मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   
बिश्व घटना   
बोस्टन   
मुख्य समाचार   

नेजस, अमेरिकाको केन्द्रीय अधिवेशन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भो

नेजस, अमेरिकाको केन्द्रीय अधिवेशन ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भो

हाललाई अधिवेशन स्थगित, अर्को मिति र स्थान छिट्टै तय गरिने


बोस्टन, अमेरिका। नेपाली काँग्रेस निकट मानिने नेपाली जनसम्पर्क समिति, अमेरिकाको केन्द्रीय अधिवेशन निर्धारित मितिमा नहुने निश्चित भएको छ। नेजस, अमेरिकाका केन्द्रीय सभापति आनन्द बिष्टले केन्द्रीय अधिवेशन पूर्व निर्धारित मितिमा नहुने कुरा पुष्टि गरेका छन्।यस अघि नेपाली जनसम्पर्क समिति, अमेरिकाले केन्द्रीय अधिवेशन यही आउदो डिसेम्बर २७,२०२५ शनिवार गर्ने निर्णय गरी कार्यतालिका बनाएको थियो। तर, कहाँ गर्ने भनेर स्थान भने तोकिएको थिएन।

फइल तस्बिर : गत सेप्टेम्बर २०, २०२५ मा सम्पन्न न्यू योर्क च्याप्टरको अधिवेशन।

कार्यतालिका अनुसार, नेजस, अमेरिकाले गत डिसेम्बर २०, २०२५ मा भने अमेरिकाको विभिन्न राज्यहरुमा एकै साथ च्याप्टर अधिवेशन सम्पन्न गरेर सर्वसम्मत नयाँ कार्यसमिति चयन गरिएको संस्थाले जनाएको छ। जस अन्तर्गत तीन राज्यहरु नेभाडा, नेब्रास्का र कान्सास सिटीमा नयाँ च्याप्टर गठन गरिएको छ। च्याप्टर अधिवेशनहरुले संस्थाको विधान अनुसार केन्द्रीय अधिवेशनका लागि प्रतिनिधिहरु पनि चयन गरिसकेको छ। तर, तोकिएको मितिमा केन्द्रीय अधिवेशन नहुने भएपछि संस्थाका सदस्य, सहयोगी, शुभचिन्तक लगायत सरोकारवालाहरुलाई ‘हात्ती आयो हात्ती आयो फुस्सा’ भएको छ।

Advertisement
च्याप्टर अधिवेशनबाट सर्वसम्मत चयन भएका च्याप्टर नेतृत्वहरु।

यसले संस्थाको केन्द्रीय अधिवेशन थप अन्योलमा पर्न गएको छ। सन् २०१४ मा अमेरिकाको टेक्सास राज्यमा एकताको अधिवेशन भएको थियो। त्यस पश्चात् नियमित अधिवेशन हुनसकिरहेको छैन।

लामो समयसम्म अधिवेशन हुन नसक्दा संस्थाको गतिशीलता र क्रियाशीलतामा अवरोध आएको भन्दै असन्तुष्ट सदस्य तथा शुभचिन्तकहरुले संस्थाका नेतृत्व कर्ताहरुको निकै आलोचना गर्दै आइरहेका छन्। ११ वर्षपछि हुने भनिएको अधिवेशन अन्ततः ‘फुस्सा’ भएपछि, यतिबेला केन्द्रीय नेतृत्व कर्ताहरुको नियतमा नै कतै खोट त छैन ? भन्ने आशङ्का पैदा गरिदिएको छ।

यस सम्बन्धनमा संस्थाका केन्द्रीय अध्यक्ष आनन्द बिष्टले समय चाप र नजिकिएको क्रिसमस एवम् नयाँ वर्षका कारण आवश्यक तयारी गर्न नभ्याइएकाले पूर्व निर्धारित मिति सेप्टेम्बर २७,२०२५ मा केन्द्रीय अधिवेशन गर्न असमर्थ भइएको बताए। नेपाली काँग्रेसको क्रियाशील सदस्यतामा विवाद उत्पन्न हुनु र काँग्रेसले केन्द्रीय अधिवेशन सम्पन्न गर्नका लागि आफ्नो प्रतिनिधि समेत चयन नगरिनुले अधिवेशन तत्कालका लागि स्थगित गर्नु पर्नाको अर्को कारण भएको सभापति बिष्टको जिकिर छ।

निर्धारित मितिमा च्याप्टरहरुको अधिवेशन निकै उत्साहजनक रुपमा सम्पन्न भएको र त्यसले दिलाएको उत्साह, उर्जा र उमङ्गले केन्द्रीय अधिवेशन सम्पन्न गर्ने अभियानमा लागिरहिएको भएतापनि, मूलत: आवश्यक तयारी नपुगेकै कारण हाललाई अधिवेशन स्थगित गर्नु परेको उनको भनाइ छ। केन्द्रीय अधिवेशन अर्थपूर्ण, उपलब्धिमूलक र उत्सवमय बनाइ भव्यताका साथ सम्पन्न गर्ने गरी, अधिवेशन हुने अर्को मिति र स्थानको छिट्टै नै निर्क्योल गरिने सभापति बिष्टले बताए।

नेपाली काँग्रेस पार्टीले आगामी पौष २६, २७ र २८ गते नियमित महाधिवेशन गर्ने निर्णय गरेसंगै प्रवासमा रहेका आफ्ना क्रियाशील सदस्यहरु आबद्ध भातृ संगठन नेपाली जनसम्पर्क समितिको अधिवेशन आगामी पौष २०, २०८२ भित्र सम्पन्न गर्न निर्देशन दिएको थियो। सोही बमोजिम नेपाली जनसम्पर्क समिति, अमेरिकाले आफ्नो अधिवेशनको कार्यतालिका तय गरिएको थियो।

संस्थामा हाल नेपाली नागरिकता कायम रहेका (अमेरिकाको नागरिकता नलिएका) र अमेरिकाको नागरिकता लिएका गरी दुइ प्रकृतिका सदस्यहरु रहेका छन्। नेपाली नागरिकता कायम रहेका सदस्यहरुले मात्र नेपाली काँग्रेसको महाधिवेशन प्रक्रियामा भाग लिन पाउने छन् भने, नेपाली जनसम्पर्क समिति, अमेरिकाको अधिवेशनमा दुबै प्रकृतिका सदस्यहरुले सहभागिता जनाउन पाउने व्यवस्था छ।

शेयर गर्नुहोस:

3.4k
Shares