ललितपुर, नेपाल । २०८२ सालको अन्तिम सप्ताह , वर्षान्तको मौसम , शनिबार साँझ अनि ऐतिहासिक पाटन म्युजियम भित्रको सुन्दर परिसर – कवि , गजलकार र गायकहरुको रमाइलो प्रस्तुति ।
ललितपुर महानगरपालिका वडा नम्बर १६ र शुभारम्भ दि म्युजिकल जर्नीले आयोजना गरेको काव्य सन्ध्यामा भेला भएका कवि , गजलकार र गायकहरुले कार्यक्रमलाई काव्यिक र सांगीतिक मनोरञ्जन दिए ।

वर्षान्त काव्य सन्ध्याको मूख्य आकर्षण दर्जनौं कालजयी गीतका सर्जक एवम् कवि नगेन्द्र थापा हुनुहुन्थ्यो । साहित्य र संगीतका पारखी दर्शक श्रोता उपस्थित उक्त कार्यक्रममा कविहरु रामगोपाल आशुतोष , वसन्त नकर्मी , धेनु लक्ष्मी सिंह , डा. कमल थापा र सुनी सिंहले कविता वाचन गरेका थिए । सो काव्यशालाको अध्यक्षता वरिष्ठ गीतकार नगेन्द्र थापाले गर्नु भएको थियो ।
त्यसैगरी गजलकार एवम् प्राध्यापक सनत कुमार वस्तीले संयोजन गरेको अर्को काव्यिक सत्रमा गजलकारहरु इम्तियाज वफा , बिटु केसी , ध्रुव जोशी , मुमताज अन्जुम र स्वयं सनत वस्तीले गजलमय माहोल बनाएका थिए । दर्शकहरुले वाह वाह र तालीले गजलकारहरुको सम्मान गरेका थिए ।

चैत महिनाको अन्त्यतिर भएर पनि साँझ छिप्पिदैं जाँदा चिसो बढ्दै थियो । तर गायकहरुले मौसमलाई संगीतको रापले तताए ।
सुमन शेखर मानन्धर , सत्यनारायण मानन्धर , प्रविण बराइली , एन्जेला श्रेष्ठ , रश्मी अमात्य र रोजी श्रेष्ठले गीत प्रस्तुत गरेका थिए ।

काव्य सन्ध्याको कुशल संयोजन वरिष्ठ साहित्यकार , संचारकर्मी एवम् चलचित्र निर्देशक प्रकाश सायमीले गरेका थिए ।
कार्यक्रममा उपस्थितहरुको स्वागत र सहभागी कवि र गजलकारहरुलाई सम्मानपत्र प्रदान वडा नम्बर १६ का अध्यक्ष निर्मलरत्न शाक्यले गरे भने धन्यवाद ज्ञापन गायक शैलेश सिंहले गरेका थिए ।
ललितपुर महानगरपालिका वडा नम्बर १६ ले साहित्य र संस्कृति एवम् सांस्कृतिक उन्नयनमा देखाएको सक्रियताप्रति दर्शक श्रोताले खुशी व्यक्त गरेका थिए ।














प्रतिक्रिया