काठमाडौँ । प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै थप दुई सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।
पत्रकारिताको आवरणमा गलत काम गर्दै आएको, धम्क्याएको, सञ्चारमाध्यमको आधारभूत चरित्र र धर्मसमेत पालना नगरेको भन्दै कालोसूचीमा राखि थप कारबाही गर्ने निर्णय काउन्सिलले गरेको हो । यसरी कालोसूचीमा थपिएको दुई अनलाइन सञ्चारमाध्यममा दियोपोष्ट डटकम र हेर्दाहेर्दै डटकम रहेको काउन्सिसलले वेवसाइटमार्फत सार्वजनिक गरेको छ ।
दियोपोष्टले हुँदै नभएको विषय लेखि व्यक्तिको चरित्रहत्या गरेको, समाचारको नाममा धम्कीपूर्ण व्यवहार गरेको, बार्गेनिङ गरेको भन्दै काउन्सिलले विशेष अनुगमनमा राखेको थियो । उक्त अनलाइनविरुद्ध पछिल्ला चार महिना यता आठवटा लिखित उजुरी परेको र त्यसमाथि काउन्सिलले पटक-पटक आचारसंहिता अनुकूल काम गर्न निर्देशन दिएको थियो ।
त्यसलाई अटेर गरेपछि कालोसूचीमा राखेर थप कारबाही गर्ने निर्णय भएको थियो । त्यस्तै, कालोसूचीमा राखिएको हेर्दाहेर्दै डटकमले स्थानीय तहको चुनावको मौन अवधिका बेला भ्रमपूर्ण समाचारलाई ब्यानर बनाएको र हटाउनका लागि पटकपटक निर्देशन दिँदा पनि अटेर गरेको थियो ।
दसैँयता मात्र काउन्सिलले यी दुईसहित विभिन्न नौ सञ्चारमाध्यमलाई आचारसंहिता उल्लंघन भएको ठहर गर्दै कालोसूचीमा राखेको छ । आगामी दिनमा गल्ती नदोहोर्याउने, आचारसंहिताको पालना गर्ने भन्दै लिखित निवेदन परेपछि तीमध्ये एक सञ्चारमाध्यमको कारबाही फुकुवासमेत भएको काउन्सिल स्रोतले जानकारी दियो ।
आचारसंहिताको पूर्ण पालना गराई स्वस्थ, मर्यादित र विश्वसनीय पत्रकारिता विकास गर्न यसअघि सर्वोच्च अदालत, उच्च अदालतसहितबाट भएका फैसला, नजीरसमेतका आधारमा काउन्सिलले मापदण्ड र कार्यविधि बनाई काम गर्दै आएको छ ।
केही अनलाइन र युट्युब च्यानलले गरेका गलत काम र बेथिति रोक्न अभिमुखीकरण गराउनेदेखि आचारसंहिताको प्रावधान अनुसार कारबाही गर्न अदालतबाट आदेश जारी भएको थियो । सोही नजीरमा टेक्दै काउन्सिलले कार्यविधि बनाई पछिल्लो समय सक्रियता देखाइरहेको छ ।
प्रेस काउन्सिलले विभिन्न युट्युब च्यानल, सामाजिक सञ्जालका ग्रुपसहितमा स्वअनुगमनसमेत गरिरहेको छ । पत्रकारिताको मूल्य र मान्यताविपरीत, गलत, समाजमा उत्तेजना, अफवाह फैलाउने, सामाजिक सद्भाव भड्काउने, अर्यादित र अश्लील सामग्री सम्प्रेषण नगर्न काउन्सिलले विज्ञप्तिमार्फत पटक-पटक आग्रह गर्दै आएको छ ।












प्रतिक्रिया