अमेरिका समाचार

गुल्मी समाज ह्युस्टनमा नयाँ नेतृत्व

गुल्मी समाज ह्युस्टनमा नयाँ नेतृत्व

रामकृष्ण सापकोटाको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति घोषणा


शेयर गर्नुहोस:

729
Shares

  • change font
  • change font

टेक्ससको ह्युस्टनस्थित नेपालीहरुको संस्था गुल्मी समाज, ह्युस्टनले नयाँ नेतृत्व पाएको छ। नेपालमा गुल्मी जिल्ला घर भएका र हाल ह्युस्टनमा बसोबास गरिरहेका नेपालीहरुको संस्थाको गत आइतवार सम्पन्न गुल्मेली भेलाबाट रामकृष्ण सापकोटाको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो। 

Advertisement

यस अघि लक्ष्मण भण्डारी अध्यक्ष रहेको कार्यसमितिमा उपाध्यक्ष रहेका सापकोटा अहिले अध्यक्ष भएका हुन्। सर्वसम्मत निर्वाचित कार्यसमितिमा निवर्तमान अध्यक्ष लक्ष्मण भण्डारी सहित उपाध्यक्षमा हरि न्यौपाने, सचिवमा चिन्तामणि खरेल, सहसचिवमा किरण न्यौपाने र कोषाध्यक्षमा विराज घर्तीमगर चुनिएका छन्। यसैगरी सदस्यहरुमा राजु थापा, यूवी न्यौपाने, सन्देश कार्की, सुमन थापा, पवित्रा अर्याल, शैलजा श्रेष्ठ र टीका खरेल सर्वसम्मत भएका छन्। 

द्रोण गौतमको संयोजकत्वमा बाबुराम ज्ञवाली र नारायण अर्यालको तीन सदस्यीय निर्वाचन समितिले भेलामा उपस्थित सदस्यहरु मध्येबाट पधाधिकारी र सदस्यहरु सर्वसम्मत चयन भएको घोषणा गरेको थियो। 

गुल्मी समाजले आफ्ना सदस्यहरुका लागि आयोजना गरेको सार्वजनिक भेला एवं बनभोज कार्यक्रममा ह्युस्टनका सामाजिक संस्थाका प्रतिनिधि एवं नेपाली समाजमा सक्रिय व्यक्तित्वहरु समेत निम्त्याइएको थियो। भेलामा अध्यक्ष लक्ष्मण भण्डारीले संस्थाको कार्य प्रगतिका साथै आर्थिक विवरण समेत प्रस्तुत गरेका थिए।

गुल्मी समाजको भेलामा नेप्लिज एसोसिएशन अफ ह्युस्टनका अध्यक्ष ज्ञानेश्वर श्रेष्ठ, क्रियटिभ नेप्लिज सोसाइटीका पूर्व अध्यक्ष उमापती भुसाल, अमेरिका भ्रमणमा रहेका नेपाली टेलिभिजन पत्रकार एवं एम्नेष्टी इन्टरनेशनल नेपालका पूर्व अध्यक्ष राजन कुईंकेल लगायतको उपस्थिति रहेको थियो।  

स्वयंसेवी प्रकृतिका र प्रवासको नेपाली समुदायलाई सेवा दिन भनेर स्थापना भएका कैयन सामाजिक संस्थाहरुमा देखिने गरेको विवाद, आपसी मनमुटाव र नेतृत्वमा जान हुने हानाथाप बिना नै गुल्मी समाजको भेलाले चुनेको नयाँ नेतृत्वले ह्युस्टनको नेपाली समुदायका लागि अन्य संघसंस्थाहरुसंग मिलेर काम गर्ने अपेक्षा गरिएको छ।

तस्बिरः ग्रिश चौधरी, ग्रिश फोटोग्राफी