मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

breaking

‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)

‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र (पूर्णपाठसहित)


शेयर गर्नुहोस:

0
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गरेर ‘भिजन टेन’ नारामा आधारित नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक गरेको छ ।

पार्टीका प्रवक्ता देवराज चालिसेले पार्टीको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलनमा दिनुभएको जानकारीअनुसार मधेस प्रदेशको जनकपुरमा आयोजित प्रतिज्ञासभामा उक्त प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।

Advertisement

नेपाली कांग्रेसले सार्वजनिक गरेको प्रतिज्ञापत्रको पूर्णपाठ :

‘नेपाली कांग्रेसको ध्येयः समुन्नत नेपाल, सम्मानित नेपाली’

आदरणीय आमाबुबा, दिदीबहिनी, दाजुभाइ, जय नेपाल ।

नेपाली कांग्रेस ‘जनता जनार्दनको बलमा कोही पनि भोका, नाङ्गा वा अशिक्षित नरहने, जीवनलाई सुखी बनाउने कुनै कुराको अभाव नभएको व्यवस्था ल्याउने महान ध्येय बोकेर स्थापना भएको पार्टी हो । युग परिवर्तन भए पनि जनतालाई सम्पन्न र सम्मानित बनाउने सङ्घर्षकालीन इतिहासको त्यही लक्ष्य नै हाम्रो मूल प्रेरणा हो । परिवर्तित समयको चेतनालाई आत्मसात गरेर नयाँ सोच र युवा ऊर्जासहित परिमार्जित भएको नेपाली कांग्रेस विचारमा प्रष्ट र कार्यशैलीमा चुस्त बनेको छ ।

विगतका थुप्रै ऐतिहासिक उपलब्धिमाथि गर्व गर्दै र समस्त कमीकमजोरीको अनुभवबाट पाठ सिक्दै हामी देशको अवस्था बदल्ने र देशलाई सम्हाल्ने दृढ प्रतिज्ञाका साथ तपाईको घरदैलोमा आएका छौँ ।

आदर्श र कर्ममा आधारित हाम्रो अबको राजनीतिको एकमात्र उद्देश्य नेपाललाई समुन्नत र नेपालीलाई सम्मानित बनाउनु हुनेछ । यसका निम्ति हामीले हाम्रो परिकल्पनाको नेपाल कस्तो हुन्छ तल लिपिबद्ध गरेका छौँ । यो आगामी पाँच वर्षभित्रै हासिल हुनसक्ने लक्ष्य होइन, हामीले बनाउन चाहेको सुन्दर नेपालको तस्बिर हो । हाम्रो यो प्रतिज्ञापत्रमा प्रस्तुत गरिएका सिद्धान्त, नीति र आगामी पाँच वर्षका कार्यक्रम त्यही लक्ष्यलाई हासिल गर्ने प्रारम्भिक पाइलाहरू हुन् ।

१. सम्मानित भएर बाँच्न पाउने नेपाल

हाम्रो परिकल्पनाको लोकतान्त्रिक नेपालमा हरेक नेपालीको स्वतन्त्रता, पहिचान र स्वाभिमान सुरक्षित हुनेछ । कानुनको परिधिभित्र रही इच्छाअनुसारको काम, पैसा–व्यवसाय गर्न र स्वतन्त्रतापूर्वक जीवनयापन गर्न पाउने हरेक नागरिकको अधिकार सुनिश्चित हुनेछ । देश–विदेश जहाँ भए पनि कुनै पनि नेपाली पहुँचको अभाव वा पहिचानका कारण अपमानित हुने छैनन् ।

हामी यस्तो समाजको निर्माण गर्नेछाँै, जुन कुनै पनि बहानामा हुने शारीरिक, मानसिक वा लैङ्गिक हिंसाबाट मुक्त हुनेछ । वंश, जाति वा लिङ्गका आधारमा प्राप्त हुने विशेषाधिकार एवं जन्म भएको परिवार वा स्थानका आधारमा नागरिकको भाग्य निर्धारण हुने अवस्थाको अन्त्य हुनेछ ।

