मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

सङ्कटका समयमा राष्ट्रिय सभाले संसद्को गरिमा जोगायो : उपाध्यक्ष घिमिरे

सङ्कटका समयमा राष्ट्रिय सभाले संसद्को गरिमा जोगायो : उपाध्यक्ष घिमिरे


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । राष्ट्रिय सभाका उपाध्यक्ष बिमला घिमिरेले आफ्नो ६ वर्षे कार्यकाल सङ्कट र उपलब्धिबीच बितेको बताएका छ । लोकतन्त्र र संविधानमाथि प्रश्न उठ्ने परिस्थितिमा समेत सभा सञ्चालन गरी संसद्को गरिमा जोगाउने काम भएको उनको भनाइ छ ।
सभा सदस्यका रूपमा चार र उपाध्यक्ष पदमा दुई वर्ष भूमिका निर्वाह गरेको घिमिरे यही फागुन २० गतेदेखि बिदा हुँदै छन् । आफ्नो कार्यअवधिको अनुभव साट्न आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले राष्ट्रियसभालाई अनुभवी र विज्ञहरूको सभाका रूपमा स्थापित गर्ने प्रयासमा नचुकेको बताए ।
उनले राष्ट्रिय सभाको भूमिका, विधेयक निर्माण प्रक्रिया र संसदीय अनुभवबारे धारणा राखे । प्रतिनिधि सभा नचलेको अवस्थामा पनि राष्ट्रियसभाले अध्यादेश स्वीकृति र विधेयक प्रक्रिया अगाडि बढाएर संसदीय निरन्तरता जोगाएको उनको भनाइ थियो ।
अनुभव साट्ने क्रममा उनले कोभिड महामारीका कारण प्रारम्भिक दुई वर्ष संसदीय अभ्यास प्रभावित भएको उल्लेख गर्दै निर्वाचित भएर आएपछि संसद् नियमित रूपमा चल्न नपाउँदा अभ्यासमा परेको असरसमेत स्मरण गरे । उपाध्यक्ष घिमिरेले आफ्नो कार्यकालमा राष्ट्रियसभामा ३८ भन्दा बढी विधेयक दर्ता हुनु महत्त्वपूर्ण उपलब्धि भएको जानकारी दिए ।
प्रतिनिधिसभामा मात्र विधेयक केन्द्रित हुँदा प्रक्रिया ढिलो हुने भएकाले दुवै सदनमा समानान्तर दर्ता गर्ने अभ्यास सुरु गरिएको स्मरण गरे । राष्ट्रियसभाले विधेयक लामो समय नअड्काउने बाध्यकारी समयसीमा बनाएको पनि उनले बताए ।
अन्तरक्रियामा उनले मिडियाले संसदीय मर्यादाभन्दा बाहिरका चर्का अभिव्यक्तिलाई बढी प्राथमिकता दिने प्रवृत्तिले संसद्प्रति असन्तुष्टि बढेको भन्दै पत्रकारहरूलाई तथ्यगत र मर्यादित बहसको समाचार सामग्रीमा जोड दिन सुझाव दिए ।
उनले सङ्घीयता र समावेशी प्रतिनिधित्वका लागि वर्तमान संरचना उपयुक्त रहेको धारणा राखे । प्रदेशगत प्रतिनिधित्व, महिला, दलित र अपाङ्गता भएका व्यक्तिको सहभागिताले राष्ट्रिय सभालाई विशेष बनाएको उनको भनाइ थियो । प्रतिनिधिसभाबाट भएका कमजोरी सुधार गर्ने स्थानका रूपमा राष्ट्रियसभाको भूमिकाबारे चर्चा गरे ।
यस्तै, समावेशी प्रतिनिधित्वलाई व्यवहारमा सम्मान गर्नुपर्ने धारणा राख्दै उनले पूर्वसांसदहरूको अनुभव स्थानीय तहसम्म पुर्‍याउन सके कानुन निर्माणबारे जनस्तरमा बुझाइ बढ्ने रायसमेत व्यक्त गरे ।
संवैधानिक व्यवस्थाबमोजिम छ वर्ष पदावधि पूरा गरी एक तिहाइ सभा सदस्य यही फागुन २० गतेदेखि बिदाइ हुँदैछन् । आगामी फागुन २० गते १९ जना सभासदस्यको पदावधि समय सकिँदैछ । बिदा हुनेमा सांसदहरू इन्दिरा देवी गौतम, तुलसाकुमारी दहाल, देवेन्द्र दाहाल, तारामान स्वाँर, नारायणकाजी श्रेष्ठ, मायाप्रसाद शर्मा, राधेश्याम पासवान, जगप्रसाद शर्मा, सुमित्रा बिसी गङ्गाकुमारी बेलवासे, शारदा देवी भट्ट, भगवती न्यौपाने, गोपाल भट्टराई, बेदुराम भुसाल, मृगेन्द्रकुमार सिंह यादव, शेखरकुमार सिंह र गोपीबहादुर सार्की अछामी रहेका छन् ।

शेयर गर्नुहोस:

81
Shares