बिश्व घटना

अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि इरानका तीन शर्त

अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि इरानका तीन शर्त


शेयर गर्नुहोस:

1.6k
Shares

  • change font
  • change font
  • change font

तेहरान । अमेरिका र इजरायलसँग जारी युद्ध अन्त्यका लागि इरानले तीन प्रमुख सर्त अघि सारेको छ । युद्ध तेह्रौँ दिनमा प्रवेश गर्दै गर्दा तेहरानले आफ्नो अधिकारको अन्तर्राष्ट्रिय मान्यता, युद्धको क्षतिपूर्ति र भविष्यमा आक्रमण नहुने सुनिश्चितता (ग्यारेन्टी) नभएसम्म सङ्घर्ष नरोकिने स्पष्ट पारेको छ ।

इरानी राष्ट्रपति मसुद पेजेस्कियानले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रुस र पाकिस्तानका नेताहरूसँगको संवादपछि शान्तिप्रतिको आफ्नो प्रतिबद्धता दोहोर्‍याएका छन् । उनका अनुसार ‘यहुदी शासन र अमेरिकाले भड्काएको’ यो युद्ध रोक्ने एक मात्र विकल्प भनेको इरानको वैध अधिकारलाई अन्तर्राष्ट्रिय रूपमा स्वीकार गर्नु, युद्धबाट भएको क्षतिको क्षतिपूर्ति दिनु र भविष्यमा इरानमाथि कुनै प्रकारको आक्रमण नहुने कडा अन्तर्राष्ट्रिय ग्यारेन्टी प्रदान गर्नु हो ।

Advertisement

गत फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि संयुक्त हवाई आक्रमण गरेपछि यो युद्ध भड्किएको हो । उक्त आक्रमणमा इरानका सर्वोच्च नेता अयातुल्ला सैयद अली खामेनी, उच्च सैन्य कमान्डरहरू र सर्वसाधारणको मृत्यु भएको थियो । त्यसलगत्तै इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स (आइआरजीसी) ले इजरायल र अमेरिकी अखडाहरूलाई लक्षित गर्दै भीषण प्रतिआक्रमण सुरु गरेको थियो ।

संयुक्त राष्ट्रसङ्घका लागि इरानका स्थायी प्रतिनिधि अमिर–सइद इरवानीका अनुसार फेब्रुअरी २८ यता अमेरिकी र इजरायली सैन्य कारबाहीमा परी महिला तथा बालबालिकासहित कम्तीमा एक हजार तीन सय ४८ सर्वसाधारणको ज्यान गइसकेको छ भने १७ हजारभन्दा बढी घाइते भएका छन् ।

यसैबीच, संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद् (यूएनएससी) ले खाडी सहयोग परिषद् (जिसिसी) सम्बद्ध राष्ट्रहरू र जोर्डनमाथि इरानले गरेको आक्रमणको कडा निन्दा गर्दै एक प्रस्ताव पारित गरेको छ । बहराइनको नेतृत्व र भारतसहित १३० भन्दा बढी देशको सह–प्रायोजन रहेको उक्त प्रस्ताव १५ सदस्यीय परिषद्मा १३–० मतले पारित भएको हो । मतदानमा चीन र रुस भने अनुपस्थित रहे ।

प्रस्तावमा इरानको कदमलाई अन्तर्राष्ट्रिय कानुनको ठाडो उल्लङ्घन ठहर गर्दै होर्मुज जलडमरूमध्य बन्द गर्ने इरानी चेतावनीप्रति गम्भीर चिन्ता व्यक्त गरिएको छ ।

युद्धको राप समुद्री मार्गसम्म फैलिएको छ । इराकको सुरक्षा मिडिया सेलका प्रमुख साद मानका अनुसार इराकको तट नजिकै दुईवटा तेल ट्याङ्करमा आक्रमण भएको छ । घटनामा ३८ जना चालक दलका सदस्यको सकुशल उद्धार गरिएको छ भने एक जनाको मृत्यु भएको छ । इरानको राज्य सञ्चारमाध्यम प्रेस टिभीले सार्वजनिक गरेको भिडियोमा पर्सियन खाडी र होर्मुज क्षेत्रमा इरानी सुरक्षा बलका स्पिडबोटहरूले कडा निगरानी गरिरहेको देखिन्छ । जलडमरूमध्य बन्द गर्ने चेतावनी र ट्याङ्करमाथिको आक्रमणले विश्व ऊर्जा आपूर्ति शृङ्खला प्रभावित भई अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ ।

उता, इरानको आइआरजीसीले ‘अपरेसन ट्रु प्रोमिस–४’ को ४०औँ चरण सुरु गरेको घोषणा गरेको छ । इरानी समाचार एजेन्सी मेहरका अनुसार यसअन्तर्गत ‘गदर’, ‘इमाद’, ‘खेबर शेकान’ र ‘फताह’ जस्ता क्षेप्यास्त्रहरू प्रयोग गरी अमेरिकी सैन्य आधार, तेल अभिभ र हाइफा क्षेत्रमा प्रहार गरिएको छ ।

अमेरिकी अखबार न्युयोर्क टाइम्सले इरानको प्रतिआक्रमणबाट पश्चिम एसियामा रहेका कम्तीमा १७ वटा अमेरिकी सैन्य आधार तथा अन्य संरचनामा ठूलो क्षति पुगेको दाबी गरेको छ । स्याटेलाइट तस्बिर र अधिकारीहरूको भनाइ उद्धृत गर्दै गरिएको रिपोर्टअनुसार बहराइन, जोर्डन, कतार, कुवेत, युएई र साउदी अरेबियामा रहेका अमेरिकी आधारहरू निशानामा परेका छन् । जसमा सबैभन्दा महँगो मानिने अमेरिकी ‘थाड’ मिसाइल रक्षा प्रणालीका रडारहरू ध्वस्त भएका छन् । साथै, विभिन्न देशमा रहेका अमेरिकी कूटनीतिक नियोगमा समेत आक्रमण भएको छ ।

यस चरम तनाव र क्षतिका बीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले युद्ध जितेको दाबी गरेका छन् । यद्यपि, उनले मिसन पूर्ण रूपमा सम्पन्न नभएसम्म अमेरिकी सेना पश्चिम एसियामै तैनाथ रहने स्पष्ट पारेका छन् । एएनआई

शेयर गर्नुहोस:

1.6k
Shares