जात, धर्म, वर्ण, लिङ्ग, वर्ग वा भूगोलका आधारमा सृजना भएका छुवाछुत, विभेद र अवरोधलाई भत्काउँदै हामी प्रत्येक नागरिकले आत्मसम्मानका साथ निर्धक्क बाँच्न र सिर्जना गर्नसक्ने साझा घर र सहिष्णु समाज बनाउने छौँ ।

२. सपना देख्न सक्ने नेपाल

हाम्रो परिकल्पनाको नेपाल प्रगति र उन्नतिको सपना देखे नागरिकहरूको देश हुनेछ । दिगो आर्थिक विकास, नीतिगत स्थिरता र हैरानीमुक्त सेवा प्रवाहसँगै अग्रज पुस्ताको अनुभव, युवाको नवीन सोच र नागरिकको साझा प्रयत्नले ती सपनाहरू साकार हुनेछन् । राष्ट्रिय नवनिर्माणको भावनाले ओतप्रोत युवाहरू शासन र विकासका साझेदार बन्नेछन् ।

उज्यालो भविष्य खोज्ने युवालाई स्वदेशमै परिवारसँगै रमाउँदै मर्यादित र आकर्षक अवसरहरू हुनेछन्, जहाँ उनीहरूको सृजनशीलताको उच्च कदर र प्रोत्साहन हुनेछ । हाम्रो राज्य प्रवास रहेर पौरख र सामथ्र्य खर्चिरहेका नेपालीहरूको पनि अभिभावक हुनेछ । संसारभरि छरिएका नेपालीको भावना, ज्ञान, सीप र पुँजी मातृभूमिको पुनर्जागरणमा जोडिनेछ । हाम्रो देश विदेशिएका नेपालीलाई ‘फर्कन रहर लाग्ने र स्वदेशमा रहेकालाई यहीँ सुनौलो भविष्य देखिने’ जीवन्त देश हुनेछ ।

३. सम्पत्ति र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने नेपाल

आँट गरेर लगानी गर्ने, रोजगारी र सम्पत्ति सृजना गर्ने एवं उत्पादनमा जोडिने सबैलाई काँध थाप्ने राज्य हुनेछ । सानादेखि ठूलासम्मका व्यवसाय गर्ने नागरिकलाई राज्यले हरतरहले प्रोत्साहन र साथ दिनेछ । साथै, आर्थिक रूपमा पछाडि परेका नागरिकलाई पनि सम्पत्ति र आयआर्जन गर्नसक्ने गरी सक्षम बनाउनेछ ।

अमिकको पसिना पवित्र छ, उसको मेहनतको उचित मूल्य, सामाजिक सुरक्षा र सम्मान राज्यको कर्तव्य हुनेछ । राज्यले पारदर्शी र वैध नाफा आर्जनलाई प्रोत्साहित गर्नेछ, तर अवैध तरिकाले सम्पत्ति थुपार्ने र उपभोग गर्ने प्रवृत्तिलाई निर्ममतापूर्वक नियन्त्रण गर्नेछ । आर्थिक स्वच्छता र सदाचारलाई संस्कृतिकै रूपमा अघि बढाउने काम राजनीतिक नेतृत्वले गर्नेछ ।

४. पेटभरि खुवाउने, देशलाई चिनाउने किसानको नेपाल

राम्रो परिकल्पनाको नेपालमा किसानहरू सम्पन्न र मुलुकको प्रगतिका मुख्य सारथी हुनेछन् । कृषि सा कुनै नागरिकको बाध्यता नभई आधुनिक र मर्यादित छनोट हुनेछ । नेपाली किसानले मुलुकलाई पहिने स्वास्थ्यकर खाद्यान्न आपूर्ति मात्र गर्ने छैनन्, प्रविधिको उच्चतम प्रयोग, बजारमा सहज पहुँच र आफ्नो उत्पादनको उचित मूल्यको सुनिश्चिचतासमेत पाउनेछन् ।

उहाँहरूले कृषिमा आफ्नो भविष्य र भरोसा भेट्नेछन् । राज्यले सिँचाइ र मलको अभाव अन्त्य गर्दै, मार भुक्तानीका सास्ती हटाएर बजार र मूल्य सुनिश्चित गर्नेछ । नेपालको उत्पादनलाई विश्व बजारमा ‘ब्राण्ड बनाउने भिजन बोकेका कृषि–उद्यमीहरूलाई राज्यले हरेक पाइलामा साथ दिनेछ ।

