मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिश्व घटना

लन्डनस्थित दूतावासमा २६३ औँ नेपाली सेना दिवस : बेलायती चिफअफ स्टाफको प्रशंसा

लन्डनस्थित दूतावासमा २६३ औँ नेपाली सेना दिवस : बेलायती चिफअफ स्टाफको प्रशंसा


शेयर गर्नुहोस:

189
Shares

  • change font
  • change font
  • change font

लन्डन । ब्रिटिश सेनाका चिफ अफ स्टाफ, फिल्ड आर्मी मेजर जनरल कार्ल बोसवेल सीबीइले नेपाली सेनालाई गर्विलो इतिहास र उत्कृष्टताका लागि विश्वव्यापी प्रतिष्ठा भएको सैन्य संस्थान भन्दै प्रशंसा गरेका छन् ।

लन्डनस्थित नेपाली दूतावासमा २६३ औं नेपाली सेना दिवसका अवसरमा सोमबार आयोजित विशेष समारोहमा प्रमुख अतिथी बोसवेलले संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा असाधारण योगदान पुर्‍याएकामा बेलायती सेनाले नेपाली सेनालाई उच्च सम्मान दिने बताउंदै नेपाली शान्ति सेनाहरूले अनुशासन, सहानुभूति र सबैभन्दा जटिल कामका लागि विश्वभर प्रशंसा पनि कमाएको उल्लेख गरे ।

Advertisement

उनले बेलायत यस महत्त्वपूर्ण भूमिकामा नेपाललाई सहयोग गर्न पाउँदा गर्व गर्ने समेत बताए । आफ्ना एक वरिष्ठ सैनिक अधिकृतले गत साता नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले यसले दुई सेनाको सम्बन्ध अझ सुदृढ पार्न सहयोग गर्ने विश्वास व्यक्त गरे ।

मेजर जनरल बोसवेलले विश्व शान्ति र स्थायित्वमा नेपाली सेनाको योगदान असाधारण रहेको पनि जनाए ।

उनले संयुक्त अधिराज्यको वेल्समा आयोजित विश्वकै कठिन अभ्यास क्याम्ब्रियन पट्रोल एक्सरसाइज २०२५ मा नेपाली सेनाले स्वर्ण पदक जितेको प्रसंग उठाउंदै यसले नेपाली सेनाको सहनशीलता, रणनीतिक सीप, लचिलोपन र सर्वोच्च आदेशको नेतृत्व र सैन्य उत्कृष्टतालाई प्रतिबिम्बित गरेको पनि बताए ।


ब्रिटिश गोर्खा सैनिकहरू बहादुरी, वफादारी र व्यावसायिकताको उदाहरण बनेका उल्लेख गर्दै मेजर जनरल बोसवेलले दुई सेनाबीचको साझेदारी संयुक्त तालिम र शिक्षा, विपद् प्रतिक्रिया सहयोग, व्यावसायिक आदानप्रदान, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय नियम–आधारित व्यवस्थाप्रति साझा प्रतिबद्धतामार्फत अगाडि बढेको पनि चर्चा गरे ।

बोसवेलले गोर्खाहरू केवल सैनिक मात्र नभइ नेपाल र संयुक्त अधिराज्य बीचको ‘गहिरो विश्वास र मित्रताको जीवन्त प्रतीक’ रहेका पनि बताए ।

बेलायत र नेपालले दुई शताब्दीभन्दा बढी समयदेखि संयुक्त तालिम, शिक्षा, विपद् व्यवस्थापन सहयोग, व्यावसायिक अनुभव आदानप्रदान, शान्ति, स्थिरता र अन्तर्राष्ट्रिय सम्बन्धका लागि साझा प्रतिबद्धतामार्फत निरन्तर अगाडि बढेका पनि जनाए । यो साझेदारी दिगो र स्थिर रहने पनि उनको भनाइ थियो ।

