मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार

एमाले पहिलो शक्ति बन्ने अध्यक्ष ओलीको दाबी

एमाले पहिलो शक्ति बन्ने अध्यक्ष ओलीको दाबी


शेयर गर्नुहोस:

27
Shares

  • change font
  • change font
  • change font

भद्रपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा एमाले मुलुकको पहिलो पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् । आफ्नो निर्वाचन क्षेत्र झापा–५ मा आज आयोजित कार्यक्रममा मतदातासामु प्रतिबद्धता पत्र सार्वजनिक गर्दै अध्यक्ष ओलीले एमालेप्रति जनसमर्थन बढ्दै गएको बताए ।

उनले विगतमा विभिन्न चुनौती र अवरोध सिर्जना गरिए पनि एमालेको जनाधार कमजोर नभएको र आगामी निर्वाचनमा त्यसको पुष्टि हुने धारणा राखे ।

Advertisement

अध्यक्ष ओलीले अघिल्लो निर्वाचनमा एमाले दोस्रो शक्ति रहे पनि अब पहिलो पार्टी बन्ने अवस्था बनेको उल्लेख गरे । विकास, स्थिरता र सुशासनका पक्षमा जनताले मत दिनेमा आफू विश्वस्त रहेको उनको भनाइ थियो ।

उनले मुलुकमा शान्ति, स्थायित्व र विकासको आवश्यकता औँल्याउँदै हिंसा, आगजनी र अराजक गतिविधि स्वीकार्य नहुने बताए । नेपाली समाज परिश्रमी, शान्तिप्रिय र सहकार्यमा विश्वास गर्ने भएकाले देश निर्माणमा सकारात्मक सोच आवश्यक रहेको उनले उल्लेख गरे ।

आइतबारदेखि झापामा रहेका अध्यक्ष ओलीले निर्वाचन केन्द्रित कार्यक्रमलाई निरन्तरता दिँदै आज दिनभर दमक क्षेत्रमा मतदाता भेटघाट गरे ।

४२ बुँदे प्रतिबद्धता सार्वजनिक

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री ओलीले झापा निर्वाचन क्षेत्र नं ५ को विकासलाई प्राथमिकतामा राख्दै ४२ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् । आसान्न प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी आज सार्वजनिक गरिएको उक्त प्रतिबद्धता पत्रमा सुशासन, भ्रष्टाचार नियन्त्रण, राष्ट्रियताको सम्वद्र्धन र भौतिक पूर्वाधार निर्माणका रणनीतिक योजना समेटिएका छन् ।

नेपाली कम्युनिष्ट आन्दोलनको ७६ वर्ष लामो इतिहास र एमालेको मूलधारको भूमिकालाई स्मरण गर्दै अध्यक्ष ओलीले ‘सुखी नेपाली, समृद्ध नेपाल’ को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न विगतका अधुरा कामलाई पूर्णता दिने सङ्कल्प व्यक्त गरेका छन् ।

प्रतिबद्धता पत्रमा सुशासनलाई लोकतन्त्रको सुन्दरताका रूपमा व्याख्या गर्दै राजनीतिक अस्थिरताका कारण उत्पन्न चुनौतीलाई चिर्दै देशमा भ्रष्टाचारमुक्त प्रशासन र पारदर्शी कार्यशैली अवलम्बन गर्ने उल्लेख गरिएको छ । अध्यक्ष ओलीले नेपालको भू–परिवेष्ठित अवस्थालाई कूटनीतिक माध्यमबाट ‘भू–जडित’ मुलुकमा रूपान्तरण गर्न छिमेकी राष्ट्रहरूसँगको व्यापार तथा पारवहन सन्धिहरूलाई प्रभावकारी बनाइने कुरामा जोड दिएका छन् ।

झापा क्षेत्र नं ५ को स्थानीय विकासका लागि आर्थिक वर्ष ०८२÷०८३ मा विनियोजित भई रोकिएका सम्पूर्ण योजनालाई पुनःसञ्चालन गर्ने र भूमिहीन, दलित तथा सुकुम्बासी नागरिकलाई प्राथमिकताका साथ जग्गाधनी प्रमाण–पुर्जा उपलब्ध गराउने प्रतिबद्धता एमालेले अघि सारेको छ ।

स्वास्थ्य र सामाजिक सुरक्षाका क्षेत्रमा स्वास्थ्य बिमाको दायरा फराकिलो बनाउने, विपन्न आवास कार्यक्रमलाई निरन्तरता दिने र आदिवासी, जनजाति, सन्थाल तथा मुस्लिम समुदायको जीवनस्तर उकास्न विशेष कार्यक्रम ल्याइने प्रतिबद्धता पत्रमा उल्लेख छ ।

कृषि क्षेत्रलाई आधुनिकीकरण र यान्त्रिकीकरण गर्दै सिँचाइको पर्याप्त व्यवस्था गर्ने तथा उत्पादित वस्तुको भण्डारणका लागि शीतभण्डार निर्माण गर्ने लक्ष्य राखिएको छ । पूर्वाधार विकासतर्फ दमक र गौरादह बजारको आधुनिकीकरण, गौरीगञ्जमा स्मार्ट सिटी परियोजनाको कार्यान्वयन र हुलाकी मार्गअन्तर्गत माई नदीको पुल निर्माणलाई पूर्णता दिने विषयलाई प्राथमिकता दिइएको छ ।

त्यस्तै, दमक–चिसापानी–रवि सडकको निर्माण सम्पन्न गर्ने, ग्राभेल सडकलाई कालोपत्र गर्ने र विभिन्न खोलामा तटबन्धन गरी खेतीयोग्य जमिनको संरक्षण गर्ने योजना एमालेले सार्वजनिक गरेको छ ।

शिक्षा र खेलकुदका क्षेत्रमा कमल–५ स्थित आदिवासी रङ्गशालालाई आधुनिकस्तरमा निर्माण गर्ने, प्रत्येक पालिकामा सुविधा सम्पन्न खेल मैदान बनाउने र सामुदायिक विद्यालय तथा क्याम्पसको भौतिक एवं शैक्षिक सुधार गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ ।

साथै, दमक सभाहल सञ्चालन, प्रादेशिक आयुर्वेदिक अस्पतालको स्तरोन्नति र वाल्मीकि आश्रम एवं साधु होली जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास गरी स्थानीय पर्यटनलाई प्रवद्र्धन गरिने अध्यक्ष ओलीको प्रतिबद्धता पत्रमा समेटिएको छ ।

शेयर गर्नुहोस:

27
Shares