युवाहरूको समूह जेन जीले सोमबार काठमाडौंको माईतिघरमा आयोजना गर्न लागेको प्रदर्शनलाई विदेशमा बस्ने नेपालीहरूले पनि व्यापक समर्थन जनाएका छन्। सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्ध र भ्रष्टाचारको विरोधस्वरूप २८ वर्षभन्दा कम उमेरका युवाले यो प्रदर्शन गर्न लागेका हुन्। सामाजिक सञ्जालमार्फत आव्हान गरेपछि उनीहरू प्रदर्शनको तयारीमा छन्।

विदेशमा बस्ने नेपालीहरूले पनि सामाजिक सञ्जालमार्फत समर्थन जनाउँदै शेयर र प्रचार गरिरहेका छन्। टेक्सासमा बस्दै आएका एक युवाले भने, “नेपालमा रहेका आफ्ना आफन्त र साथीभाइलाई पनि यस प्रदर्शनमा सहभागी हुन सुझाव दिएका छौं, उनीहरू जानेछन्।”
“हामीले देशमा परिवर्तन चाहिरहेका छौं। अहिले विदेशमा भए पनि यस्ता अभियानमा हाम्रो साथ हुनेछ। फर्किएर पनि परिवर्तन ल्याउने प्रयास गर्नेछौं,” उनले बताए।
यस युवा पुस्ताको प्रदर्शन नेपालभित्र पनि नागरिक समाज, राजनीतिक नेता, कलाकार, पत्रकार लगायतले समर्थन गरिरहेका छन्। उज्यालो अभियान का कुलमान घिसिङ, पत्रकार भुषण दाहाल, कलाकार प्रकाश सपुत, दीपक राज गिरि, निश्चल बस्नेत, काठमाडौंका मेयर बालेन शाहसहित थुप्रै व्यक्तिले यो अभियानको समर्थन जनाएका छन्।
विदेशमा बस्ने नेपाली वंशजलाई नागरिकता निरन्तरता दिनुपर्ने माग गर्दै आएको नागरिकता खोई अभियान ले पनि जेन जी को प्रदर्शन र उठिएका मुद्दालाई समर्थन गर्दै सहयोग गर्न आग्रह गरेको छ। अभियान संयोजक वासुदेव घिमिरेले भने, “विदेशमा बस्दा पनि जहाँबाट भए पनि जेन जी ले उठाएका मुद्दाहरूलाई समर्थन गर्नुहोस्।”
नेपालमा नेपो बेबीज अभियान
नेपालमा पछिल्ला हप्ताहरूमा नेपो बेबीज अभियान सामाजिक सञ्जाल हुँदै तीव्र बनेको छ। विशेषगरी युवा पुस्ताले सत्तासँग नजिक रहेका राजनीतिक नेताका छोराछोरी, व्यापारी घरानाका सन्तान, र ठूला प्रभावशाली परिवारका सदस्यहरूलाई खुला रूपमा आलोचना गर्न थालेका छन्। उनीहरूका आमा–बुबाको राजनीतिक पहुँच वा सम्पत्तिको आधारमा सजिलै जागिर, ठेक्का वा अवसर पाउने प्रवृत्तिलाई “नेपो बेबी” भन्दै उजागर गर्ने काम भइरहेको छ।
फेसबुक, टिकटक, इन्स्टाग्राम र युट्युबजस्ता प्लेटफर्महरूमा यसबारे बनाइएका भिडियो, मिम र खुलासा पोस्टहरू लाखौँ पटक शेयर भएका छन्। केही युवाले त ठूला नेताका छोराछोरीले पाएको विशेष सुविधा वा राज्यकोषबाट चलाइने जीवनशैलीसम्बन्धी विवरणहरू सार्वजनिक गरी प्रत्यक्ष प्रश्न उठाइरहेका छन्। यसरी नेपो बेबीज अभियान नेपालमा पनि केवल सामाजिक सञ्जालमै सीमित नभई व्यापक राजनीतिक चेतना र प्रणालीगत भ्रष्टाचारविरुद्धको प्रतिरोधको स्वरूप लिन थालेको छ।
जेन जी पुस्ताले यस्ता व्यक्तिहरूको जानकारी सामाजिक सञ्जालमा राख्न थालेका छन्। सत्ताधारी परिवारको व्यवहारको कारण चिया पसलदेखि सामाजिक समुहहरूमा लगातार चर्चा हुँदै आएको छ।
केही दिनअघि जुम्लामा “भल्ग राखेर” चर्चामा आएका पूर्वराजाका नाति हृदयन्द्र शाहप्रति जेन जी पुस्ताले प्रतिक्रिया जनाएका छन्। उनलाई पनि “नेपो बेबी” का रूपमा आलोचना गरिएको छ।
क्षेत्रीय र अन्तर्राष्ट्रिय युवा आन्दोलनको पृष्ठभूमि
हालै इण्डोनेसियामा भएको प्रदर्शनले दक्षिण–पूर्व एशियामा राजनीतिक चेतना र युवा सक्रियतालाई नयाँ स्वरुप दिएको छ। आर्थिक असमानता, बेरोजगारी, बढ्दो जीवन–यापन खर्च र सत्तामा रहेका विशेषाधिकार प्राप्त समूहप्रति असन्तुष्टिले देशभर प्रदर्शन चर्किएको हो। सांसदहरूलाई दिइने अत्यधिक हाउसिङ भत्ताको विरोधबाट सुरु भएको आन्दोलन विद्यार्थी, मजदूर, कलाकारदेखि सर्वसाधारणसम्म फैलिँदा राष्ट्रिय विद्रोहमा परिणत भएको छ। एक डेलिभरी ड्राइभरको मृत्युले आन्दोलनलाई झनै संवेदनशील बनायो, जसले सरकारप्रति जनविश्वासको संकट देखाएको छ।
दक्षिण एसियामा पनि युवाहरूले निरन्तर आन्दोलनमार्फत आफ्नो असन्तुष्टि प्रकट गर्दै आएका छन्। बंगलादेशमा २०२४ मा भएको July Revolution यसको स्पष्ट उदाहरण हो। ‘क्वोटा सुधार आन्दोलन’ बाट सुरु भएको विरोध आन्दोलन सरकारको अधिनायकवादी शैली र लोकतान्त्रिक मूल्यहरूमा देखिएको संकटविरुद्ध व्यापक विद्रोहमा परिणत भयो। यस क्रममा हजारौँ मानिसको मृत्यु, हजारौँ पक्राउ र व्यापक हिंसा भएको थियो।
यी घटनाले देखाउँछन् कि एशियाका युवापुस्ताहरू केवल आफ्नै देशमै होइन, क्षेत्रीय सन्दर्भमा पनि समान मागका साथ उठिरहेका छन्—पारदर्शिता, सुशासन, अवसरमा समान पहुँच र भ्रष्टाचारविरुद्धको संघर्ष। यही पृष्ठभूमिले नेपालमा जेन जी अभियान जस्ता आन्दोलनलाई थप ऊर्जा र सन्दर्भ दिएको छ।













प्रतिक्रिया