ड्यालस (टेक्सस) । पूर्ब मुख्यसचिव डा. विमल कोइरालाले नेपाल बिग्रियो, खत्तम भयो भन्ने धारणा विकास गराउन नेपाल बाहिरबाट मलजल भएकोले सकारात्मक धारणा राखिदिन प्रवासी नेपालीहरुसँग अनुरोध गरेका छन् ।
शनिबार अमेरिकाको ड्यालसमा नेपाली समाज टेक्सस र श्रष्टा साँझ अमेरिकाले आयोजना गरेको संक्षिप्त अन्तरकृया तथा परिचयात्मक कार्यक्रममा डा. कोइरालाले नेपालमा परिवर्तन, विकासहरु हुँदै गइरहेको र थुप्रै क्षेत्रमा सकारात्मक परिवर्तनहरु भएको पनि चर्चा गरे । ‘बाहिर बस्नुभएका तपाईहरुले नेपालमा केही भएन, केही छैन भनिदिनुभयो भने त्यहाँ बसेकालाई ए हो त भन्ने धारणा बस्छ । त्यसोहुँदा तपाईहरुले नेपालका बारेमा सकारात्मक कुराहरु लेखिदिनुभयो, बोलिदिनुभयो भने प्रभाव पनि सकारात्मक नै पर्छ’ कोइरालाले भने ।
नेपाल बाहिर बस्ने नेपालीहरुले सोच्ने, गर्नेमात्र नभएर सपना पनि नेपालीमै देख्ने भएकोले नेपालप्रति नकारात्मक सोच विकास गराउनुभन्दा पनि सकारात्मक कुराहरु बाहिर ल्याएर सहयोग गर्न डा. कोइरालाले आव्हान गरे । अमेरिकामा रहेका नेपालीहरुले आफ्नो क्षेत्रमा निकै राम्रो काम गरिरहेकोमा खुशी र सन्तोष पनि पुर्ब मुख्यसचिव डा. कोइरालाले व्यक्त गरे ।
अध्ययनका सिलसिलामा तीन दशक अधि अमेरिकामा बिताएका क्षणहरुको स्मरण गर्दै कोइरालाले अहिले अमेरिकाको कुनै पनि कुनामा पुग्दा नेपालीहरु भेट्न पाउँदा निकै खुशी लाग्ने पनि उल्लेख गरे ।
कार्यक्रममा नेपाली समाज टेक्ससका अध्यक्ष राजेन्द्र वाग्लेले प्रशासनमा मात्र नभएर साहित्यमा समेत उम्दा व्यक्तित्व डा. कोइरालाको स्वागत गर्न पाउँदा खुशी लागेको बताए ।
श्रष्टा साँझ अमेरिकाका अध्यक्ष प्रभात दीक्षितले डा. कोइराला नेपालमा सक्षम, काविल प्रशासकहरु मध्यमा अहिले पनि पर्ने चर्चा गर्दै यस्ता व्यक्तित्वको स्वागत गर्न पाउँदा गर्व लागेको चर्चा गरे । त्यस अवसरमा अर्का साहित्यकार आरसी रिजालको पनि उपस्थिती थियो ।
त्यस अवसरमा गैर आवासीय नेपाली संघ अमेरिकाले प्रकाशन गरेको पर्यटन स्मारिका पूर्ब उपाध्यक्ष नेत्र पाण्डेले डा. कोइरालालाई हस्तान्तरण गरेका थिए ।












प्रतिक्रिया