ड्यालस,टेक्सस । नेपालमा रहेका अटिजम भएका बालबालिकाहरूका निम्ति शनिबार अमेरिकाको ड्यालसमा वाकिङ्ग कार्यक्रम सम्पन्न भएको छ । उक्त कार्यक्रमका क्रममा संकलन भएको एकलाख रूपैयाँ नेपालको जिज्ञासा फाउण्डेसनलाइ शनिबारनै हस्तान्तरण गरियो ।
शनिबार युलेसको वियरक्रिक पार्कमा जम्मा भएका तीनसयको हाराहारीमा रहेका नेपालीहरूले झण्डै तीन माइल (पाँचहजार पाइला) हिँडेर कार्यक्रमलाइ साथ र सहयोग गरे । सहभागीहरू वियरक्रिक पार्कदेखि कोही हिँड्दै त कोही दगुरेर बब एडन पार्कसम्म पुगेर वियरक्रिकमै फर्किएका थिए । त्यस अवसरमा सधैँ दौडिनेदेखि लिएर कहिलेकाही दौडिनेहरु समेत थिए । त्यतिमात्र होइन त्यो दौडमा कहिल्यै नदौडिनेहरु पनि सहभागी भए । उद्देश्य भने एउटै थियो, ‘वाक फर अटिजम’ ।
वान स्टेप फाउण्डेसनले अटिष्टिकका बालबालिकाहरुका लागि दौड आयोजना गरेको थियो । जसलाई नाम दिईएको थियो, ‘वाक फर अटिजम’ ।
आयोजक वान स्टेप फाउण्डेसनको आह्वानमा २७० जनाभन्दा बढि व्यक्ति दौडमा सहभागी थिए । त्यो पनि सबै उमेर समूहका । चार/पाँच वर्षका बालबालिकादेखि ८० वर्षसम्मका जेष्ठ नागरिकहरु दौडमा सहभागी थिए । निशुल्क आयोजना गरिएको दौडका लागि २६७ जनाले अग्रिम रुपमा नाम दर्ता गरेका थिए । नाम दर्ता गर्न छुटेका थुप्रै व्यक्तिहरुले समेत यो अवसर गुमाउन चाहेनन् । उनीहरु पनि सहभागी थिए ।
डेटा फ्लेक मुख्य प्रायोजक रहेको ‘वाक फर अटिजम’ का लागि अटिष्टिक परिवार स्वस्फूर्त रुपमा सहयोग गरे । कसैले पानीको व्यवस्था गरिदिए । कसैले कफी। कसैले फलफूल सहयोग गरे । विभिन्न संघसंस्थाले स्वयमसेवकहरु पठाएर सहयोग गरे । कतिपय व्यक्ति स्वस्फूर्त स्वयमसेवकको भूमिका निर्वाह गर्न आईपुगेका थिए।
ती सबैको सहयोगमा ‘वाक फर अटिजम’ भव्य रुपमा सम्पन्न भयो । यो कसैलाई उछिन्ने दौड थिएन् । नत यसमा उत्कृष्ट धावकलाई उत्कृष्ट पुरस्कारको व्यवस्था थियो । दौडमा सहभागी हुने सबै बिजेता थिए । आयोजकले सबैलाई पदक प्रदान गरेका थिए।
अटिष्टिक बालबालिकाहरुका निम्ति टेक्ससमा पहिलो पटक आयोजना गरिएको यो दौड आयोजनाको उद्देश्य र यसको सञ्चालनका दृष्टिकोणले पनि पहिलो थियो ।
न त यौ दौडको औपचारिक रुपमा उद्घाटन गरियो । न त औपचारिक रुपमा समापन । न त दौडमा प्रमुख अतिथि थिए । नत मन्तव्य व्यक्त गर्ने अतिथिहरु ।
दौडको प्राथमिकतामा थिए त, केवल अटिष्टिक बालबालिकाहरु र तिनका परिवार ।
वान स्टेप फाउण्डेसनका स्वयमसेवक तथा म्याराथन धावक बाल जोशीले अटिष्टिक बालबालिकाहरुको सहयोगका लागि आह्वान गरिएको दौडबाट संकलित एक लाख रुपैया नेपालमा अटिष्टिक बालबालिकाका लागि काम गर्ने जिज्ञासा फाउण्डेसनलाई प्रदान गरिएको जानकारी दिए । उक्त संस्थाले नेपालको झापामा अटिजम भएका बालबालिकाहरुको क्षेत्रमा काम गर्दै आएको छ ।
अटिष्टिक बालबालिकाहरुका समस्या समाधानका लागि सिंगो समुदायको साथ र सहयोग आवश्यक रहेको ठान्यौ, जोशीले भने, ‘अटिष्टिक बालबालिका र तिनका परिवारले भोगेका पीडा सबैले महशुस नगरेसम्म त्यो संभव छैन् । त्यही कारण दौडमा सबैलाई सहभागी हुन आह्वान गऱ्यौ । हाम्रो आह्वानलाई स्वीकार गर्दै दौडमा सबैको सहभागिता रह्यो ।’
कार्यक्रम समापनका अवसरमा संयोजक मनोज कटुवालले दौडमा सहभागी हुने सबैलाई धन्यवाद दिएका थिए ।
*समाचारको शिर्षकमा सुधार गरिएको ।











प्रतिक्रिया