मुख्य समाचार

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह

वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बढ्दो वायु प्रदूषणबाट बच्न सतर्कता अपनाउन सबैमा आग्रह गरेको छ।

मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा बढेकाले यसबाट जोगिन सावधानी अपनाउन आग्रह गरेका हुन्। वायु प्रदूषणका कारण मुटु, रक्तनली, फोक्सो, दम, क्यान्सर, आँखा तथा मिर्गौलालगायतका अंगमा गम्भीर समस्या देखिन सक्ने भएकाले विशेष सचेत रहन उनले अनुरोध गरेका छन्।

Advertisement

मन्त्रालयका अनुसार वायु प्रदूषणले दीर्घरोगी र गर्भवती महिलालाई समेत बढी असर गर्ने भएकाले यस्ता समूहलाई सकभर घरबाहिर ननिस्कन सुझाव दिइएको छ। साथै, बालबालिका, ज्येष्ठ नागरिक एवं दम र खोकीजस्ता श्वासप्रश्वाससम्बन्धी समस्या भएका व्यक्तिहरूलाई वायु प्रदूषणले बढी जोखिममा पार्ने भएकाले विशेष सावधानी अपनाउन मन्त्रालयले आग्रह गरेको छ।

मन्त्रालयले सबैलाई बिहान र बेलुका बाहिर ननिस्कन र निस्कनै परे मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ। प्रवक्ता बुढाथोकीका अनुसार पुराना सवारीसाधनबाट निस्कने धुवाँ, वन डढेलो, उद्योगधन्दा र निर्माणजन्य कार्यबाट उड्ने धुलोका कारण वायु प्रदूषणको स्तर बढेको हो।

मन्त्रालयले काठमाडौँ उपत्यकामा अझै एक हप्तासम्म प्रदूषण कायमै रहने अनुमान गरेको छ। वायु प्रदूषणका कारण हाल काठमाडौँ उपत्यकाको आकाश धुम्म छ र घाम लाग्न सकेको छैन।

वातावरण विभागका अनुसार मौसमी प्रतिकूलताका कारण केही दिनयता देशका विभिन्न भागमा प्रदूषणको स्तर बढिरहेको छ। विशेषगरी काठमाडौँ र पोखरालगायत देशका ठूला सहरहरूमा हावामा मसिना कणहरूको मात्रा बढेको विभागले जनाएको छ।

शेयर गर्नुहोस:

108
Shares