अमेरिकामा बस्ने नेपाली समुदाय अहिले बाहिरबाट सामान्य देखिने, तर भित्र अत्यन्त खतरनाक प्रकारका नयाँ ठगी जोखिमसँग सामना गरिरहेको छ। धेरैलाई अचानक “म १५ मिनेटमा आइपुग्छु”, “आज भेट्न सम्भेन, पछि कुरा गरौँ”, वा “यो नम्बर तपाईंको नै हो?” जस्ता सन्देशहरू आउँछन्। धेरैजसो मानिस यसलाई सामान्य भूल समझेर “नम्बर गलत पर्नुहोला” भन्दै जवाफ दिन्छन्। तर यही सरल प्रतिक्रिया ठगका लागि संकेत बन्छ — “यो नम्बर सक्रिय छ र व्यक्ति उत्तर दिन्छ।” यही क्षणबाट ठगीको प्रक्रिया सुरु हुन्छ।
ठगहरू सुरुमा निकै नम्र र मैत्रीपूर्ण व्यवहार देखाउँदै कुराकानी सुरू गर्छन्। आफूलाई भलाद्मी, व्यस्त, परदेशमा बसेको, वा सहयोगी व्यक्ति जस्तै प्रस्तुत गर्छन्। केही दिनसम्म परिवार, कामकाज, विदेशको जीवन, वा रमाइलो प्रसङ्गका झूटो कथा सुनाउँदै विश्वास जित्न खोजिन्छ। त्यसपछि बिस्तारै नकली जागिर, लगानी, क्रिप्टो कारोबार, दान–चन्दा, वा ‘छिट्टै पैसा कमाउने’ जस्ता प्रलोभनहरू पठाउने चरण सुरू हुन्छ। अन्तिममा उनीहरूले गिफ्ट कार्ड, मोबाइल भुक्तानी, बैंक विवरण, फोटो परिचयपत्र, वा मोबाइलमा आउने कोड माग्छन्। एकपटक पैसा वा व्यक्तिगत जानकारी पठाइएपछि—फोन नम्बर, सन्देश र सम्पर्क सबै गायब हुन्छन्।
नेपाली समुदाय यस्तो ठगीमा किन छिटो फस्छ? यसको मुख्य कारणहरू स्पष्ट छन् — सीमित भाषा दक्षता, नयाँ देशमा रोजगारीको उच्च दबाब, सबैसँग नम्र र विश्वासिलो व्यवहार गर्ने संस्कार, र अपरिचित व्यक्तिप्रति सजिलै भरोसा गर्ने बानी। विशेषगरी विद्यार्थी, गृहिणी, नयाँ आप्रवासी तथा अनलाइन काम वा अतिरिक्त आम्दानी खोजिरहेका नेपालीहरू यस्तो ठगीको मुख्य लक्ष्य बन्ने गरेको देखिन्छ।
सुरक्षा विशेषज्ञहरूका अनुसार, यस्ता सन्देशहरू प्रायः एआई प्रयोग गरेर हजारौँ व्यक्तिहरूलाई एकैचोटि पठाइन्छन्। जसका कारण ती सन्देश ठगी हो कि होइन, सामान्य मानिसले छुट्याउन झनै कठिन बन्दै गएको छ। केही घटनामा त नक्कली आवाज बनाउन सक्ने प्रविधि डीपफेक प्रयोग गरी आफन्तको स्वर जस्तै सुनाउँदै पैसा मागिएको समेत पाइएको छ।
यस प्रकारको ठगीबाट जोगिन—अज्ञात नम्बर वा अपरिचित व्यक्तिबाट आएको सन्देशको उत्तर नदिनु, कुनै पनि शंकास्पद लिङ्क नथिच्नु, बैंक विवरण, पासकोड वा व्यक्तिगत जानकारी कसैलाई नबुझाउनु, र गिफ्ट कार्ड, डिजिटल मुद्राको भुक्तानी, बैंकमार्फत रकम पठाउने, वा मोबाइल भुक्तानी सेवामार्फत पैसा नपठाउनु अत्यन्त आवश्यक छ।
फोन, बैंक, इमेल तथा सामाजिक सञ्जालमा दुई–चरणीय सुरक्षा (२-फ्याक्टर प्रमाणीकरण) अनिवार्य रूपमा प्रयोग गर्नुपर्छ। त्यसैगरी, परिवार वा नजिकका व्यक्तिहरूबीच पहिचान पुष्टि गर्न छुट्टै गोप्य पासवर्ड राख्ने अभ्यासले नक्कली आवाज, बनावट पहिचान वा प्रतिरूपणबाट बच्ने प्रभावकारी उपायका रूपमा काम गर्छ।
यसैबीच, अनलाइन व्यवसायको नाममा अर्को खतरनाक प्रवृत्ति नेपाली समुदायभित्र तीव्र रूपमा फैलिँदै गएको छ। धेरै नेपाली दिदीबहिनी र अभिभावकलाई ‘सहज रूपमा कमाइ हुन्छ’, ‘महिनामा हजारौँ आर्जन गर्न सकिन्छ’, ‘घरमै बसेर काम गर्न पाइन्छ’ जस्ता मिठा आश्वासन देखाई पिरामिड शैलीको अनलाइन योजनामा फसाउने दबाब बढ्दै गएको छ। सुरुमा ‘थोरै लगानी गर, अरूलाई जोड, पैसा बढ्दै जान्छ’ भन्ने लोभ देखाइन्छ, तर अन्त्यमा ठूलो रकम डुब्ने, वर्षौँको बचत हराउने, र आर्थिक रूपमा ध्वस्त हुने घटनाहरू बढिरहेका छन्।
यस्ता योजनाका कारण नेपाल र अमेरिकाभरका धेरै नेपाली गहिरो मानसिक तनाव, गम्भीर आर्थिक संकट, र परिवारभित्र विवाद तथा अविश्वास जस्ता समस्यामा परेका उदाहरण दिनदिनै देखिन थालेका छन्। यसले अनलाइन व्यवसायको नाममा फैलिएको यस्तो ठगी प्रवृत्ति समुदायका लागि कति हानिकारक छ भन्ने कडा चेतावनी पनि दिएको छ।
अमेरिकामा रहेका नेपालीहरूले अब यस्ता घटना सामान्य फोन वा मेसेजको गल्ती भनेर नलिनु अत्यावश्यक छ। अहिलेको डिजिटल ठगी— एआई, डीपफेक, पिरामिड शैलीको योजना, र मानसिक प्रभावकारितामा आधारित प्रविधि—सतर्कता नभए जो–कसैलाई फसाउन सक्षम भएका छन्।












प्रतिक्रिया