फेयरमोन्ट, अमेरिका । संयुक्त राज्य अमेरिकामा क्रियाशील नेपाली भौतिकशास्त्रीहरूको संस्था ‘एसोसिएसन अफ नेपाली फिजिसिस्ट्स इन अमेरिका (एएनपीए)’ ले आफ्नो आठौं वार्षिक वैज्ञानिक सम्मेलन जुलाई २० मा सफलता साथ सम्पन्न गरेको छ।
डा. टिकाराम न्यौपानेको संयोजकत्वमा आयोजित तीनदिने सम्मेलन जुलाई १७ देखि २० सम्म सञ्चालन गरिएको थियो। सम्मेलन अमेरिका स्थित फेयरमोन्ट स्टेट युनिभर्सिटी, नेपालस्थित त्रिभुवन विश्वविद्यालयको केन्द्रीय भौतिकशास्त्र विभाग र WebEx भर्चुअल माध्यमबाट संयोजन गरिएको थियो।
सम्मेलनमा नेपाल, अमेरिका, जापान, बेलायत, क्यानडा, भारत, दक्षिण कोरिया, र ताइवानका विश्वविद्यालय, अनुसन्धान संस्था तथा उद्योगमा कार्यरत वैज्ञानिक, प्राध्यापक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
सम्मेलनको प्रमुख आकर्षणका रूपमा सन् २००१ का नोबेल पुरस्कार विजेता डा. कार्ल वीम्यानले “Taking a Scientific Approach to Physics Education” शीर्षकमा विशेष सम्बोधन गरेका थिए । उनले वैज्ञानिक शिक्षण पद्धति, परम्परागत शैलीको सीमाहरू तथा आधुनिक प्रविधिले विद्यार्थीहरूमा पार्ने सकारात्मक प्रभावबारे स्पष्ट व्याख्या गरे । त्यस्तै, डा. दिपाङ्कर दत्तले “Nuclear Physics at the Intensity Frontier: The Role of Nepali Physicists of the MEP Group” शीर्षकमा plenary talk प्रस्तुत गर्दै नेपाली वैज्ञानिकहरूको योगदानबारे चर्चा गरेका थिए ।
सम्मेलन अवधिभर १४ वटा वैज्ञानिक सत्रहरू सञ्चालन गरिए, जसमा Condensed Matter Physics, Astrophysics, Nuclear & High Energy Physics, Physics Education Research, Quantum Information लगायत विविध विषय समेटिएका थिए। कार्यक्रममा प्रत्यक्ष तथा भर्चुअल माध्यमबाट तीन सयभन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो।
विद्यार्थीहरूको सक्रिय सहभागितालाई प्रोत्साहन गर्न तीन जनालाई उत्कृष्ट प्रस्तुतिकर्ता पुरस्कार प्रदान गरिएको थियो। साथै, काठमाडौं उपत्यकाबाहिरबाट त्रिभुवन विश्वविद्यालयमा सहभागी हुने तथा अमेरिकामा FSU मा सहभागिता जनाउनेलाई एएनपीएद्वारा यात्रा अनुदान उपलब्ध गराइएको थियो। उत्कृष्ट पोस्टर सत्रमा तीन अनुसन्धानलाई नगद पुरस्कार समेत प्रदान गरिएको थियो।
सम्मेलनमा प्रस्तुत गरिएका शोधपत्रहरूमध्ये सहकर्मी समीक्षाबाट छनोट गरिएका उत्कृष्ट अनुसन्धान नेपाल भौतिक विज्ञान समाजको विशेष अंकमा प्रकाशित गरिनेछ। सम्मेलनसम्बन्धी विस्तृत विवरण एएनपीएको वेबसाइट anpaglobal.org मा उपलब्ध छ।












प्रतिक्रिया