मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विचार / ब्लग    

मैले बुझ्न नसकेका कुरा

मैले बुझ्न नसकेका कुरा

-कृष्णमुरारी ज्ञवाली

हिमालय खबर

शेयर गर्नुहोस:

2.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नीति शास्त्रमा भनिएको छ—आयुः कर्मं च वित्तं च विद्या निधनमेवच पञ्चैतानि हि सृज्यन्ते गर्भस्थस्यैव देहिन: I

आयु कर्म, धन,विद्या मरण यी पाँच चिज जब जीव गर्भमा रहन्छ, त्यतिखेर नै लेखिदिएकोहुन्छ। त्यसै भएर मानव जातिको उत्पत्तिकाल देखि नै सुखी र खुसी भएर बाँच्ने लालसामा र यही नीति सिद्धान्तमा रहेर मानिस यत्र तत्र हिंड्ने गरेको देखिन्छ। आफ्ना सन्तान बढ्दै जाँदा जन्मठाँउ र बसिरहेको ठाउँ साँघुरो हुन जान्छ। अनि अलि सुख र खुसीको खोजीमा जन्म ठाँउबाट अन्यत्र बसाई सराई को क्रम चल्नु स्वभाविकै होला। मानिस बसाईं सराई गरी जाँदा जाने ठाउँको हावा पानी आफू अनुकुल छ कि छैन, त्यहाँको समाज कस्तो छ? आफ्नो विचार र त्यो समाजको विचारमा के समस्या छ? धर्म, कर्म. रीतिरिवाजमा अप्ठयारो त आउँदैन? आफ्नो स्वाभिमान र अस्तित्वमा ‘तुषारापात त हुँदैन जीवन सरस र सहज बन्छ कि बन्दैन आदि इत्यादि कुराहरु सोच्ने गर्छन् । मानिस जहाँ गए पनि मन सँगै जान्छ। सबै मनको खेल हो। जतिसुकै भौतिक वस्तुको अभाव होस्, मन शान्त छ भने त्यहाँ सुख छ। जति धेरै भौतिक पदार्थ प्राप्त होस् मन शान्त छैन भने त्यहाँ दुख हुन्छ। सबैको कारण मन नै हो। मन जसको सन्तुष्ट छ, त्यही धनी हो, त्यही सुखी पनि हो। शास्त्रमा कुनै वस्तुको प्राप्तिले मात्र मान्छे सुखी हुँदैन भनिएको छ।

स तु भवति दरिद्रो यस्य तृष्णा विशाला । मनसि च परितुष्टे कोर्थवान् को दरिद्रः । जसको तृष्णा ठूलो छ त्यो दुखी-दरिद्र हो। पर्याप्त धनले धनी वा सुखी हुन सक्दैन। तथापि उच्च अध्ययन गरेर धन कमाउन अथवा राम्रो काम गरेर धन कमाउन नेपालका गाउँ शहरबाट ‘ विदेश जाने चलन पहिले देखिनै भएको देखिन्छ। विशेष गरेर भारतीय सेनामा भर्तीहुने प्रचलन निकै छँदै छ । त्यस्ता व्यक्तिलाई लाहुरे नामले चिनिने गरिन्छ। यिनीहरुको अर्थ जगतमा महत्वपूर्ण भूमिका रहेको देखिन्छ। त्यस्तै बेलायती सेना, सिंगापुर प्रहरी आदि ठाउँको आकर्षण युवा जमातमा अझै छँदै छ। त्यो भन्दा पर इतिहास पल्टाएर हेर्ने हो भने धेरै नेपालीहरु वर्मामा रोजगारको लागि गएको देखिन्छ। धेरै वर्ष पछि त्यहाँको समाजसँग मिल्न नसकेर आफ्नो पुर्खाको भूमि खोज्दै नेपाल फर्किए। जसलाई आजपनि नेपालमा वर्मेली भन्ने गरिन्छ। त्यस्तै रोजगारीकालागि धेरै नेपाली भारतको आसामतिर गै कृषि कार्य गर्दै सम्पन्न बनेको देखिन्छ। त्यहाँ पनि स्थानीय बासिन्दासंग झगडाका कारण आफ्नै पुर्ख्यौली ठाउँमा फर्किएका छन्। जसलाई आसामी (अछामी) भन्ने गरिन्छ। त्यस्तैगरी भुटान गएका नेपालीहरु त्यहाँ पनि सरकार र भूटानी जनताको ज्यादती सहन नसकि आफ्नो धर्म संस्कृति रीतिरिवाज जोगाउनका लागि भुटान छोड्नुपऱ्यो। ती व्यक्तिहरु नेपालमा शरणार्थीको रूपमा रहँदै गर्दा समस्या समाधानका लागि संसारका विकशित तथा प्रजातान्त्रिक मुलुकहरुले शरण दिइरहेका छन्। जसलाई भूटानी शरणार्थी भन्ने गरिन्छ।

