काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले हिमाली तथा पहाडी जिल्लाहरूमा आगामी २१ फागुनमै चुनाव गराउन सम्भव रहेको बताएकी छन् ।
हिमाली जिल्लाहरूमा चुनावको तयारी, सुरक्षा व्यवस्थापन तथा भौगोलिक चुनौतीको स्थलगत निरीक्षणका क्रममा बिहीबार सोलुखुम्बु पुगेकी उनले सोलुसहित हिमाली जिल्लामा तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्न सकिने अवस्था रहेको बताएकी हुन् ।
प्रधानमन्त्री कार्कीले कुनै पनि बहानामा निर्वाचन सार्ने अवस्था नरहेको उल्लेख गरिन् । ‘देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न २१ फागुनको निर्वाचनको विकल्प छैन’, उनले भनिन्, ‘हिमाली भेगका चुनौतीलाई मध्यनजर गर्दै सरकारले आवश्यक सबै व्यवस्था गरिसकेको छ ।’
प्रधानमन्त्री कार्कीले निर्वाचन भयरहित, शान्त, निष्पक्ष र धाँधलीरहित ढंगबाट सम्पन्न हुनेमा ढुक्क रहन आम मतदाता, राजनीतिक दल तथा उम्मेदवारलाई आग्रह गरिन् । सरकारको सम्पूर्ण ध्यान सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न गराउन केन्द्रित रहेको जनाउँदै उनले सम्बद्ध सबै निकायलाई आफ्नो सम्पूर्ण ध्यान निर्वाचनमा केन्द्रित गर्न निर्देशन दिइन् ।
जिल्ला सुरक्षा समितिसँगको ब्रिफिङमा प्रधानमन्त्री कार्कीले मतदाताले कुनै पनि किसिमको डर, दबाब वा प्रभावबिना मतदान गर्न सक्ने वातावरण सिर्जना गर्न विशेष निर्देशन दिइन् । हिमाली भेगका दुर्गम मतदान केन्द्रमा सुरक्षामा कुनै सम्झौता नगर्न र आवश्यक परे थप सुरक्षा जनशक्ति परिचालन गर्न उनले निर्देशन दिएकी छन् ।
सो अवसरमा प्रमुख जिल्ला अधिकारी लीलाकुमारी पाण्डे केसीले प्रस्तुत गरेको अभिलेखीय सामग्रीमार्फत जिल्लाको समग्र सुरक्षा अवस्था, मतदान केन्द्रको भौतिक अवस्था तथा पहुँचसम्बन्धी विवरण प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरिएको थियो । प्रधानमन्त्री कार्कीले सबै मतदान केन्द्रहरूको विशेष अवलोकन गर्दै सुरक्षा, सामग्री ढुवानी र मतपत्र सुरक्षामा उच्च सतर्कता अपनाउन निर्देशन दिएको प्रमुख जिल्ला अधिकारी केसीले जानकारी दिइन् ।
जिल्लामा १२३ मतदानस्थल छन् । यसमा सातवटा हिमाली क्षेत्रमा पर्नेछ । विशेष गरी हिमपात, मौसम परिवर्तन र भौगोलिक जोखिमलाई ध्यानमा राख्दै वैकल्पिक योजनासमेत तयार गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
प्रधानमन्त्री कार्कीले हिमाली जिल्लाका मतदाताको मताधिकार सुनिश्चित गर्नु सरकारको संवैधानिक दायित्व भएको उल्लेख गर्दै सोलुखुम्बु जस्ता दुर्गम जिल्लामा पनि मतदाताले सहज रूपमा मतदान गर्न पाउने व्यवस्था मिलाइने बताइन् ।












प्रतिक्रिया