी र सशक्त बनाउ माग गरेको छ । यस्ता संरचनाकोे सुधारको नाउमा संघीयता, जनयुद्ध र मधेश आन्दोलन लगायत सबैको भावना नसमेटे मुलुक दुर्घटनामा जानसक्ने चेतावनी पनि दिएको छ ।
त्यसैगरी नयाँ राजनीतिक विकल्पको रूपमा आएको .रास्वपा नयाँ राजनीतिक संस्कार र समावेशी नेतृत्वको उदाहरण बन्नुपर्ने सुझाव पनि दिएको छ । फिप्नाले बुझाएको ध्यानाकर्षण पत्रमा सरकारको विरोध भन्दापनि संविधानको मर्म र न्यायपूर्ण समाज निर्माणका लागि आवाज उठाइरहेको दावी गरिएको छ ।
केही समय अघि अमेरिका भ्रमणमा रहेका बेला रास्वपाका नेता तथा सांसद मनिष झालाई फिप्नाको तर्फबाट अध्यक्ष पासाङ दोर्जी शेर्पा (एपी लामा) र महासचिव सुमन थाम्सुहाङ लिम्बु हस्ताक्षर गरी ध्यानाकर्षण पत्र बुझाएको हो ।












प्रतिक्रिया