अमेरिकामा पछिल्ला दशकहरूका सबैभन्दा विवादास्पद घटनामध्ये एउटा जेफ्री एपस्टीन प्रकरण आज पनि रहस्यको पर्दा हट्न बाँकी छ। एपस्टीन केवल एक धनी व्यापारी मात्र होइन, अमेरिकी उच्च समाज, राजनीतिज्ञ, ठूला उद्योगपति, सरकारी अधिकारी र मनोरञ्जन क्षेत्रमा पहुँच राख्ने व्यक्ति थिए। यही पहुँचको दुरुपयोग गर्दै उनले किशोरी तथा युवतीहरूको यौन शोषण र मानव तस्करीको जालो सञ्चालन गरेको आरोप लगाइएको थियो। उनी २०१९ मा पक्राउ परे पनि केही महिनामै जेलभित्र मृत अवस्थामा फेला परे। मृत्यु ‘आत्महत्या’ भनेर घोषणा गरिएको भए पनि धेरैले त्यसलाई शंका गरेका छन्, किनकि एपस्टीनसँग उच्च पदस्थ शक्तिशाली व्यक्तिहरू जोडिएका प्रमाण र नामहरू रहेको विश्वास गरिन्छ।
एपस्टीनबिरुद्धको अनुसन्धानमा निजी विमानको यात्रा विवरण (फ्लाइट लग), निजी टापु, महँगा पार्टी, र रहस्यमय ‘गेस्ट लिस्ट’ जस्ता प्रमाणहरू फेला परे। यी प्रमाणहरूले एपस्टीन मात्र अपराधी नभई उनको संरक्षण, सहयोग वा सहभागितामा प्रभावशाली व्यक्तिहरू पनि संलग्न हुन सक्ने संकेत गरे। तर ती व्यक्तिहरूका नाम तथा कागजात सार्वजनिक गर्न सरकारी पक्ष ढिलो देखिएकोले अमेरिकी समाजमा “कसको नाम किन लुकाइयो?” भन्ने गम्भीर प्रश्न उठ्यो। यही कारण यो प्रकरण साधारण अपराध मात्र नभई शक्ति, राजनीति र न्याय व्यवस्थामाथिको चुनौती बनेको छ।

हाल अमेरिकाको सिनेटमा डेमोक्र्याट र रिपब्लिकन दुवै दलका सिनेट सदस्यहरूले एपस्टीनसँग सम्बन्धित सबै कागजात, निजी विमान यात्राको विवरण, सरकारी सम्पर्क र त्यसअघि गोप्य राखिएका फाइलहरू सार्वजनिक गर्न माग गरेका थिए। उनीहरूको भनाइमा, सत्ता र पैसाको प्रभावमा सत्य लुकाउनु न्यायभन्दा ठूलो अपराध भएकोले सरकारले पारदर्शी बन्नैपर्ने अवस्था आएको थियो।

अमेरिकी सिनेटले हालै उक्त विधेयक पारित गर्दै एपस्टीन फाइलहरू सार्वजनिक गर्ने अधिकारिक प्रस्तावलाई राष्ट्रपति डोनाल्ड ट्रम्पको टेबलमा पठाएको छ। अब यो विधेयकलाई लागू गर्ने अधिकार ट्रम्पको निर्णयमा निर्भर हुनेछ। यदि उनले हस्ताक्षर गरे भने, एपस्टीनसँग सम्बन्धित सबै कागजात, फाइल, उडान रेकर्ड र सम्भावित संलग्न व्यक्तिहरूको पहिचान सार्वजनिक हुने कानुनी बाटो खुल्नेछ। यो कदमलाई धेरैले पारदर्शिताको जीत र शक्तिशाली अपराध नेटवर्कविरुद्धको ऐतिहासिक कदम भन्दै स्वागत गरेका छन्।
यद्यपि केही प्रभावशाली व्यवसायिक तथा राजनीतिक समूहहरूले यी फाइल सार्वजनिक नगर्ने पक्षमा दबाब दिइरहेको बताइन्छ। तर सिनेट सदस्यहरूको बढ्दो मागका कारण यो मुद्दा अब राजनीतिक संरक्षण होइन, राष्ट्रिय पारदर्शिता र जनअधिकार को विषय बनेको छ।
एपस्टीन प्रकरणले अमेरिकी समाजमा यौन अपराध, मानव तस्करी र बाल संरक्षणबारे चेतना व्यापक रूपमा बढाएको छ। यसअघि यस्ता मुद्दा परिवार र पीडितले मात्र सहनुपर्थ्यो, तर अब समाज र सरकार जिम्मेवार रूपमा अगाडि आएको छ। धेरै संस्था र अधिकारकर्मीहरूले बाल संरक्षण, यौन अपराध र अनलाइन तस्करीविरुद्ध कडा कानून र कठोर दण्डको माग गरिरहेका छन्। यसले युवती तथा किशोरीहरूको सुरक्षा केवल पारिवारिक विषय मात्र नभई राष्ट्रिय सुरक्षा र नैतिकताको प्रश्न हो भन्ने सन्देश दिएको छ।
शक्ति, पैसा र पहुँचले कुनै पनि व्यक्तिलाई कानूनभन्दा माथि राख्न सक्दैन। चाहे मुलुक सानो होस् वा ठूलो, यौन अपराध र मानव तस्करी गम्भीर मानवअधिकार उल्लङ्घन हुन्, र त्यसका विरुद्ध आवाज उठाउँदै न्यायिक प्रक्रियालाई सहयोग गर्नु हरेक नागरिकको जिम्मेवारी हो। एपस्टीन प्रकरण केवल एक व्यक्तिको अपराध कथा होइन; यो शक्ति र भ्रष्ट संरचनाले कसरी न्याय दबाउन सक्छ भन्ने चेतावनी हो।












प्रतिक्रिया