दुबई । इरानविरुद्ध संयुक्त राज्य अमेरिका र इजरायलले शनिबार सैन्य आक्रमण सुरु गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी जनतालाई ‘आफ्नो सरकार लिन’ अपिल गरेका छन्। राजधानी तेहरानमा सर्वोच्च नेता अयातुल्ला अली खामेनीको कार्यालय नजिकै पहिलो स्पष्ट आक्रमण भएको रिपोर्ट आएको छ । त्यसपछि सहरका विभिन्न भागबाट धुवाँ उठेको देखिएको छ ।
राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा सार्वजनिक गरेको भिडियो सन्देशमा अमेरिकाले ‘इरानमा प्रमुख लडाइँ अपरेसनहरू’ सुरु गरेको बताए। उनले इरानले आणविक कार्यक्रम विस्तार गर्दै अमेरिकासम्म पुग्न सक्ने क्षेप्यास्त्र विकासको योजना बनाएको दाबी गरे। यसैबीच, ८६ वर्षीय खामेनी आक्रमणका बेला कार्यालयमा थिए कि थिएनन् भन्ने स्पष्ट भएको छैन । अमेरिकासँग बढ्दो तनावका कारण उनी केही दिनयता सार्वजनिक रूपमा देखिएका थिएनन् ।
आक्रमण अमेरिकाले इरानमाथि आणविक सम्झौताका लागि दबाब बढाउँदै क्षेत्रमा लडाकू जेट र युद्धपोतहरू तैनाथ गरिरहेको अवस्थामा भएको हो । इजरायली अभियानमा इरानी सेना, सरकारी प्रतीक तथा गुप्तचर संरचनाहरू लक्षित गरिएको एक अधिकारीले नाम नखुलाउने सर्तमा बताएका छन् ।
तेहरानमा खामेनीको कम्पाउन्ड जाने सडकहरू बन्द गरिएका छन् भने राजधानीभर अन्य विस्फोटका आवाज सुनिएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । इरानी राज्य टेलिभिजनले विस्फोटको पुष्टि गरे पनि विस्तृत विवरण दिएको छैन । इरानले आफ्नो हवाई क्षेत्र बन्द गरेको छ र मोबाइल सेवा पनि अवरुद्ध गरिएको छ । छिमेकी इराकले पनि हवाई क्षेत्र बन्द गरेको यातायात मन्त्रालयले जनाएको छ ।
इजरायलभर साइरन बजाइएको छ र सम्भावित क्षेप्यास्त्र प्रहारका लागि जनतालाई सतर्क रहन चेतावनी दिइएको छ । इजरायलका अस्पतालहरूले आकस्मिक प्रोटोकल लागू गर्दै बिरामी र शल्यक्रियालाई भूमिगत सुविधामा सार्ने तयारी गरेका छन् । इजरायलले आफ्नो हवाई क्षेत्र पनि बन्द गरेको जनाएको छ ।
इरानले तत्काल प्रतिआक्रमण गर्नेबारे स्पष्ट गरेको छैन, तर क्षेत्रभर रहेका अमेरिकी सैन्य अड्डा र कर्मचारीहरू सम्भावित जवाफी कारबाहीको लक्ष्य बन्न सक्ने चेतावनी दिएको छ । इजरायली रक्षामन्त्री इजरायल काट्जले आक्रमण ‘धम्की हटाउने’ उद्देश्यले गरिएको बताएका छन्, यद्यपि विस्तृत विवरण सार्वजनिक गरिएको छैन ।
अहिलेसम्म हताहतबारे आधिकारिक जानकारी आएको छैन । घटनाक्रमले मध्यपूर्वमा थप सैन्य टकरावको जोखिम बढाएको विश्लेषण गरिएको छ । एपी












प्रतिक्रिया