अमेरिका समाचार

मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश

मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश


अमेरिका, बोस्टन। जारी फिफा विश्वकप फुटबल २०२६ अन्तर्ग अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई पराजित गर्दै फ्रान्स सेमिफाइनलमा प्रवेश गरेको छ।

दर्शकले खचाखच भरिएको खेलमा फिफाको पछिल्लो बरियता तालिका अनुसार पहिलो स्थानमा रहेको फ्रान्सले छैठौं स्थानमा रहेको मोरक्कोलाई २-० गोल अन्तरले पछि पार्दै सेमिफाइनलमा आफ्नो सिट सुरक्षित गर्न सफल भएको हो। यो संगै फ्रान्स लगातार तेस्रो पटक विश्वकपको सेमिफाइनलसम्म आफ्नो यात्रा तय गर्न सफल भएको छ ।

Advertisement

चार वर्ष अघि सन् २०२२ को विश्वकप फुटबलमा फ्रान्स र मोरक्को सेमिफाइनलमा आमनेसामने भएका थिए। उक्त खेलमा फ्रान्सले मोरक्कोलाई पराजित गर्दै फाइनलसम्मको यात्रा सुनिश्चित गरेको थियो। त्यस खेलमा पनि फ्रान्सले मोरक्कोलाई २-० गोल अन्तरले पाखा लगाएको थियो। फाइनलमा भने अर्जेन्टिनासंग पराजित भएर उपविजेतामा सिमित हुन बाध्य भएको थियो।

निकै सनसनीपूर्ण र रोमाञ्चक रहेको खेलको २५औं मिनेटमा मोरक्कोका खेलाडी माजाउरीले फ्रान्सका कप्तान किलियन एमबाप्पेलाई(जर्सी नंबर १०) गरेको फललाई रेफ्रीले भिएआरको सहयता लिएर फ्रान्सलाई पेनाल्टी दिएका थिए। तर, २८औं मिनेटमा एमबाप्पेले गरेको पेनाल्टी प्रहारलाई मोरक्कोका गोलकिपर बोनोले विफल तुल्याइ दिएका थिए। पेनाल्टी प्रहार चुकेपछि फ्रान्सका खेलाडीहरु र समर्थकहरु निकै स्तब्ध भएका थिए। दुबै पक्षले गोल गर्ने अथक प्रयासहरु गरे पनि पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गिएको थियो।

खेलको दोस्रो हाफको प्रारम्भमा फ्रान्स निकै दबाबमा परेको थियो। पेनाल्टी प्रहारमा चुकेका फ्रान्सका कप्तान एमबाप्पे गोल गरेर टोलीलाई अग्रता दिलाउन अथक प्रयास गरिरहेको देखिन्थे। खेलको ६०औं मिनेटमा उनको प्रयासले सार्थकता पाउन सफल भयो। उनको गोलले फ्रान्सलाई १-० गोलको अग्रता दिलाएको थियो। यससँगै एमबाप्पेले आफ्नो व्यक्तिगत खातामा ८ गोल जम्मा गरेका छन्। जो अर्जेन्टिनाका कप्तान लियानल मेसीको बराबर हो।

खेलको ६६औं मिनेटमा जर्सी नंबर ७ का उसमान डेम्बेलेले फ्रान्सका लागि १ गोल थप्दै खेललाई २-० गोलको अवस्थामा पुर्याए। उनले कप्तान एमबाप्पेले पास गरेको बललाई गोलमा परिणत गर्न सफल भएका थिए। उनले पनि आफ्नो खातामा ५ गोल जम्मा गरिसकेका छन्। खेलको अन्तिम समयसम्म मोरक्कोले गोल फर्काउने हरप्रयास गरेता पनि सफल हुन सकेन। अन्ततः खेल २-० गोलमै सिमित भएर फ्रान्सलाई विजेता र मोरक्कोलाई उपविजेता बनाएर टुङ्गियो।

यस अघि यि दुइ टिम ५ पटक आमनेसामने भइसकेका छन्। जस मध्ये फ्रान्सले ३ खेल जितेको थियो भने, २ खेल बराबरीमा टुङ्गिएको थियो। अब प्रान्सले सेमिफाइनलमा स्पेन र बेल्जियमबीच हुने खेलको विजेतासंग फाइनल प्रवेशका लागि भिड्ने छ।

यस खेलसंगै, फिफाको खेलतालिका अनुसार अमेरिकाको म्यासाच्युसेट्स राज्यको फक्सबरोमा अवस्थित बोस्टन स्टेडियम( जसलाई जिलेट स्टेडियमले पनि चिनिन्छ)मा तय गरिएका सबैखेलहरु (७ खेलहरु) सम्पन्न भएका छन्। फिफाले अमेरिकामा हुने ७८ खेलहरु मध्य ७ खेलहरु बोस्टन स्टेडियममा खेलाएको थियो।