हाम्रो अवस्था, हाम्रो अपेक्षा

हाम्रो अवस्था, हाम्रो अपेक्षा

विशेष सम्पादकीय


अमेरिका सहित विश्वभर रहेका नेपाली समुदायका विषयलाई प्राथमिकतामा राखेर समाचार तथा सूचना प्रवाह गर्दै आएको हिमालयखबर १६ वर्षमा प्रवेश गरेको छ। यो अवधिमा आर्थिक तथा अन्य धेरै चुनौतीका कारण हामी पूर्ण रूपमा संस्थागत हुन नसके पनि नेपाली समुदायका आवाज उठाउने दायित्वबाट कहिल्यै पछि परेका छैनौँ।

नेपालबाट दैनिक रूपमा ठूलो संख्यामा नेपाली युवा विदेशतिर लागिरहेका छन्। यो देशप्रति माया नभएर होइन, देशमा केही गर्ने चाहना नभएर पनि होइन। जीवनयापनका लागि आवश्यक आम्दानी तथा आर्थिक अवसरको अभावले युवाहरू विदेशिन बाध्य भइरहेका छन्। सरकारले अर्थतन्त्रका धेरै तथ्यांक प्रस्तुत गरे पनि, जबसम्म युवाहरूको विदेशिने क्रम रोकिँदैन, तबसम्म देशको आर्थिक सुधार भएको मान्न सकिँदैन।

Advertisement

देशमा व्यवसायभन्दा विचौलियाको प्रभाव बढेको थियो, दलाल अर्थतन्त्रले जरा गाडिसकेको थियो। यस्तो अवस्थालाई तोड्न नसके देश अगाडि बढ्ने सम्भावना न्यून थियो। युवाहरूमा व्यापक निराशा थियो। यही कारणले युवाहरू परिवर्तनका लागि सडकमा उत्रिए। आम नेपाली नागरिकले नयाँ शक्तिलाई नयाँ ढङ्गले काम गर्ने अपेक्षासहित मत दिए। यस परिवर्तनमा हाम्रो पनि समर्थन थियो। गत चुनावमा बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टीलाई समर्थन जुटाउन विदेशमा बस्ने नेपालीहरूको भूमिका उल्लेखनीय रह्यो। विदेशमा रहे पनि घर–परिवारसँग मत मागेर वा सामाजिक सञ्जालमार्फत नेपालीहरू निकै सक्रिय थिए।

देशमा परिवर्तन हुनैपर्छ, भ्रष्टाचार रोकिनुपर्छ, युवाले देशमै काम पाउनुपर्छ। युवाले देशमै उद्योग, व्यवसाय र कृषि क्षेत्रमा जम्न सक्नुपर्छ। यसका लागि सरकारले नयाँ सोच र नयाँ कार्यशैली अपनाउनुपर्छ। भारी बहुमतसहित आएको यो सरकार असफल नहोस् भन्ने पक्षमा हामी छौँ। सरकार बनेको एक सय दिन पनि भइसकेको छैन, त्यसैले अहिले नै मूल्यांकन गर्नु उचित हुँदैन। तर, सरकारका कामप्रति हाम्रो चासो अवश्य छ, र प्रश्न उठाउनुपर्ने ठाउँमा हामी नहिचकिचाई प्रश्न उठाउनेछौँ।

नयाँ सरकारले विदेशमा बस्ने नेपालीका लागि सार्वजनिक गरेको नागरिकता सम्बन्धी विधेयकले भने विदेशस्थित नेपाली समुदायमा राम्रो संकेत दिन सकेन। अहिले यो विधेयक फिर्ता लिइएको छ। हामी आशावादी छौँ—नेपाली नागरिकताको निरन्तरता सुनिश्चित हुने गरी उदार सोचसहित पुनः संशोधित विधेयक आउनेछ। यसका लागि हामी विदेशमा बस्ने नेपालीहरूको आवाज बनेर निरन्तर बोलिरहनेछौँ।

आज विश्वभरका मिडियाले विभिन्न चुनौतीहरू सामना गरिरहेका छन्। हामी पनि यसबाट अछुतो छैनौँ। हिमालयखबरलाई सबैको साझा मञ्चका रूपमा विकास गर्न चाहन्छौँ। विदेश वा स्वदेश जहाँ भए पनि तपाईंहरूले यसलाई साझा प्लेटफर्मका रूपमा उपयोग गर्न सक्नुहुन्छ। समाचार–सूचना पठाएर, विज्ञापन तथा आर्थिक सहयोग उपलब्ध गराएर, लेख–रचना पठाएर, तपाईंहरूले हामीलाई सहयोग गर्न सक्नुहुन्छ। १६औँ वर्ष प्रवेशका अवसरमा हामी पनि पहिलेभन्दा अझ सक्रिय हुने प्रयासमा छौँ।

अन्त्यमा, हिमालयखबरसँग विभिन्न रूपमा आवद्ध सबै पाठक, शुभेच्छुक तथा सहयोगीहरूलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छौँ। आगामी दिनहरूमा पनि तपाईंहरू हाम्रो साथमा रहिरहनुहुनेछ भन्ने विश्वास छ।