काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनलाई प्रभावित पार्ने गतिविधिमा संलग्न रहेको आशंकामा सुरक्षा निकायले देशका विभिन्न स्थानबाट ४२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। तीमध्ये हाल १४ जना मात्रै हिरासतमा रहेको र अन्यलाई कानुनी प्रक्रिया तथा आवश्यक सम्झाइ बुझाइपछि रिहा गरिएको प्रहरीले जानकारी दिएको छ।
नेपाल प्रहरी का अनुसार केही व्यक्तिलाई अदालतको आदेशका आधारमा समेत छाडिएको छ। सो क्रममा ‘नागरिक बचाउ महाअभियान’ का संयोजक दुर्गा प्रसाईँ बुधबार अदालतको आदेशपछि मुक्त भएका थिए भने ऋषि कट्टेल पनि मंगलबार अदालतको आदेशबाट रिहा भएका थिए।
हाल हिरासतमा रहेका व्यक्तिहरूमा धर्मेन्द्र बाँस्तोला र विष्णु तिमल्सिनासहित विभिन्न जिल्लाका केही अन्य व्यक्तिहरू रहेका छन्। तनहुँ, कास्की, कपिलवस्तु लगायत क्षेत्रका केही अभियुक्तलाई सम्बन्धित प्रहरी कार्यालयमा राखिएको जनाइएको छ। दुर्गा प्रसाईँ पक्राउ परेपछि भएको विरोध प्रदर्शनमा संलग्न केही व्यक्तिलाई रुपन्देहीस्थित इलाका प्रहरी कार्यालय बुटवलमा राखिएको सुरक्षा स्रोतले जनाएको छ।
सुरक्षा निकायको विश्लेषणअनुसार हाल करिब १२ वटा समूहले निर्वाचन बहिष्कार वा अवरोध गर्ने गतिविधि गर्न सक्ने सम्भावना रहेको आकलन गरिएको छ। कम्युनिस्ट विचारधारा सम्बद्ध समूहदेखि राजावादी धारसम्मका विभिन्न समूहबाट सुरक्षा चुनौती उत्पन्न हुन सक्ने निष्कर्ष निकालिएको छ। प्रसाईँ नेतृत्वको समूहसँग सम्बन्धित भनिएका संरचनासमेत निगरानीमा राखिएको बताइएको छ।
यसैगरी शाही विचारधारा सम्बद्ध केही व्यक्तिहरू, सीपी गजुरेल नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, विश्वभक्त दुलाल नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी लगायत अन्य साना राजनीतिक तथा पहिचान सम्बद्ध समूहहरूलाई पनि सम्भावित सुरक्षा चुनौतीका रूपमा सूचीकृत गरिएको छ।
निर्वाचन अवधिमा शान्ति-सुरक्षा कायम राख्न सुरक्षा संयन्त्रले निगरानी, समन्वय र आवश्यक कानुनी कारबाहीलाई निरन्तरता दिएको जनाएको छ।












प्रतिक्रिया