अहिले नेपालको समाजको अध्ययन गर्ने हो भने विविध कारणले गाउँबाट शहरतिर सर्ने क्रम बढेको छ। गाउँ रित्तिदै छन् । देशको एक ठाउँबाट अर्को ठाउँ मात्र हैन देशबाट परदेश जाने क्रम बढेको छ। अहिलेसम्ममा कुल जनसंख्याको लगभग आधा जनता नेपाल भन्दा बाहिर रहेको आँकलन गर्न सकिन्छ। यसको यथार्थ विवरण सरकार पनि दिन सक्दैन । खुला सिमानाका कारण अभिलेखनै छैन। संसारका सबै मुलुकमा (उत्तरकोरिया बाहेक ) नेपालीहरु पुगेकै छन्। यसरी ती देश जाँदा त्यो देशको सम्पूर्ण कुरा आफू अनुकूल छ कि छैन, आफूले गर्ने राजनीति र त्यो देशको राजनीति मिल्छ कि मिल्दैन, रोजगार सहज छ कि छैन भनी बिचार गरेर मात्र प्रस्थान गरिन्छ । एक त नेपालीको बानी आवश्यकता भन्दा लहै लहैमा विदेश जाने छ। ओल्लो घरको गयो, पल्लो घरको गयो, सँगै पढ्ने साथी गयो, उ गयो  र फलानो पनि गयो भन्दै लहडमै विदेश हिंडने प्रशस्त भेटिन्छन्।

कोही पढ्न, कोही पढाई पुरा गरेका, कोही रोजगार भएका, कोही रोजगारको खोजीमा, कोही सम्पत्ति प्रशस्त भएका, कोही सम्पत्ति नभएका, रकम प्रशस्त खर्च गरेर देश छाडी रहेका छन्। वैधानिक मात्र होईन अवैधानिक रूपमा पनि आउने हरुको लर्को उस्तै छ । अवैधानिक आगमनमा पैसामात्र हैन ज्यानको पनि खतरा रहन्छ। तै पनि धन्दा चलेकै छ। नेपालमा जन्मने प्रत्येक नेपाली राजनीतिमा संलग्न भएकै हुन्छ। विद्यालय पढ्दादेखि नै राजनीतिको शिक्षा बुझेर वा नबुझेर लिएकाहरु ती पछि गएर शिक्षक, कर्मचारी, व्यापारी, ठेकेदार, किसान, मजदुर, डाक्टर, वकिल, इन्जिनियर, पत्रकार, प्राध्यापक आदि जे सुकै बनुन्, तिनीहरु राजनीतिका खेलाडी भै सकेका हुन्छन्। नेपालमा राजनीति नेताले गर्न पर्दैन। उसले आरामसंग भ्रष्टाचार गरे हुन्छ। राजनीति त यिनै माथि भनिएका वर्गहरु नै आफ्नो व्यवसायलाई थाती राखेर निर्लज्ज भएर गरिरहेका हुन्छन्। अहिले नेपालीको राष्ट्रिय धर्म राष्ट्रिय पेशा राजनीति बनेको छ । जसको कारण नेताहरु स्वेच्छाचारी, भ्रष्टाचारी बनेका छन्। नेता ढुक्क छन्, उनको पछाडि हर हमेसा अन्धभक्तको जमात छ। जुन जमातले आफनो नेताको फोहोरी गलत , अवैधानिक कामलाई पनि गलत देख्दैन। आफूले समर्थन नगर्ने नेताको गल्ती नभए पनि गल्ती नै देख्ने गर्छ। आफ्ना नेताको गल्ती लुकाउन सडकमा टायर बाल्न, न्यापालय प्रभावित बनाउन, रेलिङ्ग भत्काउन , ढुङ्गा हान्न, गाडी जलाउनुका साथै नेपाल बन्द भन्दै मुठ्भेड गरेर टाउको फुटाएर मर्न पनि तयार रहन्छ। यस्तो मानसिकताबाट ग्रसित व्यक्ति कारणवस देश छाडेर अन्यत्र गए पनि राजनीति छोड्न सक्दैन। संगै जान्छ। उखान छ नि” नेपाल गए कपाल संगै वर्मा गए कर्मसँगै “ भने जस्तै नानी देखि लाएको बानी कहाँ छुट्छ र?

हरेक देशमा रहने यस्ता व्यक्तिहरु तिनै नेता र तिनै नेताका दलहरुलाई सघाउन विभिन्न नामका संस्था खोली भातृ संघका रूपमा काम गरिरहेको देखिन्छ। तिनीहरु नेपालबाट आउने नेताको स्वागत सम्मानमा माला खादा लगाउँदै सबै सित रकम उठाएर नेतालाई आर्थिक सहयोग समेत गर्छन्। नेताको नजिक छु भन्ने देखाउन संगै उभिएर फोटो खिच्दै सामाजिक सन्जालमा राख्छन्। देश छाडेर टाढा आउँदा पनि यो राजनीति मोह कस्तो?  राजनीतिमा मोह भएको व्यक्ति देश हाडेर किन हिड्छन्? देशका जनतालाई बेरोजगार बनाउने तिनै नेताप्रति यो मोह किन? मैले बुझ्न सकेको छैन। बस्ने अमेरिकामा राजनीति नेपालको गर्ने यो त रुसमा पानी पर्दा नेपालमा छाता ओढने जस्तो भएन र ?

