बिजनेस/ इकोनोमी

अब क्लाउड लिंक्ड राष्ट्र बन्न सक्छ: अर्थमन्त्री डा. वाग्ले

अब क्लाउड लिंक्ड राष्ट्र बन्न सक्छ: अर्थमन्त्री डा. वाग्ले

हार्भड एमआइटीको सम्मेलनमा अर्थमन्त्रीको रिमोट सम्बोधन


बस्टन (अमेरिका)- अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले नेपाललाई भुपरिवेष्ठीत राष्ट्रबाट अब क्लाउड लिंक्ड (क्लाउडबाट जोडिएको) राष्ट्रको रुपमा रुपान्तरण गर्नुपर्ने बताएका छन् । हार्भड विश्वविद्यालय तथा म्यासाचुसेट्स इन्सटिच्यूट अफ टेक्नोलोजी (एमआइटी)का विद्यार्थी संगठनले अप्रिल २४ देखी २५ सम्म आयोजना गरेको द नेपाल डिस्कोर्स २०२६ कार्यक्रममा सम्बोधनका क्रममा अर्थमन्त्री डा. वाग्ले रिमोट भिडियो मार्फत उपस्थित थिए । यो सम्मेलनमा डिजिटल प्रविधि र कृत्रिम बौद्धिकता(एआइ) र नेपालमा उद्यमशीलताको स्थिति र सम्भावनाको बारेमा नेपाल र अमेरिकाका आइटी सम्बन्धी विज्ञहरु, उद्यमी, पेशाकर्मीबीच १६ वटा फरकफरक सत्रहरुमा २ दिनसम्म छलफल गरिएको थियो ।

मुख्य बक्ता अर्थमन्त्री वाग्लेले भने, विगतमा भौगोलिक अवश्थितिका कारण भोग्नुपरेको आर्थिक सीमिततालाई डिजिटल प्रविधिले तोड्ने ऐतिहासिक अवसर हामीलाई प्राप्त भएको छ ।

Advertisement

बालेन्द्र शाहको प्रधानमन्त्रीत्वमा बनेको नयाँ सरकारले आफ्ना प्राथमिकताका १०० शासकीय सुधारका बुँदामा १०० अर्ब डलर बराबरको अर्थतन्त्रको आकार बनाइने लक्ष्य अर्थमन्त्रीले दोहोर्याए । कम्तीमा वार्षिक ७ प्रतिशतका दरले आर्थिक वृद्धिदर हासिल गरे ५ वर्षमा उक्त लक्ष्यमा पुगिने अर्थमन्त्रीको भनाइ थियो ।

विदेसमा बस्ने नेपालीहरुलाई रेमिट्यान्सको सहज स्रोतको रुपमा मात्र हेरिनु नहूने अर्थमन्त्रीले बताए । वाग्लेले अहिले नेपाल सरकारसँग रहेको २३ अर्ब डलर बराबरको विदेसी मुद्रा सञ्चितिले १८ महिनासम्म आयात धान्ने बताए । धेरै देशहरुले सामना गरिरहेको अल्पकालीन मूद्रासंकटबाट हामी सुरक्षित छौं अर्थमन्त्रीले भने, तर हामीसँग अहिले इन्टरनल स्टाग्नेशन(आन्तरिक निश्क्रियता) रहेको छ । यसलाई हटाउनका लागि नयाँ कानून, नीतिगत र शासकीय सूधारका लागि शिघ्र कदम चालिने अर्थमन्त्रीको भनाइ थियो ।

वाग्लेले प्रवासको नेपाली समूदायलाई विभिन्न छिमेकी मुलुकहरुमा जस्तै पहिले पानी जाँच गर्ने समूहका रूपमा परिभाषित गर्दै भने— उनीहरूले लगानीको लागि उपयुक्त वातावरण भएको सङ्केत दिएपछि मात्र मूलधारका वैदेशिक लगानीकर्ता आउने गर्छन्। एकपटकको नेपाली सँधैको नेपाली भन्ने नारालाई दोहोर्याउँदै वाग्लेले नेपाली विद्यार्थी, उद्यमी र पेशाकर्मीहरु हाम्रो देशका मुख्य सम्पत्ती हुन् भएको उल्लेख गरे । राष्ट्रिय स्वतन्त्र पार्टीको घोषणा पत्र बनेदेखि नैं यो डायस्पोरा मैत्री पार्टी भएको उनले दोहोर्याए ।

द नेपाल डिस्कोर्स आयोजना गर्ने भन्नेबारेमा हार्भडमा अध्ययनरत सलोमी भट्ट, हार्भडका अर्का विद्यार्थी उत्सव खरेल र लिडरसिप अकाडमी नेपालका सिइओ तथा हार्भड एलुम्नाइ डा. अरुण जोशीबीच सबैभन्दा पहिले गतवर्षको सेप्टेम्बर महिनामा सल्लाह भएको कार्यक्रममा जानकारी दिइएको थियो ।