अमेरिका समाचार

जनसम्पर्क अमेरिका कस्को नेतृत्वमा पुग्ला ?

जनसम्पर्क अमेरिका कस्को नेतृत्वमा पुग्ला ?

महामन्त्री घिमिरे प्रमुख अतिथिका रुपमा अमेरिका आउँदै


ड्यालस (अमेरिका) । जनसम्पर्क समिति अमेरिकाको अबको एक महिनापछि हुन लागेको अधिवेशनको मिति नजिकिदै गर्दा नेतृत्वका लागि आकांक्षीहरु बढ्दै गएका छन् ।

१२ वर्षपछि हुन लागेको कारणले पनि जनसम्पर्कको अधिवेशनले निकै चर्चा र चासो बटुलिरहेको छ । सन् २०१४ मा ड्यालसमा भएको दोस्रो अधिवेशन पछि कहिले नेतृत्वका कारण त कहिले कांग्रेसको आन्तरिक राजनीतिका कारण समयमा हुन सकेको थिए ।

Advertisement

जनसम्पर्क समिति नेपालको राजनीतिक दल नेपाली कांग्रेसका कार्यकर्ताहरुको प्रवासी भातृसंस्था हो । ‘लामो समयपछि हुन लागेकोले पनि धेरै साथीहरुको चासो स्वाभाविक रुपमा छ ।

यसपटकको तेस्रो अधिवेशनले प्रवासमा मुर्झाएको जनसम्पर्कलाई नयाँ जीवन दिनेछ’ जनसम्पर्क समिति अमेरिकाका संयोजक धनञ्जय नरसिंह केसीले हिमालयखबरसँग भने ।

जनसम्पर्कका अध्यक्ष आनन्द विष्ट गत चुनावमा नेपालमा उम्मेदवार भएर गएपछि अधिवेशन सम्पन्न गर्न केसीको काँधमा जिम्मेवारी आएको हो ।

संसारभरिका जनसम्पर्क समितिहरुको अधिवेशन साउन मसान्तसम्म गर्न समयसीमा दिइएकोले अमेरिकामा आउँदो अगष्ट १४ देखि १६ सम्म तीन दिने कार्यक्रम भव्य रुपमा गर्नेगरि मिति र स्थान तोकेर तयारी सुरु भैसकेको समेत केसीले बताए ।

अधिवेशन अमेरिकाको राजधानी डिसी मेट्रो क्षेत्रको भर्जिनियामा हुन लागेको छ । त्यसका लागि राम मिश्रको संयोजकत्वमा स्थानीय आयोजक समिति समेत गठन भएको जनाइएको छ ।

अधिवेशन सफल बनाउनका लागि शनिबार साँझ अनलाइन बैठक भएको थियो । बैठकमा नेपालबाट आउने प्रमुख अतिथि लगायतका विषयमा टुंगो लागेको छ ।

महामन्त्री गुरुराज घिमिरे प्रमुख अतिथिका रुपमा सहभागी हुने निश्चित भैसकेको केसीले बताए । कार्यक्रमको उदघाटन समारोहमा केन्द्रिय सभापति गगनकुमार थापाले जुमबाट संवोधन गर्ने कार्यक्रम समेत रहेको बताइएको छ ।

नेतृत्वका आकांक्षीहरुः
तेस्रो अधिवेशनले आउँदो तीन वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम समेत रहेको छ । पूर्ब उपसभापति तथा वर्तमान संयोजक केसीले आउँदो नेतृत्वका लागि इच्छा देखाएका छैनन् । उनले आफ्नो ध्येय अधिवेशन सफल बनाएर नयाँ नेतृत्वलाई हस्तान्तरण गर्ने मात्र रहेको उल्लेख गर्दै जो आएपनि आफ्नो पुरा सहयोग रहने बताए ।

स्रोतका अनुसार आउँदो नेतृत्वका लागि गौतम दाहाल, विनोद भट्ट, मुनिन्द्र नेम्वाङ्ग लगायतको चर्चा छ । तर अन्तिममा सहमती गरेर दाहाल र भट्ट मध्य एकमात्र हुने र संस्थापन खेमाबाट नेम्वाङ्ग मात्र रहने स्रोतले बतायो ।

नेम्वाङ्ग जनसम्पर्क अमेरिकाका पूर्ब महासचिव हुन् भने दाहाल केन्द्रिय सदस्य हुन् । नेम्वाङ्ग कांग्रेस उपसभापति विश्वप्रकाश शर्मा निकट मानिन्छन् ।

उम्मेदवारमा चर्चा त अन्य केही नामको पनि छ । तर सिरियस उम्मेदवार भने तीन जनामात्र हुन् स्रोतले भन्यो ।

अधिवेशनका लागि केही महिना अघि सम्पन्न भएका च्याप्टर अधिवेशनहरुले प्रतिनिधि तोकिसकेको छ । अमेरिकाका बिभिन्न राज्यबाट आठसयको हाराहारीमा प्रतिनिधिहरु डिसी मेट्रो क्षेत्रमा अगष्ट दोस्रो साता भेला हुनेछन् ।

अमेरिकाका २६ वटा च्याप्टरहरु छन् । कतिपय ठूला राज्यहरुमा तीनवटासम्म च्याप्टरहरु गठन भएका छन् ।

गैर आवासीय नेपालीहरुको हितमा कांग्रेसले केही गर्न नसकेको भनेर अमेरिकामा आलोचना हुने गरेको छ । सोही कारण नेपालको गत आम चुनावमा अमेरिकाबाट कांग्रेस लगायत अन्य दलमा लामो समयदेखि कृयाशील र शुभेच्छुकहले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सहयोग गर्न पुगेको चर्चा पनि त्यत्तिकै छ । तर सरकारमा गैसकेपछि पनि रास्वपाले गैर आवासीय नेपालीहरुको अपेक्षा अनुसार गर्ने संकेत नदेखाएपछि त्यसको फाइदा जनसम्पर्कलाई पुग्ने अनुमान गरिदैछ ।

अब नयाँ विधान अनुसार हरेक तीन वर्षमा अधिवेशन गरेर नयाँ नेतृत्व चुनिनुपर्छ । यदी भएन भने केन्द्रले हस्तक्षेप गर्नेछ ।