मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अमेरिका समाचार   

टेक्ससको ड्यालसमा नेपाली बालबालिकालाई सुरक्षासम्बन्धी जानकारी

टेक्ससको ड्यालसमा नेपाली बालबालिकालाई सुरक्षासम्बन्धी जानकारी


शेयर गर्नुहोस:

162
Shares

  • change font
  • change font
  • change font

टेक्सस । टेक्सस राज्यको ड्यालस–फोर्टवर्थ क्षेत्रमा रहेका नेपाली बालबालिकालाई स्थानीय सुरक्षा प्रणालीसम्बन्धी जानकारी प्रदान गरिएको छ ।

नेपाली समाज टेक्सस र ग्लोबल नेपाली पाठशालाको संयुक्त आयोजनामा सञ्चालित दुईहप्ते समर क्याम्प (गर्मी शिविर)अन्तर्गत बुधबार युलेश सिटीमा प्रहरी र अग्निनियन्त्रक अधिकारीले बालबालिकालाई व्यक्तिगत तथा सार्वजनिक सुरक्षाका विविध पक्षमा जानकारी दिएका हुन् ।

कार्यक्रमको अवसरमा बालबालिकाले प्रहरी र अग्निनियन्त्रण गाडीमा जडान गरिएका उपकरणको अवलोकन गर्नुका साथै सुरक्षा प्रणालीसम्बन्धी सैद्धान्तिक जानकारीसमेत पाएका छन् । पाठशालाका प्रमुख डा भोजबहादुर बलायरका अनुसार विगतदेखि प्रत्येक वर्ष सञ्चालन हुँदै आएको समर क्याम्पमा यस वर्षदेखि सुरक्षा विषयलाई समेत समावेश गरिएको हो । यसअघि क्याम्पमा मुख्य रूपमा सांस्कृतिक तथा आध्यात्मिक विषयवस्तुमा मात्रै ध्यान दिइँदै आएको थियो ।

युलेशस्थित नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्रको सभाकक्षमा आयोजित क्याम्पमा दुई चरणमा गरी २०० भन्दा बढी नेपाली मूलका बालबालिकाले सहभागिता जनाएका छन् । नेपालका चर्चित सांस्कृतिक तथा आध्यात्मिक ज्ञाता डा चिन्तामणि नाथ योगी प्रमुख प्रशिक्षक रहेको शिविरमा नेपाली भाषा, संस्कृति, परम्परा, योग, नाटक तथा नृत्य, नेतृत्व विकास, वित्तीय साक्षरतालगायतका विषयमा बालबालिकालाई प्रशिक्षण दिइँदैछ ।

नेपाली भाषा, कला र संस्कृतिबाट अमेरिकामा जन्मेका वा हुर्केका बालबालिकालाई नेपालसँग जोड्ने उद्देश्यले ग्लोबल नेपाली पाठशालाले महत्त्वपूर्ण भूमिका खेलिरहेको अध्यक्ष राजेन्द्र वाग्लेले बताए ।

नेपाली समाज टेक्सासले आफ्नै पाठ्यक्रम निर्माण गरी ग्लोबल नेपाली पाठशालामा नियमित पठनपाठन सञ्चालन गर्दै आएको छ । साथै, अमेरिकाको विभिन्न मौसमअनुसार शिविर आयोजना गर्दै आएको समाजले जनाएको छ ।

शेयर गर्नुहोस:

162
Shares