टेक्सस

अस्टिन नेपाली समुदायको नेतृत्वमा ठकुराठी

अस्टिन नेपाली समुदायको नेतृत्वमा ठकुराठी


अस्टिन (टेक्सस) — ग्रेटर अस्टिन नेपाली सोसाइटी (ग्यान्स) को २०२६ कार्यसमिति तथा बोर्ड अफ ट्रस्टी निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । अत्यन्त प्रतिस्पर्धात्मक मानिएको निर्वाचनमा निर्वाचन समितिका अनुसार करिब ९०० मत खसेको थियो ।

अध्यक्ष पदमा पदम ठकुराठी ४७७ मतसहित विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामकुमार महतोले ३४० मत प्राप्त गरे । उम्मेदवारी फिर्तासम्बन्धी विवाद र त्यसपछि निर्वाचन आयोगले गरेको निर्णयका कारण यसपटकको चुनाव समुदायमा विशेष चासो र बहसको विषय बनेको थियो ।

Advertisement

वरिष्ठ उपाध्यक्ष पदमा अशोक कुमार शाही ४२१ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी विनोद कुमार साहले ३८९ मत प्राप्त गरे । महिला उपाध्यक्ष पदमा सपना राउत ४२७ मतसहित विजयी भइन् । प्रतिस्पर्धी ज्ञानु कुमारी कोइरालाले ३८० मत प्राप्त गरिन् ।

उपाध्यक्ष पदमा धिरेन्द्र कुमार यादव ४१७ मतसहित निर्वाचित भए भने बोधराज घिमिरेले ३९८ मत प्राप्त गरे । महासचिव पदमा सूर्य कार्की ४४५ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी विष्णु पहाडीले ३६३ मत प्राप्त गरे ।

सचिव पदमा प्रिन्स भट्ट (बसन्त राज) निर्वाचित भए भने कोषाध्यक्ष पदमा नारायण प्रसाद रिजाल विजयी भए ।

सदस्य पदमा दीपक हुमागाईं, एलिजा थापा–पौडेल, बिनम आचार्य र प्रदीप कुमार भडेल निर्वाचित भएका छन् । निर्वाचन समितिका अनुसार सदस्यतर्फ २९ मत बदर भएका थिए ।

त्यसैगरी बोर्ड अफ ट्रस्टीतर्फ प्रमुख (चेयर) पदमा देवराज न्यौपाने निर्विरोध निर्वाचित भए भने उपप्रमुख (भाइस चेयर) पदमा निरोज मानन्धर निर्विरोध चयन भए ।

ट्रस्टी सदस्य पदमा हर्षबहादुर नाकर्मी, रोशन गोसाई, सुरज अधिकारी, सूर्यनारायण साह, टिकामाया गुरुङ र वर्षा गौतम निर्वाचित भएका छन् । ट्रस्टीतर्फ ३४ मत बदर भएको निर्वाचन समितिले जनाएको छ ।

यसपटकको निर्वाचनलाई गान्सको इतिहासकै सबैभन्दा चर्चित र प्रतिस्पर्धात्मक चुनावका रूपमा हेरिएको थियो । पशुपतिनाथ मन्दिर निर्माणपछि संस्थाको प्रभाव र गतिविधि विस्तार भएसँगै नेतृत्व चयनलाई लिएर समुदायमा व्यापक चासो देखिएको थियो ।

यस निर्वाचनले गान्सभित्र नयाँ नेतृत्व मात्र होइन, नयाँ अपेक्षा पनि जन्माएको छ । पछिल्ला केही वर्षदेखि सामाजिक सञ्जालमा देखिएका आरोप–प्रत्यारोप, व्यक्तिगत टिप्पणी, समूहगत विभाजन र फेसबुक वारले समुदायलाई थकित बनाएको अनुभव धेरै सदस्यहरूले खुला रूपमा व्यक्त गर्दै आएका थिए । चुनावी प्रतिस्पर्धाका क्रममा पनि त्यस्ता गतिविधि पूर्ण रूपमा रोकिएनन् ।

अब अध्यक्षमा निर्वाचित ठकुराठी नेतृत्वको नयाँ कार्यसमितिसामु सबैभन्दा ठूलो चुनौती चुनाव जित्नु मात्र होइन, विभाजित मनहरूलाई जोड्नु पनि हुनेछ । समुदायभित्र अझै धेरै काम बाँकी छन् , मन्दिर व्यवस्थापनलाई संस्थागत रूपमा अझ व्यवस्थित बनाउने, युवापुस्तालाई जोड्ने, आर्थिक र प्रशासनिक संरचनालाई सुदृढ बनाउने तथा ग्यान्सलाई सबैको साझा संस्थाका रूपमा स्थापित गर्ने जिम्मेवारी नयाँ नेतृत्वमाथि आएको छ ।

‘चुनाव सकियो, अब समुदाय जित्नुपर्छ’ एक ट्रस्टी सदस्यले हिमालय खबरसँग प्रतिक्रिया दिँदै भने ।