आफ्नो मन्तव्यमा कार्यवाहक राजदूत विपिन दुवाडीले नेपाली सेनाको गौरवशाली इतिहास र सेनाले राष्ट्रका लागि हासिल गरेका महत्वपूर्ण उपलब्धि स्मरण गरे।

उनले नेपाली सेनाले सीमा रक्षादेखि प्राकृतिक प्रकोपको समयमा मानवीय सहयोग प्रदान, संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यमा योगदान, अन्तर्राष्ट्रिय सम्बन्ध प्रवर्धनसहित निरन्तर उत्कृष्टता, लचिलोपन र कर्तव्यनिष्ठा प्रदर्शन गर्दै आएको बताए ।

कार्यक्रममा लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी ब्रिगेडियर जनरल अनुप शाहले स्वागत मन्तव्य दिंदै नेपाली सेनाले रणनीतिक नीतिहरूको कार्यान्वयन, राष्ट्र निर्माण प्रयास प्रवद्र्धन र सन्तुलित सैन्य कूटनीतिमा संलग्न हुँदै आफ्नो सम्मानित स्थान कायम राख्न महत्त्वपूर्ण भूमिका खेलेको जनाए ।

शाहले नेपाली सेनाले राष्ट्रिय सुरक्षा, विपद् व्यवस्थापन, प्रकृति संरक्षण र राष्ट्रिय विकास जस्ता क्षेत्रमा प्रभावकारी कार्य सञ्चालन गर्न सेनाको क्षमतामा ठूलो वृद्धि गरेको उल्लेख गर्दै यसले विश्वव्यापी स्तरमा शान्ति प्रवद्र्धन गर्न महान अभियानहरू सञ्चालन गरेको बताए ।


नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघमा आवद्ध भएको स्मरण गर्दै ब्रिगेडियर जनरल शाहले नेपाल विश्वभरि अग्रणी सेना योगदानकर्ता देशका रूपमा पहिलो स्थानमा रहेको जनाए ।

संयुक्त राष्ट्र संघले अनुरोध गरे नेपालले १० हजारसम्म शान्ति सेना उपलब्ध गराउन समर्पित रहेको पनि शाहले बताए ।

नेपाली सेना र बेलायती सेनाबीचको सहकार्यको इतिहास पारस्परिक विश्वास र सहयोगले भरिएको जनाउंदै ब्रिगेडियर जनरल शाहले बेलायती सेनाले विभिन्न पहलमार्फत नेपाली सेनाको व्यावसायिक विकासलाई सक्रिय रूपमा समर्थन गरेको भन्दै प्रशंसा गरे ।

दुई देशका सेना प्रमुखहरूबीचको उच्चस्तरीय भ्रमणहरूले द्विपक्षीय सम्बन्धलाई सुदृढ बनाउनुका साथै अन्तर्राष्ट्रिय सहयोग र सैन्य व्यावसायिकताको उन्नतिप्रति प्रतिवद्धता प्रदर्शन गरेको पनि शाहले जनाए ।

समारोहको सुरुवातमा नेपाल र संयुक्त अधिराज्यको राष्ट्रिय गान बजाइएको थियो । कार्यक्रम बेलायती सेनाका मेजर जनरल बोसवेल र कार्यवाहक राजदूत दुवाडीले संयुक्त रूपमा दीप प्रज्वलन गरि उद्घाटन गरेका थिए ।

समारोहमा उच्च पदस्थ सैनिक अधिकारीहरू, लन्डनस्थित रक्षा सहचारीहरू, सरकारी अधिकारीहरू, बेलायतस्थित नेपाली डायष्पोराका प्रतिनिधिलगायत विभिन्न क्षेत्रका एकसय बढीको उपस्थिति थियो । सो अवसरमा सेना दिवसको उपलक्ष्यमा केक समेत काटेर खुशीयाली मनाइएको थियो ।

शेयर गर्नुहोस:

189
Shares