संसारभरका मानिस अमेरिका प्रवेश गर्न लालायित छन्। सामान्य सुन्दा , हेर्दा चीन र अमेरिकाको सम्बन्ध राम्रो छैन तर चाइनिजहरु अमेरिका प्रवेश गर्न मरिहत्ते गर्छन्। रूस र अमेरिका त्यस्तै प्रतिस्पर्धी र प्रति द्वन्दीको रूपमा छन् तर रसियनहरु अनेक बहानामा अमेरिका छिर्छन्। भारतीयहरु अमेरिकामा यति धेरै छन् कि गणनानै छैन। त्यस्तै नेपालको कुरा गर्द नेपाल र अमेरिकाको सम्बन्ध ठीकै छ तर पनि राजनीतिक रूपमा हेर्दा बेग्लै छ। आफूलाई वामपन्थी भन्नेहरु रुस र चीनको गुणगान गाउँदै अमेरिकालाई सामाज्यवादी, सामन्ती भन्दै सभा सम्मेलनमा चिच्याई रहेका हुन्छन्। तर तिनीहरुको वास्तविकता भिन्नै छ। साम्राज्यवादी भन्दै गाली गर्नेहरु मिलेसम्म अमेरिका प्रवेश गर्न लालायित भईरहन्छन्। तर आफूलाई मन पर्ने देश चीनमा जान प्रयास नै गर्दैनन्। प्रजातन्त्रवादीहरु अमेरिका आउनु स्वाभाविकै हो। जसलाई अमेरिका मन पर्दैन, नीति मन पर्दैन, राजनीतिक ज्ञान भएदेखि संधै अमेरिकालाई गाली गरेको छ, अरुले गाली गर्दा ताली ठोकेको छ, तैपनि अमेरिकाको माटोलाई नमन गर्नै पर्छ। किनभने आफूलाई गाली गरिरहनेहरुलाई पनि निस्पक्ष भएर आश्रय दिईरहेको छ। यो यसको महानता हो भन्नुमा कुनै अपराध लाग्दैन होला।

विदेशमा बसेर नेपालको राजनीति गर्दा दलका नेतालाई मात्र फाईदा भएको छ। रातदिन मेहनत गरेर कमाएको पैसा दल र दलका नेतामा सहयोग गईरहेको छ। यदि त्यो पैसा आफन्त वा कुनै वास्तविक दुखीको पीडामा सहयोगी भएको भए कस्तो हुन्थ्यो ? चुनावको बेला दल र यीनै भ्रष्ट नेतालाई सहयोग गर्दा परिणाम के भएको छ ? यसको चिन्तन गर्ने कसले ?

जन्म ठाँउ छाडेर हिडेपछि जो जहाँ बसेपनि नेपालीहरु आफ्नो समुदायको लागि एकजुट हुनुपर्ने तर उल्टो भएको छ । गैर आवासीय नेपालीका संस्था पनि नेपालमा जति दल छन् त्यति नै चिरामा विभाजित छन्। यो विभाजन कसका लागि? यदि समुदायका लागि हो भने त ‘संघौ शक्ति कलौ युगे’ भन्ने भावमा चल्नुपर्ने हो। एकतामा बल छ । नत्र भने ‘भाइ फूटे गवार लुटे’ भन्ने उखान लागु हुन्छ। यो विभाजित मनस्थितिले देश बन्दैन। राजनीतिमा अन्धभक्त हुँदा नेता स्वेच्छाचारी हुँदारहेछन्। विदेश आएकाहरुले विदेश किन आएको हो ? यसको उत्तर आफ्नो मनसंग माग्नुपर्छ । उत्तर आएन बुद्धिसंग सोध्नुपर्छ। त्यहाँ पनि समाधान भएन भने आत्मालाई सोध्नु पर्छ।  देश  छाडेर पढ्न आएकाले पढ्ने , कमाउन आएकाले कमाउने , अनुसन्धानमा आएकाले नयाँ खोजगर्ने अनि जीवन सुखी र खुसी बनाउने सायद यहि नै उद्वेश्य होला सबैको ।

अहिले मानव समुदायमा चिन्ता हैन चिन्तनको खाँचो छ। आत्मप्रशंसा हैन आत्मोन्नतिको खाँचो छ। अभिमान हैन स्वाभिमानको खाँचो छ । अतिवाद हैन राष्ट्रवादको खाँचो छ। कल्पना हैन, यथार्थताको खाँचो छ । निरासा हैन आशाको खाँचो छ। आपसमा घृणा होइन प्रेमको खाँचो छ । यति जान्ने मान्छे जान्दाजान्दै पनि कहाँ के का लागि अल्झिरहेको छ? मैले बुझ्न सकेको छैन ।