नेपाल

गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘हेलो सरकार’को अवलोकन

गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउन ‘हेलो सरकार’को अवलोकन


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ तथा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत सञ्चालित ‘हेलो सरकार’ शाखाको अवलोकन गर्दै नागरिकका गुनासोको समयमै सम्बोधन गर्न निर्देशन दिएका छन्।

बुधबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहसँगै हेलो सरकार शाखाको निरीक्षण गरेका मन्त्रीद्वयले गुनासो व्यवस्थापन प्रणाली, सेवा प्रवाह र गुनासो फछ्र्योटको अवस्थाबारे जानकारी लिएका थिए।

Advertisement

अवलोकनका क्रममा उनीहरूले हेलो सरकारमा आउने प्रत्येक गुनासोलाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित मन्त्रालयले समयमै सम्बोधन गर्नुपर्नेमा जोड दिए। साथै, प्रभावकारी समन्वयका साथ गुनासो फछ्र्योटलाई उच्च प्राथमिकतामा राख्न कर्मचारीलाई निर्देशन दिएका छन्।

मन्त्री श्रेष्ठ र पौडेलले हेलो सरकारमा गुनासोको सङ्ख्या बढ्दै जानुले सरकारप्रति नागरिकको विश्वास बढेको संकेत गर्ने उल्लेख गर्दै मन्त्रालयसँग सम्बन्धित गुनासा छिटो समाधान गर्न समन्वय संयन्त्रलाई थप प्रभावकारी बनाइने बताए।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार शासकीय सुधारसम्बन्धी सरकारको सयदिने कार्यसूचीअनुसार हेलो सरकार सेवा २४सै घण्टा सञ्चालनमा ल्याइएको छ। बहुच्यानल प्रणाली, आधुनिक प्रविधि र सबै मन्त्रालयसँग प्रत्यक्ष समन्वय हुने एकीकृत प्रणालीमार्फत गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने काम भइरहेको छ।

यस्तै, आगामी दिनमा कृत्रिम बौद्धिकता (एआई) मा आधारित प्रणाली लागू गरी गुनासो दर्ता, सम्बन्धित निकायमा स्वचालित रूपमा पठाउने तथा सेवाग्राहीलाई प्रगतिको नियमित जानकारी दिने व्यवस्था गर्ने तयारी भइरहेको प्रधानमन्त्री कार्यालयले जनाएको छ।

प्रधानमन्त्री कार्यालयका अनुसार असार २४ गतेसम्म हेलो सरकारमार्फत १ लाख ३१ हजार ८७५ वटा गुनासा तथा उजुरी दर्ता भएका छन्। तीमध्ये करिब ७० प्रतिशत गुनासा फछर्यौट भइसकेका छन्।

त्यसैगरी, वर्तमान सरकार गठन भएको गत चैत १३ गतेयता हेलो सरकारमा दर्ता हुने गुनासा तथा उजुरी ८३८ प्रतिशतले वृद्धि भएको छ भने सोही अवधिमा गुनासा फछ्र्योटको दर ९७५ प्रतिशतले बढेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। सरकारले गुनासो व्यवस्थापनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको दाबी पनि कार्यालयले गरेको छ।