५. ओखती र ओत दिने नेपाल

हाम्रो परिकल्पनाको नेपालमा गर्भावस्थादेखि वृद्धावस्थासम्म नै नागरिकको स्वास्थ्यप्रति राज्य संवेदनशील र जिम्मेवार हुनेछ । परिवारमा कसैलाई रोग लागिहाले ‘कसरी उपचार गर्ने’ र ‘अस्पतालको शुल्क कसरी तिर्ने’ भन्ने डरबाट नागरिकहरू मुक्त हुनेछन् ।

स्वास्थ्य सेवा राज्यले गर्ने परोपकार होइन, उपचार नागरिकको मौलिक अधिकार भन्ने मान्यताका आधारमा हरेक नेपालीलाई औषधि र अस्पतालको ओत दिनु राज्यको प्रमुख कर्तव्य हुनेछ । विकसित देशको स्तरको उन्नत स्वास्थ्य बीमा प्रणालीमार्फत राज्यले यो जिम्मेवारी पूरा गर्नेछ ।

६. छोराछोरी पढाउन आर्थिक भार नपर्ने नेपाल

हाम्रो परिकल्पनाको नेपालले शिक्षालाई खर्च होइन, राष्ट्रको सबैभन्दा महत्त्वपूर्ण लगानी मान्दछ । शिक्षाको सर्वसुलभता र पूर्वाधारमा आधारभूत परिवर्तन हुनेछ । आर्थिक अभावका कारण कोही पनि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट वञ्चित हुने छैन ।

शारीरिक पोषण पूरा भएका नानीबाबुहरूमा सिकाइको क्षमता बढ्छ, त्यसैले राज्यले शिक्षासँगै जोडेर पोषणको पनि जिम्मा लिनेछ । सबै किसिमका हिंसा र शोषणबाट मुक्त हाम्रा नानीबाबुले विद्यालय र खेलमैदानमा रमाउँदै बाल्यकाल बिताउन पाउने छन् । प्रि–प्राइमरीदेखि विश्वविद्यालयसम्मको सिकाइलाई प्रविधि र प्रयोगसँग जोड्ने शिक्षालयहरू विद्यार्थीको सृजनशीलता र नवप्रवर्तनको उच्चतम प्रयोग र प्रोत्साहन हुने केन्द्र हुनेछन् ।

जीवनोपयोगी ज्ञान, विवेकपूर्ण चेतना र मूल्यमा आधारित शिक्षा प्रणालीले हाम्रा युवालाई विश्वभर प्रतिस्पर्धा गर्नसक्ने बनाउनेछ ।

७. बेथिति र हैरानीमुक्त विधिको शासन भएको नेपाल

आमनागरिकदेखि सत्ताको जुनसुकै ओहदामा बसेका मानिस पनि कानुनको नजरमा समान हुनेछन् । ‘निमुखालाई ऐन र ठूलालाई चैन’ हुने विभेदकारी अवस्थाको अन्त्य हुनेछ । सरकारी सेवाका ढोका सबैका लागि समान रूपमा खुला रहनेछन् ।

अदालत, संवैधानिक निकाय, प्रहरी, विश्वविद्यालय लगायतका राज्यका संस्थाहरूमा दलीयकरणको अन्त्य हुनेछ । स्वच्छ र पारदर्शी छनोट प्रक्रियामार्फत ज्ञान, इमान र क्षमता भएका योग्य एवं संविधानप्रति बफादार नागरिकहरू नियुक्त हुनेछन् ।

राज्यका हरेक सेवामा प्रविधिको उच्चतम प्रयोग गर्दै डिजिटल नेपाल’ को अवधारणा साकार पारिनेछ, जसले भ्रष्टाचार र सरकारी ढिलासुस्तीको जरैदेखि अन्त्य गर्नेछ । नागरिकले घरमै बसेर सहजतापूर्वक सरकारी सेवा पाउनेछन् । निर्भयतापूर्वक सरकारसँग प्रश्न गर्न र जवाफ माग्नसक्ने लोकतान्त्रिक वातावरण सुनिश्चित हुनेछ ।

