काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले काठमाडौं-तराई/मधेश द्रुतमार्गको प्रस्थानविन्दु खोकनाको विवाद थाती राखेर वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी छन् ।
ललितपुरको खोकनामा धार्मिक-सांस्कृतिक सम्पदा तथा आस्थामा असर पर्ने भन्दै स्थानीय समुदायका तर्फबाट चासो व्यक्त भइरहेको सन्दर्भमा प्रधानमन्त्री कार्कीले आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको छलफलमा वैकल्पिक योजनामा अघि बढ्न निर्देशन दिएकी हुन् ।
यसअघि गत माघ १३ गते प्रधानमन्त्री कार्कीले निर्माणाधीन द्रुतमार्गको निरीक्षण भ्रमण पनि गरेकी थिइन् । स्थानीयका सरोकारलाई गम्भीरतापूर्वक लिनुपर्ने उनको भनाइ छ ।
उनले भने, ‘विकास निर्माणका काममा अनावश्यक ढिलासुस्ती गर्नु हुँदैन । सकेसम्म विवादको समाधान गर्ने हो। तर विवाद भयो भने अनिश्चितकालसम्म त्यहीँ अल्झिएर हुँदैन । विकल्प खोजेर अघि बढ्नुपर्छ। अब विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) संशोधन गरौँ। सुरु विन्दु खोकना हुँदैन भने जहाँ कुरा मिल्छ, त्यहीँबाट प्रस्थानविन्दु कायम गरौँ। आयोजनाको काम जहाँसम्म सम्पन्न हुन्छ, त्यहाँसम्म भए पनि सञ्चालन गरौँ ।’
ठुलो लगानीको आयोजना अनिश्चितकालसम्म लम्बिँदै गएमा आर्थिक बोझ थेग्न गाह्रो पर्न सक्ने भएकाले पनि चाँडो सञ्चालन हुने गरी निकास खोज्नुपर्ने उनको धारणा थियो।
अब निर्देशनबमोजिम खोकनाभन्दा ३.३ किलोमिटर तल फर्सिडोलमा टोल प्लाजा (शुल्क सङ्कलन गृह) निर्माण गर्ने गरी डीपीआर संशोधन हुने भएको छ ।












प्रतिक्रिया