अमेरिका — गैरआवासीय नेपाली संघ, अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) ले संयुक्त राज्य अमेरिकामा क्रियाशील दुवै राष्ट्रिय समन्वय परिषद्, एनसीसी यूएसएलाई आगामी जुलाई १८ र १९ मा आह्वान गरिएको वार्षिक साधारण सभा तत्काल स्थगन गर्न निर्देशन दिएको छ।
आइसीसीले दुवै एनसीसी—अध्यक्षहरू विकास उप्रेती र सतेन्द्र साहलाई पठाएको पत्रमा, समानान्तर गतिविधिले संगठनात्मक एकता, पारस्परिक विश्वास र बृहत् एकताको अभियानमा प्रतिकूल प्रभाव परेको उल्लेख गरिएको छ।
आइसीसीका अनुसार १२ औँ बृहत् एकताको अन्तर्राष्ट्रिय महाधिवेशनपछि दुवै एनसीसीलाई एकीकृत गर्न निरन्तर प्रयास भइरहेको छ। उपाध्यक्ष रविनराज बज्राचार्य तथा रोशन थापाको संयोजकत्वमा बनेको एकता सहजीकरण समितिले दुवै पक्षसँग पटक–पटक छलफल गरे पनि समानान्तर गतिविधि रोकिएको छैन।
आइसीसीले दुवै एनसीसीलाई दुईवटा प्रमुख निर्देशन दिएको छ । पहिलो, जुलाई १८–१९ मा आह्वान गरिएको साधारण सभा पूर्ण रूपमा स्थगन गरी लिखित जानकारी आइसीसीलाई पठाउने।
दोस्रो, आगामी जुलाई १६ मा आयोजना हुने एकताको अधिवेशनमा सहभागी भई एकीकृत एनसीसी यूएसए गठन प्रक्रियामा पूर्ण सहयोग गर्ने लिखित प्रतिबद्धता उपलब्ध गराउने।
आइसीसीका अनुसार एकता अधिवेशनको उद्देश्य—संगठनात्मक एकताको औपचारिक घोषणा, अनुमोदन तथा एकता कार्यान्वयनका लागि आवश्यक निर्णयहरू पारित गर्नु हो। आइसीसीले संघको विधानको दफा १७.७ अनुसार निर्देशन अवहेलना भएमा एनसीसीको आवद्धता र मान्यता फिर्ता गर्न सकिने चेतावनी पनि दिएको छ।
आइसीसीले दुवै एनसीसीलाई बृहत् एकताको सहमतिपत्र र महाधिवेशनको मूल मर्मअनुसार अघि बढ्न आग्रह गर्दै, एकीकृत एनसीसी यूएसए गठनले संगठनात्मक स्थायित्व र दीर्घकालीन सहकार्यलाई मजबुत बनाउने विश्वास व्यक्त गरेको छ।
दुबै समूहले आइसीसीलाइ तिर्नुपर्ने सदस्यता वापतको रकम समेत बुझाएका छैनन् । सदस्यहरूबाट संकलन भएको रकम एनसिसीहरूले मनोखुशीका साथ खर्च गरिरहेको अारोप समेत छ ।
विकास समुहको साधारण सभा स्थगितः
यसैबीच केन्द्रको निर्देशनलाइ स्विकार गर्दै गैरआवासीय नेपाली संघ अमेरिका (विकास उप्रेती) ले साधारण सभा स्थगित गरेका छन् ।
‘हामीले केन्द्रको सर्कुलरलाइ मानेर साधारण सभाका सबै कार्यक्रमहरू स्थगित गरेका छाैँ, जे जस्तो थप निर्देशन केन्द्रले दिन्छ त्यसलाइ हामी शिरोपर गर्नेछाैँ’ प्रवक्ता द्रोण गाैतमले भने । अर्को समूहबाट पनि स्थगित गरेर सहमतिमा जानुको विकल्प नरहेको उनले बताए ।












प्रतिक्रिया