८. मौलिकतामा गर्व गर्ने आधुनिक नेपाल

हाम्रो विविधता र विशिष्टता नै नेपालको मौलिक पहिचान हो । नेपालका हिमाल, पहाड र मधेसमा बस्ने सबै जातजाति, उनीहरूले बोल्ने भाषा, मान्ने धर्म, परम्परा, संस्कृति, कला र रीतिरिवाजहरूको विविधता नै नेपालको सुन्दर र विशिष्ट पहिचान हो । हाम्रा विविध भाषा, कला, साहित्य, संस्कृति र सम्पदाको संरक्षण हुनेछ । हाम्रो परिकल्पनाको नेपालमा यी सबै विविधता र विशिष्टताहरूको समान रूपमा सम्मान र सम्वद्र्धन हुनेछ ।

यिनै विविधता र विशिष्टताको जगमा उभिएर हामी आधुनिकतासँग कुममा कुम मिलाएर अघि बढ्ने नेपाल निर्माण गर्नेछौँ । विश्व ज्ञान, विश्व अर्थतन्त्र र विश्व संस्कृतिसँग जोडिएको, तर आफ्नो मौलिकतामा गर्व गर्ने नेपाल निर्माण हुनेछ ।

९. विश्वले सम्मान गर्ने स्वाभिमानी नेपाल

हाम्रो परिकल्पनाको नेपाल विश्व समुदायमाझ एक सार्वभौम, शान्त र स्वाभिमानी राष्ट्रका रूपमा स्थापित्त हुनेछ । नेपालको परराष्ट्र नीति राष्ट्रिय हित र सार्वभौमिक समानताको जगमा उभिनेछ ।

हाम्रो छिमेकी र मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित हुनेछ र यस्तो सम्बन्धलाई पारस्परिक हित र आर्थिक साझेदारीका आधारमा अगाडि बढाउनेछ ।

हामी नेपाललाई सगरमाथा, बुद्ध, पशुपति र जानकीको देशका रूपमा मात्र होइन, विश्व समुदायको एक जिम्मेवार र प्रतिष्ठित सदस्यका रूपमा चिनाउनेछौँ । हामी यस्तो नेपाल बनाउने छौ, जहाँको राहदानीलाई अरूले सम्मान गरून् र हामीले सदैव गर्व गर्न सकौँ ।

१०. समुन्नतिमा लम्कने नेपाल

हाम्रो प्रणालीको कार्यसम्पादन क्षमता उत्कृष्ट र परिणाममुखी हुनेछ । सबै योजनाहरूको गति र गुणस्तर विश्वस्तरको हुनेछ । कृषि, पर्यटन, ऊर्जा, आइटी, खेलकुद, यातायातजस्ता क्षेत्रलाई आधुनिक र सबल बनाउँदै अत्यावश्यक पूर्वाधारहरूको दूत विकास हुनेछ । हिमाल, नदी, वनजङ्गलजस्ता हाम्रा अमूल्य प्राकृतिक सम्पदाहरू भावी पुस्ताका लागि सुरक्षित रहनेछन् । हाम्रो अर्थतन्त्र खुला, प्रतिस्पर्धी, प्रविधिमैत्री र पर्यावरणमैत्री हुनेछ, जसले अन्तरराष्ट्रिय लगानी र प्रविधिलाई आकर्षित गर्नेछ ।

हाम्रो परिणाममुखी लोकतन्त्रमा सरकार सत्ताको निरन्तरतामा होइन, जनजीवनमा देखिने प्रत्यक्ष सुधार र उपलब्धिमा केन्द्रित हुनेछ । देश निर्माणको अभियानमा सबै जात, जाति, धर्म, वर्ग, भूगोल र समुदायको सम्मानजनक सहभागिता रहनेछ । समुन्नतिको लाभ सामाजिक न्यायका आधारमा सबै नागरिकले समान रूपमा पाउने अवस्था सुनिश्चित हुनेछ ।

सबल, सक्षम, स्वतन्त्र र सम्मानित नेपाली नागरिकको साझा प्रयत्नबाट निर्माण हुने समुन्नत नेपालमा जातीय, भाषिक, क्षेत्रीयलगायतका विविधताको जोडबाट नयाँ भाव सृजना भई नेपाली राष्ट्रियता सुदृढ र सवल हुनेछ ।

शेयर गर्नुहोस:

0
Shares