मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

संविधान कार्यान्वयनको समीक्षा गर्दै परिमार्जन गर्ने नेकपाको उद्घोष

संविधान कार्यान्वयनको समीक्षा गर्दै परिमार्जन गर्ने नेकपाको उद्घोष


शेयर गर्नुहोस:

54
Shares

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले संविधान कार्यान्वयनको समीक्षा एवं पुनरावलोकन गरी शासकीय स्वरूप, निर्वाचन प्रणालीलगायत विभिन्न विषय परिमार्जन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

निर्वाचनको सम्मुखमा आज अपिल जारी गर्दै नेकपाले उच्चस्तरीय सम्पत्ति छानबिन आयोग गठन गरेर आजसम्म सार्वजनिक पद धारणा गरेका व्यक्तिको सम्पत्ति छानबिन गरिने दृढता व्यक्त गरेको छ ।

Advertisement

भ्रष्टाचार गरेर आर्जन गरेको सम्पत्ति राष्ट्रियकरण गर्ने नेकपाले प्रतिबद्धता व्यक्त गरेको छ । भ्रष्टाचारमा शून्य सहनशीलतासहितको सुशासन, पूर्णपारदर्शीता, शक्ति पृथकीकरणको सिद्धान्तअनुरूप राज्यका सबै अङ्गको सञ्चालन र सङ्घीयताको मर्मअनुरूप जनताको घरदैलोमै प्रभावकारी सेवा प्रदान गर्ने नेकपाको प्रतिबद्धता छ । नेकपाले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षाका निम्ति त्यही दृढताका साथ उभिने प्रतिबद्धता जाहेर गरेको छ ।

‘नेपाली जनताले लामो बलिदानी सङ्घर्ष गरेर स्थापना गरेको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक प्रणालीविरुद्धका सबै षड्यन्त्रलाई परास्त गर्दै यसलाई सुदृढ र सुस्थिर बनाउँदै समाजवादी लोकतन्त्रको रूपमा विकास गर्न चाहन्छौँ’, नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र सहसंयोजक माधवकुमार नेपालद्वारा संयुक्त रुपमा जारी अपिलमा भनिएको छ ।

नेकपाले जातीय छुवाछूत तथा छाउपडीजस्ता कुरीति र अन्धविश्वास, विभेदकारी व्यवहार, असमानता, उत्पीडन, कुरीति र अन्धविश्वासको अन्त्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

गरिबी र बेरोजगारी समस्या समाधान गर्न कृषि उत्पादनमा वृद्धि, स्वदेशी कच्चा पदार्थमा आधारित उद्योगधन्दाको विकास, औद्योगिक उत्पादनमा वृद्धि, ऊर्जा उत्पादनमा वृद्धि, व्यापार प्रवर्द्धन तथा पर्यटन उद्योगको विकास र पर्यटन आगमनमा वृद्धि गर्न विशेष योजना बनाएर कार्यान्वयन गरिने अपिलमा उल्लेख छ ।

‘राज्यकोष बलियो बनाउन प्रगतिशील कर लगाइनेछ, वित्तीय क्षेत्रमा नीतिगत र संरचनागत सुधार गरिनेछ । गरिबीको अन्त्य गर्न लक्षित वर्ग र समुदायकेन्द्रित कार्यक्रम सञ्चालन गरिनेछ’, अपिलमा भनिएको छ, ‘प्राकृतिक सम्पदा र वातावरणको संरक्षण गर्दै दिगो विकासका लागि प्राकृतिक स्रोतको सदुपयोग गरिनेछ । विकासका योजना निर्माण गर्दा विपद्जन्य जोखिम र त्यसको व्यवस्थापनमा ध्यान दिने नीति अवलम्बन गरिनेछ ।’

नेपाली समाजमा व्यापक रूपमा आर्थिक–सामाजिक रूपान्तरणका अभियान सञ्चालन गरेर समाजवादको आधार निर्माण गरिने नेकपाको उद्घोष छ । नेकपाले नेपालसँग भएका असमान सन्धि–सम्झौता खारेज गर्न र नेपालको अतिक्रमित भूमि फिर्ता गर्न प्रतिबद्ध रहेको स्पष्ट पारेको छ ।

मुलुकको राजनीतिक परिवर्तनको नेतृत्वदायी भूमिका खेलेको उल्लेख गर्दै नेकपाले विगतका कमजोरी सच्याउँदै मुलुक र जनताको अवस्था बदल्ने संकल्प गरेको छ ।

‘जसरी व्यवस्था बदल्यौँ, त्यसैगरी अवस्था पनि बदल्नेछौँ । यो हाम्रो दृढ प्रतिज्ञा हो’, अपिलमा भनिएको छ, ‘विगतमा हाम्रा पनि कतिपय कमी–कमजोरी भएका होलान् । त्यसमा हामी आत्मालोचित छौँ र कमी–कमजोरीलाई सच्याएर अघि बढ्न प्रतिबद्ध छौँ ।’

शेयर गर्नुहोस:

54
Shares