अमेरिकामा अहिले लाखौँ चालकको यात्रा–बानी सरकारी निगरानीमा परेको तथ्य सार्वजनिक भएको छ। अमेरिकी सीमा सुरक्षा निकाय यू.एस. बर्डर पेट्रोलले स्वचालित नम्बर–प्लेट क्यामेरा, ए.आई र स्थानीय प्रहरी निकायसँगको सहकार्य मार्फत देशभरका गाडीको आवागमन ट्र्याक गरिरहेको छ। प्रारम्भमा सीमा क्षेत्रमा अपराध रोकथामका लागि प्रयोग भएको यो प्रणाली अहिले देशका विभिन्न प्रमुख सहर र भित्री राज्यहरूमा विस्तार भइसकेको छ।
शिकागो, ह्युस्टन, डिट्र्वाइट, लस एन्जेलस जस्ता सहरहरूमा अब चालकको मार्ग असामान्य देखिएमा उनीहरूलाई रोकिने, सोधपुछ गरिने, गाडी जाँच गरिने, र केही अवस्थामा थुनामा राखिने घटनासमेत बढिरहेका छन्। सामान्य कारण — जस्तै सिग्नल नदिएको, सिसामा हल्का टिन्ट भएको, वा भाडाको गाडी चलाएको — का आधारमा चालकहरूलाई रोकिने तथा गाडी जफत गरिने घटनाले विवाद र आलोचना बढाएको छ। धेरै अवस्थामा कुनै अपराध प्रमाण नदेखिए पनि चालकहरूले कानुनी खर्च, तनाव र गाडी जफत सहनुपरेका उदाहरणहरू सार्वजनिक भएका छन्।
गोपनीयता अधिकारकर्मी र कानुनविद्हरूले यसलाई “सामान्य नागरिकमाथिको अनावश्यक निगरानी” भन्दै आपत्ति व्यक्त गरेका छन्। उनीहरूको भनाइमा, नागरिकको अनुमति बिना यात्रा–सम्बन्धी डाटा संकलन र विश्लेषण गर्नु संविधानद्वारा प्रदत्त व्यक्तिगत गोपनीयताको अधिकारविरुद्ध हुने तथा अन्यायपूर्ण निगरानीको रूपमा व्याख्या गर्न सकिने दाबी गरिएको छ।
सरकारी निकायले यस निगरानी प्रणालीलाई राष्ट्रको सुरक्षा हितका लागि आवश्यक र कानुन अनुसार सञ्चालन गरिएको बताएको छ। तर कसलाई शंकास्पद मानिने, कति समयसम्म अभिलेख राखिने, र त्यो अभिलेख कससँग साझा गरिने भन्ने जानकारी सार्वजनिक नगरेकाले यस कार्यक्रमको पारदर्शिता प्रश्नमा परेको छ।
आलोचकहरूका अनुसार, सामान्य नागरिकको यात्रा र गोपनीयतासम्बन्धी तथ्य गोप्य रूपमा संकलन गर्नुले भविष्यमा नागरिक अधिकार कमजोर हुने खतरा बढ्दै गएको छ।












प्रतिक्रिया