ड्यालस (टेक्सस) । श्रीकृष्ण जन्माष्टमीको पावन अवसरमा ‘डिएफडब्लु श्रीकृष्ण प्रणामी मन्दिर, ड्यालस’ मा विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रम शनिबार सम्पन्न भयो ।
मन्दिर परिसरमा विविध कार्यक्रमहरू सम्पन्न गर्दै जन्माष्टमी पर्व श्रद्धा, भक्तिभाव र भव्यताका साथ उल्लासपूर्वक मनाइएको थियो।
प्रवासमा रहेका हजारौं भक्तजनहरूको उपस्थितिमा आयोजित कार्यक्रममा पूजा-अर्चना, भजन-कीर्तन, रथयात्रा, प्रहसन, रास तथा रामत नृत्य, बालबालिकाका नृत्य लगायत अन्य सांस्कृतिक प्रस्तुति आकर्षणको केन्द्र बने। भक्तजनहरूको सक्रिय र उत्साहजनक सहभागिताले सम्पूर्ण कार्यक्रमलाई अझ भव्य र सफल बनाएको थियो।
श्रीकृष्ण प्रणामी मन्दिरका अध्यक्ष दिपक ढकालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रकी अध्यक्ष सीता सापकोटा, पुजारी मेघनाथ निरौला, मन्दिरका महन्त सन्त पौडेल, वाणी साधक चन्द्र प्रसाई, ड्यालसस्थित नवस्थापित महावाणिज्य दूतावासका प्रमुख सुरेश अधिकारी, नेपाली समाज टेक्ससका उपाध्यक्ष किरण पौडेल, पत्रकारहरु विकासराज न्यौपाने, रामचन्द्र भट्ट, बोर्ड अफ ट्रष्टी का अध्यक्ष राजु हुमागाई, तथा बाइजुराज मण्डलीका अध्यक्ष लक्ष्मी पौडेल लगायत विशिष्ट अतिथिहरूको गरिमामय उपस्थिति रहेको थियो। कार्यक्रम रातभरि सन्चालन भएको थियो ।













प्रतिक्रिया